नेपाल टेलिकमको प्रति शेयर आम्दानी १०५ रुपैंयाँ बढि, बजार मूल्य ६३५ मात्रै

  २०७३ चैत ९ गते १५:३४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको प्रति शेयर आम्दानी १०५ रुपैंयाँ ५८ पैसा पुगेको छ । टेलिकमले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा आफ्नो प्रति सेयर आम्दानी १०५ रुपैंयाँ ५८ पैसा पुर्याएको हो । जबकी गत आवको सोही अवधीमा कम्पनीको यस्तो आम्दानी जम्मा ९६ रुपैंयाँ ७५ पैसा थियो ।

कम्पनीले पुस मसान्तसम्ममा २२ अर्ब ४७ करोड रुपैंयाँ बराबरको कारोबार गरेर ७ अर्ब ९१ करोड रुपैंयाँ नाफा आर्जन गरेको छ । १५ अर्ब चुक्ता पुँजी रहेको टेलिकमले गत आर्थिक बर्षमा १३ अर्ब २७ करोड नाफा कमाएको थियो । टेलिकमको प्रति सेयर आम्दानी आर्थिक बर्ष २०७२/७३ मा बाहेक निरन्तर वृद्धि हुँदै आएको छ ।

सो आवमा भने ८०६ जना कर्मचारीलाई भिआरएसमा पठाउँदा तीन अर्ब भन्दा बढि रकम खर्च भएकाले कुल नाफा र प्रति सेयर आम्दानी दुबै घटेको टेलिकमका प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले बताइन् । तैपनि ९१ रुपैंयाँ २१ पैसा प्रति सेयर आम्दानी कायम हुनु राम्रो भएको उनको भनाई छ ।

आर्थिक बर्ष २०६८/६९ मा टेलिकमको प्रति सेयर आम्दानी ७७.७३ रुपैंयाँ थियो । त्यसको एक बर्षपछि त्यो घटेर ७५.३३ रुपैंयाँमा झरेको थियो । तर २०७०/७१ मा पुग्यो कम्पनीको त्यस्तो आम्दानी ७७.१२ पुग्यो । आव २०७१/७२ मा पुग्दा टेलिकमको प्रति सेयर आम्दानी ९७.०४ पुग्यो तर त्यसको एक बर्ष पछि अर्थात गत आवमा भने ९१.२१ रुपैंयाँमा खुम्चियो ।

चालु आवमा भने टेलिकमको प्रति सेयर आम्दानी अझै बढ्ने देखिएको छ । ‘यसपाली कुल नाफा पनि वृद्धि हुन्छ र प्रति सेयर आम्दानी पनि बढ्छ’, कम्पनीका प्रमुख वित्तिय अधिकृत सुर्यभक्त पोखरेलले भने । प्रति सेयर आम्दानी एक सय रुपैयाँ नाघेको कम्पनीको सेयर मूल्य भने ६३५ रुपैंयाँ मात्रै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.