सरकारी लगानीका उद्योगलाई प्रतिस्पर्धी बन्न मन्त्री जोशीको आग्रह

  २०७३ मंसिर २६ गते १७:४९     विकासन्युज

minister-joshiहेटौँडा, २६ मंसिर । उद्योग मन्त्री नविन्द्रराज जोशीले सरकारले लगानी मैत्री वातावरण बनाउन लागेको बताएका छन् । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको आइतबार आयोजित ३१ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री जोशीले रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्र उद्योगमा भन्दा व्यापारमा लगानी बढ्दो रहेकोले सरकारले लगानीमैत्री वातावरण तयार गर्न लागेका बताए ।

मन्त्री जोशीले सबैको साझा प्रयास र प्रतिबद्धता भएमा १० भित्रमा युवालाई रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाबाट मुक्त गरी स्वदेशमा नै अवसर सिर्जना गर्न सकिने बताउँदै सरकारी लगानीका उद्योगहरु सञ्चालनलाई प्रभावकारी बनाउन आफू लागेको बताए । हेटौँडा कपडा, वीरगञ्ज चिनी, औषधि उद्योगलगायतका सरकारी स्वामित्वका उद्योगहरु सञ्चालनको निर्णय गरेको भन्दै उनले भने, कागजी प्रतिबद्धतालेमात्र हुँदैन निजी उद्योगसँग प्रतिस्पर्धा गर्नसक्नु पर्छ । सिमेन्टको गुणस्तर र लागतमा प्रतिस्पर्धि बन्न क्षमताको उपयोग गर्नु आवश्यक रहेको बताउँदै उनले हेटौँडा सिमेन्टलाई सरकारी स्वामित्वको उदाहरणीय उद्योग बनाउन उद्योगका व्यवस्थापक र कर्मचारीलाई आग्रह गरेका छन् ।

उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले उद्योगमा नियमित बिद्युतको व्यवस्था भएमा उत्पादन बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । यस्तै उद्योगका नायब महाप्रबन्धक मुकुन्दराज बानियाँले बोलपत्र आव्हानबाट सामान आपूर्ति गर्ने प्रक्रियालाई सहज बनाउनुपर्ने बताए ।

अर्डिनरी पोर्टलैण्ड र अर्डिनरी स्लैग सिमेन्ट उत्पादन र बिक्री गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योगको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी एक अर्ब ५० करोड, चुक्ता पूँजी ९० करोड, ६ लाख ८५ हजार र ऋण १२ करोड रहेको उद्योगले जनाएको छ ।  उद्योगले २०४२ मंसिर २६ गतेबाट व्यावसायिक उत्पादन सुरु गरेको उद्योगको उत्पादन क्षमता दैनिक ७५० टन रहेको छ । उद्योगमा हाल ३९५ कर्मचारी कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.