सिभिल बैंकको वित्तीय रिपोर्ट खराव, नाफा घट्यो, खराव कर्जा बढ्यो

  २०७४ वैशाख २८ गते ९:२२     विकासन्युज

काठमाडौं । सिभिल बैंकको वित्तीय रिपोर्ट खराव आएको छ । चैत मसान्तसम्ममा बैंकको नाफा घटेको छ भने खराव कर्जा बढेको छ । निक्षेप र कर्जा विस्तार अत्यान्तै न्यून छ भने कष्ट अफ फण्ड ह्वात्तै बढेको छ ।

चुक्ता पुँजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको सिभिल बैंकले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको प्रथम ९ महिनामा बैंकले १९ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चैत मसान्तसम्ममा यस बैंकको सञ्चालन नाफा ३ करोड रुपैयाँ मात्र छ । प्रोभिजन राईट व्याकबाट २७ करोड ४४ लाख रुपैयाँ आउँदा बैंकको खुद नाफालाई सहयोग पुगेको छ । साथै चालु आर्थिक वर्षम ४७ करोड ८१ लाख रुपैयाँ प्रोभिजनमा गएको छ ।

बैंकको खराव कर्जा ४.६६ प्रतिशत पुगेको छ । गत वर्ष सोही अवधिमा २.१७ प्रतिशत थियो । खराव कर्जा बढ्नु नै बैंकको नाफा घट्नुको मुख्य कारण हो । नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५२ पैसामा झरेको छ ।

त्यस्तै बैंकको कष्ट अफ फण्ड उच्च भएको छ । चैत मसान्तसम्ममा कष्ट अफ फण्ड ६.३२ प्रतिशत छ । सामान्यतय वाणिज्य बैंकहरुको कष्ट अफ फण्ड ५ प्रतिशतभन्दा कम छ । ठूला र पुराना बैंकहरुको कष्ट अफ फण्ड २ देखि ३ प्रतिशतको बीमा देखिन्छ ।

यस बैंकको स्प्रेडदर २.५६ प्रतिशत छ । राष्ट्र बैंकको नियम अनुसार ५ प्रतिशतसम्म स्प्रेडदर राखेर काम गर्न पाईन्छ । स्प्रेडदर भनेको निक्षेप र कर्जाको औषत व्याजदर अन्तर हो । स्प्रेडदर जति बढी भए त्यति बैंकको खुद नाफा बृद्धिमा सहयोग गर्छ ।

एक वर्षमा बैंकको चुक्ता पुँजी १ अर्ब ५० करोडले थपिएको छ । तर व्यापार विस्तार कम छ । सिद्धान्तत बैकिङ क्षेत्रमा पुँजीको तुलनामा १० देखि ११ गुणा बढी व्यापार विस्तार हुनुपर्छ । यस आधारमा १ अर्ब ५० करोड पुँजी वृद्धि हुँदा निक्षेप र कर्जा १५ देखि १८ अर्बले वृद्धि हुनुपर्ने हो ।

तर एक वर्षमा बैंकको निक्षेप करिव ५ अर्ब बढेर ३३ अर्ब भएको छ । कर्जा सापटी पनि ५ अर्बले वृद्धि भई २९ अर्ब रुपैयाँ भएको छ । बैंकले ६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

लगानीकर्ताको लागि चिन्तको विषय के छ भने बैंकमा हालै मात्र अध्यक्ष इच्छाराज तामाङले पद छाडेका छन् । साथै, प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले पनि छाडेका छन् । संस्थापक अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले दुबैले एकै पटक छाड्दा बैंकका संस्थापक सेयरधनीमा केही निराशा देखिएको छ ।

साथै, विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनी गाभिएर आउँदा बैंकमा नयाँ लगानीकर्ता, कर्मचारी, ग्राहक भित्रिएकाले उनीहरुबीचको सम्बन्ध सन्तुलन बैंकका लागि निकै चुनौतिपूर्ण रहेको जानकारहरुहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.