म्यादी प्रहरीलाई ७३,६०० रूपैयाँ तलब सुविधा दिने मन्त्रिपरिषद्को निर्णय, साढे तीन लाखको बीमा

  २०७४ वैशाख ८ गते ९:२९     विकासन्युज

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले म्यादी प्रहरीहरूको पारिश्रमिक निर्धारण गरेको छ । सरकारले म्यादी प्रहरीले ५५ दिनको पारिश्रमिक ५१ हजार रुपैयाँ पाउने गरी तलव निर्धारण गरेको हो । सरकारले निर्वाचनका लागि खटिने म्यादी प्रहरीको सेवा सुविधा निर्धारण गरेको प्रधान मन्त्री तथा मन्त्री परिषद् कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन अविधभर शान्ति सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ । आवश्यक तालिम दिएर गृह मन्त्रालयले म्यादी प्रहरीलाई सम्बन्धित मतदान केन्द्रमा खटाउने छ ।

यसका साथै निर्वाचनमा खटिँदा म्यादी प्रहरीले सात दिन थप विशेष भत्ता पनि पाउने छन् । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । त्यसरी नै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै म्यादी प्रहरीले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँनेछन् । अघिल्लो चुनावमा पोशाक नपाएको भन्दै म्यादी प्रहरीले गुनासो गरेपछि पोशाक बराबर सो रकम दिने निर्णय गरेको हो ।

निर्वाचनका बेला खटिने म्यादी प्रहरीका लागि सरकारले दुर्घटना र स्वास्थ्य गरी तीन लाख ५० हजारको बीमाको व्यवस्था समेत गरेको छ । उक्त अवधिमा कुनै दुर्घटना भएमा सरकारले म्यादी प्रहरीका लागि निर्वाचन अवधिभर ५५ दिनका लागि प्रति म्यादी प्रहरी २ लाख बराबरको दुर्घटना बीमा गर्ने निर्णय गरेको हो । साथै, उनीहरुका लागि १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य वीमा गरिने निर्णय पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.