चार गुणा पूँजी बढ्यो भन्दैमा चार गुणै नाफा चाहिने ? अब स्प्रेडलाई ३ प्रतिशतमा झारौं : लामिछाने

  २०७३ फागुन ४ गते १५:३५      कृष्णराज लामिछाने

आजकल एफएममा तरलता, चियागफमा तरलता चोक चोकमा तरलताको चर्चा छ । यसले तरलता भन्ने शब्दकै अपव्याख्या भएको छ । अब तरलता कसरी उत्पन्न भयो र कसरी समाधान गर्ने भन्ने कुरामा छलफल आवश्यक छ ।
भन्सारमा व्यापारीका समान अड्किएका छन् । ब्याजदर बढेको छ, व्यापारीले ऋण पाएका छैनन् । यी बिषयमा मोनिटेरी पोलिसीको मध्यावधी समिक्षामा समाधान खोजिएला भन्ने मलाई लाग्छ ।

अब तरलताको कारणमा जानु आवश्यक छ । अन्यथा नमान्नु होला आज म आत्मदेखि नै केहि कुरा गर्ने सोँचमा छु । केन्द्रिय बैंकले पूँजी वृद्धिको योजना अघि सार्यो । एक एक तला घर बनाउनु भन्दा एकै पटक बलियो र फुलफेज घर बनाउनु पर्छ भन्ने मान्यताका साथ पूँजी बढायो । एक बर्षमा एक तला, दुई बर्षमा दुई तला, तीन बर्षमा तीन तला घर बनाएर डण्डी खियाउनु भन्दा एकै पटक चार तले घर बनाउनु पर्छ भन्ने केन्द्रिय बैंकलाई लाग्यो र चार गुणा पूँजी वृद्धि गर्यो जुन आवश्यकता पनि थियो ।

के चार गुणा पूँजी बढ्यो भन्दैमा बैंकलाई चार गुणा नै मुनाफा बढि चाहिने ? बैंकले यो बिषयमा मनन गर्नु पर्छ की पर्दैन् ? नेपालमा तीनथरी बैंक छन् । सरकारी बैंक, विदेशी लगानीमा सञ्चालित बैंक र नेपाली उद्योगी व्यवसायीले सञ्चालन गरेका बैंक । तपाईहरुले जुन बैंकबाट ऋण लिनु भएको छ, मन मनै सोच्नुस कुन बैंकले ब्याज बढाएको छ ?

मेरो विचारमा सरकारी बैंकले ब्याज बढाएका छैनन् । बढाएको भएपनि थोरै मात्र बढाएका छन् । विदेशी लगानीका ठुला बैंकले पनि खासै व्याज बढाएका छैनन् । ब्याज कसले बढाएका छन्, जुन बैंकमा नेपालका ठुला व्यवसायीक घरानाको लगानी छ, ती बैंकले ब्याज बढाएका छन् ।

नेपाली ठुला घरानाका लगानी कर्ताले सिइओलाई बाध्य पारिरहनु भएको छ । मलाई २०/३० प्रतिशत लाभांश चाहिन्छ भनेर बाध्य पारिँदैछ । सिइओहरुलाई साउन देखि नै तनाब छ । अहिलेका कमर्सियल बैंकले २० प्रतिशत लाभांश दिन १६० करोड बाढ्नु पर्छ । रिजर्भ राख्ने व्यवास्थाका कारण उसले २ अर्ब नाफा कमाउँदा मात्रै २० प्रतिशत लाभांश दिन सक्छ । २ अर्ब नाफा कमाउन एउटा बाणिज्य बैंकले कर्जा लगानी साह्रै धेरै बढाउनु पर्छ ।

नाडा अटो शोमा हामीले साढे ५ प्रतिशतमा कर्जा बाढेका हौं असोज मसान्तमा । नाफा कमाउन कर्जा बाढ्दा बाढ्दा ढुकुटीमा भएको पैसा सकियो । भाँडामा पहिले पानी हाल्ने अनि पछि बाढ्ने जस्तै हो बैंकले निक्षेप र कर्जा दिने कुरा । संसार भरका बैंकले यस्तै गर्छन । यस्तो अवस्था आयो की बैंकमा निक्षेप भन्दा कर्जा दिने प्रक्रिया बढि भयो जसले भाँडो रित्तियो । अब भाडै रित्तिए पछि के बाढ्ने ? हामीलाई नाफा कमाउनु पर्ने थियो कर्जा बढायौं । त्यसैले तरलता अभावको अवस्था आयो ।

