नेपाली आकासमा उडे पौने ५३ लाख यात्रु, वार्षिक १५ प्रतिशतले बढ्यो आकास प्रयोग गर्ने यात्रुको संख्या

  २०७३ चैत २२ गते १०:४१     विकासन्युज

काठमाडौं । नेपाली आकास प्रयोग गरेर विदेशिने र नेपालकै विभिन्न गन्तव्यमा यात्रा गर्ने हवाई यात्रुको संख्या पौने ५३ लाख पुगेको छ । नेपाली आकासमा उड्ने हवाई यात्रुको संख्या वर्षेनी बढ्दै गइरहेको छ ।

सडक यातायातको तुलनामा हवाई यात्रा निकै सुरक्षित, सहज र छिटो हुने भएकोले पनि अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले हवाई यात्रु बढेको तथ्यांकले देखाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अनुमति शाखाले जानकारी दिएको छ ।

यो शाखाका अनुसार अघिल्लो वर्ष जम्मा ४५ लाख ८१ हजार हवाई यात्रुले नेपाली आकास प्रयोग गरेका थिए । यो वर्ष १५ प्रतिशतले बढेर ५२ लाख ८५ हजार जना पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरका अनुसार यो वर्ष अन्तर्राष्ट्रिय हवाइ यात्रुको उडान तथा अवतरणको संख्या ३५ लाख १० हजार रहेको छ भने आन्तरिक हवाई यात्रुको संख्या १७ लाख ७५ हजार पुगेको देखिएको छ । यो संख्या वर्षेनी बढ्दै गइरहेको छ ।

अघिल्लो २ वर्ष अर्थात सन् २०१४ र सन् २०१५ मा भूकम्प र नाकाबन्दीले नेपाली आकास प्रयोग गर्ने हवाई यात्रु तुलनात्मक रुपले कम थिए भने सन् २०१६ मा भने केही बढेको देखिएको छ । सन् २०१५ मा आन्तरिक हवाई यात्रु जम्मा १३ लाख र अन्तर्राष्ट्रिय हवाई यात्रु ३२ लाख मात्रै रहेको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

आन्तरिक वायुसेवामा सबैभन्दा ठूलो बजार हिस्सा बुद्ध एयरको रहेको छ । बढी यात्रु बोक्ने, जहाज संख्या धेरै भएको र सुगम गन्तव्यमा ठूला जहाजबाट उडान गर्ने यो वायुसेवाले वर्षेनी अग्रणी बजार हिस्सा ओगटिरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको २८ वटा रहेको छ भने आन्तरिक वायुसेवाको संख्या १७ वटा छ । नेपालबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

आन्तरिकमा बुद्ध र अन्तर्राष्ट्रियमा निगम अगाडि
सन् २०१६ मा नेपाली आकास प्रयोग गरेर सेवा दिने वायुसेवा कम्पनीमध्ये आन्तरिक वायुसेवामा बुद्ध एयर पहिलो स्थानमा छ भने अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम पहिलो स्थानमा रहेको छ । बुद्धले बार्षिक ८ लाख यात्रुलाई सेवा दिएर पहिलो स्थानमा रहेको छ । यो वायुसेवा वर्षोदेखि पहिलो स्थानमै रहेको छ । यो वायुसेवासँग जहाज संंख्या धेरै र सिट क्षमता पनि बढी रहेको छ ।

वायुसेवा निगमले भने एयरवसका २ वटा नयाँ जहाज भित्र्याएपछि पहिलो स्थानमा आइपुगेको हो । दुई वर्षसम्म निगम पाँचौ स्थानमा थियो । यसले नयाँ जहाज थप गरेसँगै यात्रु उडान क्षमता पनि बढाएको छ । निगमले तीन लाख ८४ हजार यात्रुलाई उडान तथा अवतरणको सेवा दिएको छ । यो संख्या सन् २०१५ मा जम्मा दुई लाख ५३ हजारमात्रै थियो ।

निगमकाे जहाजकाे फाइल तस्बिर

सडक यातायात अवरुद्ध हुँदा आन्तरिक उडान बढ्यो
आन्तरिक उडानमा पनि मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि आन्तरिक उडानको चाप बढ्दै गएको छ । यो सडक यातायातको प्रयोग गरेर जाने यात्रुले समयमा नै गन्तव्यमा पुग्न नसक्ने, यात्रुको सुरक्षामा ग्यारेन्टी नभएको र हतारमा हुने यात्रुलाई सडक यातायात भरपर्दो नभएकोले पनि आन्तरिक उडानका यात्रु बढ्न थालेको उल्लेख छ ।

सिम्रिक एयरले भखेरै भरतपुर नियमति उडान थालेको छ । यो वायुसेवाले यात्रु चाप बढेकै कारण यो गन्तव्यमा उडान थप गरेको हो । बुद्ध एयरले पनि दैनिक दुईवटा उडानलाई चारदेखि ६ वटासम्म बनाएको छ ।

यति एयरले पनि आफ्नो दैनिक उडानलाई दोब्बर बनाएर भरतपुर, भैरहवा उडान बढाएको उल्लेख छ । यो सडक अवरुद्धले भरतपुर र भैरहवाको उडानका यात्रु बढेको सम्वन्धित वायुसेवा कम्पनीको भनाइ छ ।

पार्किङ व्यवस्थापनमा चुनौति
आन्तरिक वायुसेवाका लागि पार्किङ व्यवस्थापन त्यति ठूलो समस्या नभएपनि अन्तर्राष्ट्रिय उडानमा भने निकै समस्या रहेको ठाकुरले बताए ।

उनका अनुसार २८ वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन ।

यसका लागि जम्मा ९ वटा पार्किङ वे रहेको छ ।

उडान धेरै हुने र वायुसेवा बढ्दा उडान व्यवस्थापन मिलाउनु नै निकै चुनौतिपूर्ण रहेको पनि ठाकुरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.