काठमाडौं-रसुवागढी रेल मार्ग बनाउन चाइना रेल वे ग्रुप तयार, ‘सरकारी कम्पनी हो जिम्मा दिए हुन्छ’-रेल विभाग

  २०७३ मंसिर २७ गते १७:१९     नारायण पौडेल

rail_waysकाठमाडौं, २७ मंसिर । चीनको सरकारी कम्पनी चाइना रेल वे ग्रुप लिमिटेडलाई काठमाडौं–रसुवागढी रेलमार्ग निर्माणको जिम्मा दिइने भएको छ । कम्पनीले बुझाएको आसय पत्रका आधारमा रेल विभागले भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई पत्र लेखेर सोही कम्पनीलाई निर्माणको जिम्मा दिन उपयुक्त हुने बताएको हो ।

‘चाइना रेल वे ग्रुपले बुझाएको आसय पत्रका आधारमा हामीले मन्त्रालयलाई पत्र लेखेर सोही कम्पनीलाई निर्माणको जिम्मा दिन उपयुक्त हुने सुझाव दिएका छौं’, रेल विभागका एक अधिकारीले विकासन्युजसँग भने । विभागका अधिकारीका अनुसार चाइना रेलवेले ७० प्रतिशत आफुले लगानी गर्ने र ३० प्रतिशत नेपाल सरकारले लगानी गर्नुपर्ने प्रस्ताव विभागमा बुझाएको हो ।

चाइना रेल वेले १० करोडको लागतमा आफैंले प्रारम्भिक विस्तृत सम्भाव्यता अध्ययन गरिदिने समेत सो आसय पत्रमा उल्लेख गरेको छ । चाइना रेल वे ग्रुपले दुईृ पटक बुझाएको आसय पत्रको गहन अध्ययन गरेपछि विभागले सोही कम्पनीलाई निर्माणको जिम्मा दिँदा उपयुक्त हुने निष्कर्ष निकालेको हो ।‘चीनको सरकार कम्पनी भएकाले विश्वसनियता पनि बढी छ र उसले गरेको प्रस्ताव पनि राम्रो छ, त्यसैले दुई हप्ता अघि नै सो कम्पनीसँग सम्झौता गरेर काम अघि बढाउन सकिने निर्णयसहितको पत्र मन्त्रालय पठाएका हौं’, विभागका ति अधिकारीले भने ।

कम्पनीले काठमाडौं–रसुवागढी रेल मार्गको निर्माण लागत प्रति किलोमिटर अधिकतम २ अर्ब लाग्ने प्रक्षेपण समेत पेश गरेको छ । ठुला र लामा पुल तथा सुरुङ समेत निर्माण गर्नुपर्ने भएकाले लागत केहि बढ्न सक्ने पनि उसले बताएको छ ।
चाइना रेल वे ग्रुपले अधिकतम चार बर्षभित्रै काठमाडौं–रसुवागढी रेल मार्ग निर्माण गरिसक्ने दावी पनि गरेको छ ।‘सरकारी कम्पनी हो युद्धस्तरमा काम गर्छ, चार बर्षमा बनाइदिन सक्छौं भनेका छन’, ती अधिकारीले भने ।

रेल विभागको सिफारिसलाई भौतिक मन्त्रालयले स्विकार गरेको खण्डमा केहि समय भित्रै चाइना रेल वे ग्रुपसँग सम्झौता हुनेछ । कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययन, डिपिआर निर्माण गर्दै रेल मार्गको काम थाल्न सक्नेछ । ‘हामीले बल मन्त्रालयको कोर्टमा पुर्याएका छौं, अब के हुन्छ, हेर्न बाँकी छ’, ति अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.