अहिले केन्द्रिय बैंक र सिइओलाई गुहारेर पनि केहि हुने वाला छैन् । समाधान भनेको नेपालका ठुला बैंकमा लगानी गरेका घरानीयासँग छ । उहाँहरुलाई भन्नुस् ५ प्रतिशत स्प्रेड होइन यसपाली ३ प्रतिशतमा झारौं । लाभांश पनि यसपाली ३० प्रतिशत होइन २० प्रतिशतमा झारौं भन्नुस् । एउटा ठुलो बैंकका सञ्चालकले एउटा कार्यक्रममा भन्नु भयो–‘मैले सिइओलाई १२ प्रतिशत ब्याज पुर्याउन भनेको थिए, उसले मानेन अहिले अरुले पैसा उठाए । अब यो १५ प्रतिशत पुग्छ ।’

हामीलाई थाहा छ, कुन बैंक कस्को हो भन्ने कुरा । ती बैंकका अध्यक्ष र सञ्चालकलाई बोलाएर भन्नु पर्यो । यो नाफा कमाउने बेला होइन् । स्प्रेड घटाउनु पर्छ । हाम्रा बैंकको त्रैमासिक रिपोर्ट हेर्नुभयो भने राम्रो कमाईरहेको देखिन्छ । तर ७ प्रतिशतको ब्याजलाई १४ प्रतिशत पुर्याएर नाफा कमाईरहेका छौं । भदौ/असोजमा ८ प्रतिशतमा ऋण नलिएर बाणिज्य बैंकमा ७ प्रतिशतमा ऋण लिन गएका एक जना व्यवसायीले अहिले भन्दैछन्–मलाई त बाणिज्य बैंकले १४ प्रतिशत ब्याज पुर्यायो । लौन मलाई कर्जा चाहियो ।’

हामीले ८ प्रतिशतमा दिएको ऋणको ब्याज ११ प्रतिशत भन्दा बढि पुर्याएका छैनौं । बाणिज्य बैंकले ७ प्रतिशतको कर्जा १४ प्रतिशत पुर्याएका छन् । हामीले निक्षेप कर्ताको पैसा परिचालन गरेर ३०/४० प्रतिशत लाभांश खाने तर उनीहरुको पैसाको ब्याज दिनु पर्दैन ? निक्षेप कर्ताले आयआर्जन गर्न पाउनु पर्दैन ? एक प्रतिशत मात्रै ब्याज दिने ? त्यस्तो अन्याय गर्न पाइन्छ ?

हामी त सिइओ हौं, सञ्चालक समितिले स्प्रेड घटाउन भन्यो भने तुरुन्तै घटाउन सक्छौं । तर प्रत्येक बैठकमा हामीलई सञ्चालकले सिइओ साब यसपाली कति लाभांश पाइन्छ भनेर सोध्छन् । समयमै बजेट आएकाले पूँजीगत खर्च बढ्छ भनेर हामीले बुझ्यो । त्यसैले धमाधम कर्जा दियौं तर त्यो गलत सावित भयो । जसले अहिलेका तरलता अभावको अवस्था निम्त्यायो ।

बैंकहरुले अनुपत्पादक क्षेत्रमा लगानी गरे भन्ने आरोप लगाउनु अघि सोच्नु आवश्यक छ । व्यापक घर जग्गामा, हायर पर्चेजमा, ओभर ड्राफ्टमा लगानी गरेर तरलता अभाव भयो भन्ने सुनियो । घर जग्गा कारोबारपछि पैसा बैंकमै जाने हो । ओभर ड्राफ्टको सबै कर्जा अनुत्पादक होइनन् ।

घर खरिदमा दिएका पैसा जस्तो उत्पादन शिल क्षेत्र अरु कुनै हुनै सक्दैन् । अधिकांश मुलुकमा बैंकबाट घर बनाउन लिइने ऋणलाई उत्पादक मानेर कर छुट दिने चलन छ । हायर पर्चेजको कुरा आएको छ, यसमा पनि सिमेन्ट बोक्न गाढी, स्काभेटर, लोडर पनि अनुत्पादक हुन्छ कहीँ ?

सेयर कर्जा पनि २ प्रतिशतमा सिमित भएको छ । फेरी सेयर बेच्नेले पनि सिरानीमा पैसा नराखेर बैंकमै राख्छ ।
समस्या भनेको निक्षेपको तुलनामा कर्जा बढेकाले आएको हो ।  समाधान भनेको बैंकका ठुला लागानी कर्तामा निर्भर गर्छ । उहाँहरुले चाहनु भयो भने एक हप्तामा कर्जाको २ प्रतिशत ब्याज घट्न सक्छ । चैत भरिमा निक्षेपको ब्याजदर पनि २ प्रतिशत घटाउन सकिन्छ । तर यो कुरा ठुला बैंकका घरानिया लगानी कर्ताले मान्नु पर्छ ।( डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष लामिछानेले नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.