आरबिआईले भन्यो-प्रतिव्यक्ति ४५ सय भन्दा बढि भारु साट्न सक्दैनौं, मार्च ३१ भित्रै पैसा पठाईसक्नु

  २०७३ चैत १३ गते १७:१९     विकासन्युज

काठमाडौं । भारतले प्रति व्यक्ति ४५०० सय भन्दा बढि भारतीय रुपैंयाँ साट्न नसकिने स्पष्ट पारेको छ । नेपालीसँग रहेको ५०० र एक हजार दरका भारु सटहीबारे छलफल गर्न नेपाल आएको रिजर्भ बैंक अफ इण्डिया(आरबिआइ)को प्रतिनिधी मण्डलले प्रति व्यक्ति ४५०० भन्दा बढि भारु साट्न नसकिने स्पष्ट पारेको हो ।

‘आरबिआइको प्रतिनिधी मण्डलले प्रति व्यक्ति ४५ सयका दरले सटही सुबिधा दिने भनेको छ, हामीले २५ हजार साट्नै पर्छ भनेका छौं, भोली फेरी थप छलफल हुन्छ’, नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख भिष्म ढुंगानाले विकासन्युजसँग भने ।

यतिबेला नेपालमा रहेको ५०० र एक हजार दरका भारु सटहीबारे छलफल गर्न आरबिआईको कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशी नेतृत्वको टोली काठमाडौंमा छ ।

आइतबार जोशी नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तमणी सिवाकोटी र वैदेशिक विनिमय विभाग प्रमुख भिष्म ढुंगाना लगायतको टोलीसँग छलफल गरेको थियो । आरबिआइले यहि मार्च ३१ गते भित्रै बैंकिङ च्यानल मार्फत प्रति व्यक्ति ४५ सयका दरले सटहीका लागि पठाउन आग्रह गरेको थियो ।‘उनीहरुले मार्च ३१ तारिख भित्रै प्रति व्यक्ति ४५ सयका दरले बैंक खाता मार्फत पठाउन भनेका थिए, हामीले मार्च ३१ को समय सिमा पनि कम भएको र २५ हजार नै साट्नुपर्ने अडान लियौं’, ढुंगानाले विकासन्युजसँग भने ।

जनतासँग रहेको सो दरका भारतीय रुपैंयाँ बैंकिङ च्यानलमा ल्याउन सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने भएकाले आरबिआईले दिएको समय कम भएको ढुंगानाले बताए । साथै नेपालीसँग रहेको २५ हजार भारु साट्नै पर्ने पनि उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर ९ तारिखदेखि लागु हुने गरि ५०० र एक हजार दरका भारुमा प्रतिबन्ध लगाएका थिए । भारतीय नागरिकलाई डिसेम्बर ३१ तारिख भित्र आफुसँग भएका सो दरका नोट बैंकमा बुुझाउने समय दिइएको थियो ।

नेपाल र भारतका नागरिकले एक अर्काे देशको मुद्रा २५ हजार रुपैंयासम्म बोक्न पाउने सुबिधा पाएका थिए । सोही सुबिधा अनुसार नेपालीसँग रहेको २५ हजार भारु भारतले साट्नुपर्ने अडान नेपालले राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.