कर्णालीको पर्यटन विकासको करोडौँ बजेट धुलोमै उडेर सकिन्छ

  २०७३ फागुन ११ गते १८:२८     शुरबहादुर सिंह

जुम्ला । यस वर्ष पनि कर्णालीको पर्यटन पूर्वाधार विस्तारका लागि सरकारले यहाँस्थित कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई सरकारले उपलब्ध गराएको रु चार करोड ६८ लाख बजेट दुरुपयोग भएको गुनासो बढेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बिनियोजित सो बजेट विगतका योजनाझैँ पुनःपदमार्ग, मन्दिर, धर्मशाला, विश्रामस्थल र भ्यू टावर निर्माणमै खर्च हुने गरी प्रस्ताव स्वीकृत गरिएको छ तर समिति स्थापनाको सात वर्षसम्म पर्यटकीय महत्व राख्ने दीर्घकालीन र नयाँ ठोस योजना भने त्यस्तो केही देखिँदैनन् ।

समितिले कर्णालीका पाँचवटै जिल्लामा सञ्चालन गर्ने योजना कनिका छराईको अवस्थामा छ । निर्माण गरिने पर्यटनका योजनाको कुनै उपलब्धि नदेखिएको यहाँस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दिलबहादुर महतको टिप्पणी छ ।

“राजनीतिक आस्थाका आधारमा योजना वितरण गरिन्छ, त्यो कार्यकर्ताको चित्त बुझाउनमा मात्र सीमित हुन्छ,” अध्यक्ष महत भन्छन्, “ उद्देश्यअनुरुप काम नहुँदा बजेट दुरुपयोग भएकाले अब जिम्मेवार पक्षले स्तरीय कार्यक्रम तय गर्नुपर्ने भएको छ । ”

गैर सरकारी संस्था महासङ्घका जिल्लाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले सम्बद्ध मन्त्रालयबाट यसरी करोडौँ रकम कर्णाली भित्रिदा पनि कार्यकर्ता पाल्नेबाहेक अरु केही नभएको बताउछन्। झाडु लगाएर बजेट खर्च गर्ने प्रवृत्तिबाट माथि उठेर प्रतिफल निस्कने योजना निर्माणगरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।

पर्यटन पूर्वाधार विस्तारका लागि आएको बजेट गलत ठाउँमा प्रयोग भएको स्थानीय पर्यटनविद् सरोज शाहीेको गुनासो छ । “ पर्यटन प्रवद्र्धनको नाममा मठमन्दिर बनाउने बाहेक अरु केही नभएकाले उद्देश्य राम्रो भए पनि समितिसँग पर्यटनको कुनै योजना छैन, बरु हामीसँग भएका पर्यटकीय सम्पदालाई सपार्ने नाउमा बिगार्ने र बजेट धुलोमा उडाउने काम भएको छ,” पर्यटनविद् शाही को भनाइ छ ।
पर्यटकीय योजना बन्न नसकेका कारण यो समस्या देखिएको समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्याय बताउछन् । “ठोस योजना बन्नु पर्दछ र पर्यटकीय क्षेत्रमा गौरवका आयोजना निर्माण गरिनुपर्छ । यसका लागि यहाँका राजनीतिक दल, होटल तथा पर्यटन व्यवसायी, पत्रकार र अन्य सरोकारवालासँग छलफल गर्ने योजना बनाएको छु” निर्देशक उपाध्यायको भनाई छ । उनका अनुसार चालु आवमा जुम्लामा २४, कालीकोटमा १३, हुम्लामा ११, मुगुमा १३ र डोल्पामा १८ गरी जम्मा ७९ योजना स्वीकृत भएका र तिनको सम्झौता हुने काम अघि बढिरहेको छ ।

सञ्चालित ७२ योजनामा ४३ पदमार्ग र ३६ मन्दिर, धर्मशाला र भ्यू टावर निर्माणका छन् । प्राप्त रु चार करोड ६८ लाखमा रु २४ लाख चालुगत र बाँकी सबै पर्यटन पूर्वाधार विकासमा खर्च गरिने सो समितले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.