२०७३ चैत ७ गते १३:५३ विकासन्युज
काठमाडौं । समाजिक कल्याणका बचत तथा सामुहिक कोष कार्यक्रम सञ्चालन, संकलिन कोषको लगानी गरी आम सहभागिलाई उचित प्रतिफल दिने उद्देश्यले स्थापना भएको नागरिक लगानी कोषले संकलित रकमलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्न सकेको छैन । स्थापनाको २७ वर्षको अवधिमा कोषले उत्पादनमूलक क्षेत्रमा गरेको लगानी भनेको तामाकोशी जलविद्युत आयोजनको लागि २ अर्ब रुपैयाँमात्र हो ।
कुल ५ लाख ७० हजार सेवाग्राहीबाट संकलित ८५ अर्ब २६ करोड १२ लाख रकम मध्ये अन्य सबै रकम उत्पादन मूलक क्षेत्रमा लगानी गर्न नगरी सेयर , मुद्दती खातामै राखेर बसेको छ । सेयर बजारदेखि ठूला पूर्वाधारका क्षेत्रमा लगानी गर्न एकमुष्ठ रकम जुटाउने हैसियत भएका यस्ता कोषको रकम सामान्य बैकको सेयर तथा मु्द्दती खातामा थन्किएको छ । २१ करोड रुपैयाँ शेयरमा लगानी गरेको छ । यसबाहेक कोषको करीब रू. ५६ अर्ब विभिन्न २४ ओटा कमर्शियल बैंकको मुद्दती निक्षेपमा खातामा राखेको छ ।
यति ठूलो रकम बैंकको खातामा राखेर कोष भने आम नागरिकको पैसामा मोजमस्ती सहित सेवाग्राहीको दायित्व भुलेर बसिरहेको छ । ३ वर्ष अघिनै लगानीका लागि विभिन्न ठूला परियोजना लगानी प्रस्तावका लागि नागरिक लगानी कोषमा पुगेपनि अहिलेसम्म उत्पादनमूलक ठूला आयोजनामा लगानी गर्ने सम्बन्धमा कुनै निर्णय लिन सकेको छैन । जनताले सञ्चित गरेको रकमको ब्याजबाट कर्मचारीलाई १८ महिनासम्मको तलव खुवाएर बसिरहेको छ । यसका साथै कोषले जनकशिक्षा सामग्री केन्द्रलाई २९ करोड रुपैयाँ समयकालीन कर्जा प्रवाह गरेको छ ।
देशमा निर्माणाधिन परियोजना भने रकम पाउन सकिरहेका छन् । बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पुँजी नभएपछि यस्ता आयोजनाले पहिला सम्झौता भएका ऋण समेत पाउन सकेको छैन । लगानी कोषले सञ्चित रकमलाई यस्ता परियोजनामा खर्च गर्न सकेको भए आर्थिक समृद्धि तथा विकासमा केही भएपनि टेवा पुग्ने देखिएको छ ।
यसो गर्न नसक्नुमा कोषको उचित भिजन नहुनु तथा समय सापेक्ष पहल गर्न नसक्नु नै पहिलो कमजोरी हो । कोषका नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्न नसकेपछि सेवाग्राहीका लागि दुई महिना अघि शैक्षिक कर्जा र सरल कर्जा कार्यक्रम शुरू गरेको छ । कोषले सेवाग्राहीलाई सुविधा दिने उद्देश्यले सरल ब्याजदरमा करीब २ महीनादेखि उक्त कर्जा कार्यक्रम शुरू गरेको हो ।
यसअघि कोषले सेवाग्राहीको लागि घर बनाउन मात्रै आवास कर्जा दिने व्यवस्थालाई भने परिमार्जन गर्दै फ्ल्याट किन्नसमेत ऋण लिन पाउने व्यवस्था गरेको छ । कोषले फ्ल्याट किन्नका लागि ४० लाखसम्मको आवास कर्जा लिन पाउने नयाँ व्यवस्था हो । कोषले स्वैच्छिक वा अनिवार्य लगानीकर्ता हिसाब योजनाका सहभागीहरूको परिवारलाई शिक्षाको माध्यमबाट समुन्नत भविष्य निर्माण गर्न सघाउ पुर्याउनुको साथै लगानी विविधिकरण गर्ने उद्देश्यले शैक्षिक कर्जा कार्यक्रम २०७३ सञ्चालनमा ल्याएको हो । नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाबाट एमबीबीएस, एमडी, एमबीए, एक्जीक्युटिभ एमबीए, वी फार्मेसी, एम फार्मेसी, पाइलट, इञ्जिनीयरिङमा स्नातक वा स्नातकोत्तर, अर्थशास्त्रमा स्नातकोत्तर गर्नेलाई उपलब्ध गराउँदै आएको छ । चार्टर्ड एकाउण्टेन्सी, नर्सिङमा स्नातक वा स्नातकोत्तर, फूड टेक्नोलोजीमा स्नातक वा स्नातकोत्तर गर्न कर्जा लिन सकिने व्यवस्था कोषले गरेको छ ।
त्यस्तै, होटल एण्ड हस्पिट्यालिटी म्यानेजमेण्टमा स्नातक वा स्नातकोत्तर, सूचना प्रविधिमा स्नातक वा स्नातकोत्तर, कृषि र वन विषयमा स्नातक वा स्नातकोत्तर र पशु चिकित्सा विषयमा स्नातकमध्ये कुनै एक शैक्षिक उपाधि लिन नागरिक लगानी कोषबाट शैक्षिक कर्जा लिन सक्छन् । यो कर्जा प्राप्त गर्न अवकाश कोष वा बीमा कोषमा कोषकट्टी गरेको २ वर्ष पूरा भएको र नोकरी गर्ने सेवा अवधि न्यूनतम ५ वर्ष बाँकी भएको हुनुपर्ने कोषको भनाइ छ ।
यसबाहेक कोषले शैक्षिक कर्जा लिने सेवाग्राहीका लागि विभिन्न सीमा तोकेको छ । जसअन्तर्गत सहभागीको हाल कार्यरत तहको शुरू तलबमानको १२ वर्ष बराबरको तलब वा रू. ३५ लाखमा जुन कम हुन्छ त्यति रकमसम्म कर्जा प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यस कर्जाको न्यूनतम स्वीकृत सीमा रू. ५ लाख हुनेछ । एक पटकमा न्यूनतम १ लाख रुपैयाँसम्म भुक्तानी गरिने बताइएको छ । कोषका अनुसार शैक्षिक कर्जाको ब्याजदर हाल वार्षिक ९ प्रतिशत रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.