२०७३ फागुन ६ गते १५:४९ विकासन्युज
काठमाडौं । गएको वर्षको पुसमा सबैभन्दा उच्च रहेको मूल्य वृद्धि यस वर्षको पुससम्म आइपुग्दा स्वात्तै तल झरेको छ । गत वर्षको पुसमा १२.१ प्रतिशत रहेको मूल्य बृद्धि एक वर्षमा ३.२ प्रतिशतमा ओर्लिएको हो ।
चालु आवको पुस महिनामा समग्र खाद्य मूद्रास्फीति ऋणात्मक रहेको छ । गत वर्षको ६ महिना लामो सीमा नाका बन्दका कारण आपूर्ति व्यवस्था सहज नहुँदा पुस महिनामा वर्षभरिकैभन्दा वस्तुहरूको मूल्य उकालो लागेको थियो । तर, अहिले आपूर्ति व्यवस्थामा सुधार आउनुका साथै भारतीय बजारमा समेत वस्तु तथा सेवाको मूल्य घटेका कारण नेपाल पनि वस्तुहरू सस्तो भएका हुन् ।
समीक्षा अवधिमा खाद्यन्नको मूल्य बृद्धि शुन्य दशमलव ७ प्रतिशतले ऋणात्मक रहेको छ । गएको वर्षको सो अवधिमा खाद्यन्न १५.२ प्रतिशत रहेको थियो । उक्त समूहअन्तर्गतको घ्यू तथा तेलको मूल्यमा १३.२ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ६.६ प्रतिशत, तरकारीको मूल्यमा ३.९ प्रतिशत, फलफूलको मूल्यमा २ प्रतिशतले ऋणात्मक रहेको छ ।
त्यसैगरी मासु तथा माछाको मूल्यमा १.७ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा १.२ प्रतिशतले कमी आएकोले छ । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११.२ प्रतिशतले वृद्धि भएको छ ।
यस वर्षको पुससम्मको अवधिमा गैर-खाद्य मूल्य वृद्धि ६.२ प्रतिशत रहेको छ । गएको वर्षको सोही अवधिमा गैर–खाद्य वस्तुका मूल्य बृद्धि ९.७ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र शिक्षालगायतको मूल्यवृद्धि गएको वर्षको तुलनामा न्यून रहेको छ ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा कम १.९ प्रतिशत मूल्य बृद्धि रहेको छ । तराईमा २.८ प्रतिशत, हिमालमा ४.२ प्रतिशत र पहाडमा ५.७ प्रतिशत मूल्य बृद्धि रहेको छ । गएको वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२.१ प्रतिशत, हिमालमा १० प्रतिशत, तराईमा १०.७ प्रतिशत र काठमाडौं उपत्यकामा १३.८ प्रतिशत रहेको थियो ।
गत वर्ष यस वर्षको पुस महिनाको तुलनात्मक मूल्य बृद्धि:
वस्तु २०७३ पुस २०७२ पुस
दालहन तथा गेडागुडी – ६.६ ४६.९
घ्यू तथा तेल – १३.९ ३१.३
मसला – ५.८ १७.६
मासु तथा माछा – १.७ १६.८
फलफूल – २ १ ३.१
खाद्य तथा खाद्यजन्य पदार्थ – १.२ १३.१
दुग्धजन्य पदार्थ तथा अण्डा – २.९ १२.९
तरकारी – ३.९ ११.४
स्रोतः नेपाल राष्ट्र बैंक
Copyright © 2024 Bikash Media Pvt. Ltd.