सोमबारदेखि सुनको कोटा दैनिक पाँच किलोले बढ्यो, फागुनमा दैनिक २५ किलो आयात गर्न पाइने

  २०७३ माघ २४ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई माघ र फागुनका लागि दैनिक २० किलो सुनको आयात गर्ने अनुमती दिएको छ । विवाहको सिजनमा अत्याधिक सुनको माग बढेर कालोबजारी बढेपछि बैंकले सुनको कोटा पाँच किलोले बढाएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार सोमबारदेखि २० किलो सुन आपूर्ति गर्न पाउने प्रावधान लागू भएको छ । यस अघि राष्ट्र बैंकले दैनिक १५ किलो मात्र सुन आपूर्ति गर्न अनुमति दिन्थ्यो । सुन व्यवसायीको पहलमा नेपाल राष्ट्र बैंक तथा वाणिज्य मन्त्रालय सहितको बोर्डको सहमतीमा सुनको कोटा बढाइएको पौडेलले बताए ।

gold_stockफागुनमा सुनको कोटा २५ किलो पुर्‍याउने तयारी

नेपाल राष्ट्र बैंकले सुनको कोटा दैनिक २५ किलो पुर्‍याउने तयारी गरेको छ । माघ र फागुनमा विवाहको लगन बढि भएकाले माग अनुसार कोटा बढाउने तयारी गरेको पौडेलले बताए । उनले भने, ‘सुरुमा व्यवसायीले १० किलो बढाउन पत्राचार गरेअनुसार बोर्डले सहमती जनाएको थियो । हाल पाँच किलो मात्र बढाइएपनि केहि दिनमा थप पाँच किलो बढाउने तयारी भइरहेको छ ।’

सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यका अनुसार फागुनमा सुनको कोटा थप पाँच किलो बढ्ने सम्भवना छ । उनले भने, ‘बजारमा सुनको यस्तो हाहाकार भएको बेलामा सुनको कोटा बढाउनु जरुरी छ । फलस्वरुप सरकारले फागुनका लागि दैनिक २५ किलो पुर्‍याउने प्रतिबद्धता जनाएको छ । यसले व्यवसायी थप उत्साहित बनेका छन् ।’

एक/दुई दिनमा सहज हुन्छ

बैंकले सुनको आपूर्ति बढाएपनि बजार सहज बन्न केहि दिन लाग्ने शाक्यले बताए । उनले भने, ‘बैंकले निर्णय गरेपनि व्यवसायीका हातमा सुन परेको छैन । वाणिज्य बैंकसँग स्टक छ भने आजदेखि २० किलो सुन दिनसक्छ तर त्यस्तो अवस्था देखा परेको छैन ।’

सुनको भाउमा लगातार वृद्धि

बजारमा सुन नपाइरहेको बेलामा सुनको भाउ पनि बढिरहेको छ । आइतबार प्रति तोला ५५ हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ सोमबार प्रति तोला ५५ हजार चार सय रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा अन्तराष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेकाले नेपाली सुन बजार प्रभावित भइरहेको छ । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको रस्साकस्सी चलिरहेकाले सम्पूर्ण आर्थिक क्षेत्र प्रभावित भएकाले सुनको भाउ बढ्दै जाने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

शाक्यका अनुसार अन्य आर्थिक क्षेत्रमा अन्यौल अवस्थामा परेकाले सुनमा  लगानी बढिरहेको शाक्यले बताए । आइतबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंष १२०० अमेरिकी डलर पुगेको थियो भने सोमबार प्रति औंष १२०४ डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.