एनसीसी बैंकमा संक्रमण लम्बियो, एपेक्स डेभलपमेन्ट बैंकको ९५ करोड ऋण खराब

  २०७३ चैत २१ गते १७:०२     विकासन्युज

काठमाडौं । एनसीसी बैंकमा मर्जपछिको संक्रमण लम्बिएको छ । एपेक्स डेभलपमेन्ट बैंकको वार्षिक प्रतिवदन राष्ट्र बैंकले अस्वीकृत गरेपछि एनसीसी बैंकको नियमित वार्षिक साधारणसभा पनि रोकिएको छ ।

एनसीसीमा मर्ज हुनुपूर्व एपेक्स डेभलपमेन्ट बैंकमा गरिएको डीडीएले नभेट्टाएको कैफिएत राष्ट्र बैंकले भेट्टाएको छ । राष्ट्र बैंकले करोडौं रुपैयाँ बराबरको थप कर्जामा प्रोभिजन गर्न निर्देशन दिएको छ । अहिलेसम्म एपेक्सको खराव कर्जा ९५ करोड पुगेको स्रोतले बतायो ।

सबै प्रक्रिया पुरा हुन बाँकी रहेकोले साधारणसभा गर्न केही ढिला भएको एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए । एपेक्स डेभलपमेन्ट बैंकको वार्षिक प्रतिवेदन राष्ट्र बैंकबाट स्वीकृत नभएकोले ढिलाई भएको उनले जानकारी दिए ।

वार्षिक साधारणसभा ढिलाई हुने भएपछि एनसीसी बैंक सञ्चालक समितिले बैशाख ३ गते विशेष साधारणसभा गरी ५० प्रतिशत हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको थियो । तर विशेष साधारणसभा सम्बन्धी प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत नभएपछि बैंक सञ्चालक समितिको पछिल्लो निर्णय पनि कार्यान्वनमा ढिलाई हुने देखिएको छ ।

विशेष साधारणसभाको लागि १५ दिन अघि सार्वजनिक सूचना निष्काशन गर्नुपर्ने व्यवस्था छ । तर चैत्र २१ गतेसम्म बैंकले विशेष साधारणसभाको लागि सार्वजनिक सूचना प्रकाशन गरेको छैन ।

बैंकले विशेष साधारणसभा गर्न अनुमति मागेको र त्यसबारेमा राष्ट्र बैंकले अध्ययन गरिरहेको राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले बताए । वार्षिक साधारणसभाको प्रक्रिया पूरा गर्न थप समय लाग्ने र आगामी असार मसान्तअघि नै पुँजी वृद्धि गर्नुपर्ने भएकोले विशेष साधारणसभा गरी हकप्रद सेयर निष्काशन अगाडि बढाउने प्रस्ताव बैंकले गरेको उनले जानकारी दिए ।

नियमित साधारणसभा गर्दा सञ्चालक समितिको निर्वाचन पनि हुने र वर्तमान सञ्चालक समिति विस्थापित हुने भएकोले वर्तमान सञ्चालक समितिले आफ्नो कार्यकाल लम्व्याउन वार्षिक साधारणसभा नगरेको बैंकका सेयरधनीको आरोप छ । ‘राष्ट्र बैंकले टिका लगाएर बनाएको टिके सञ्चालकहरु आफ्नो आयु लम्याउने वहाना बाजी गरिरहेका छन्’ बैंकका सेयरधनी अनुप खुञ्जेलीले बताए ।

वाफिया विपरित सांसद्लाई टिका लगाएर राष्ट्र बैंकले सञ्चालक बनाएको र अर्को साधारणसभा नभएसम्म सञ्चालक बन्न पाउने गरि पत्र दिएकोमा उनले राष्ट्र बैंकको आलोचना गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.