विदेशी कालिगडले लैजान्छन् वार्षिक १८ अर्ब, सुनचाँदी व्यवसायमा मात्रै १ लाख विदेशी कालिगढ

  २०७३ मंसिर २३ गते ८:२९     विकासन्युज

काठमाडौं २३, मंसिर । सुनका गहना बनाउने विदेशी कालिगडले मात्र वर्षमा १८ अर्ब रुपैयाँभन्दा बढी रकम लैजाने गरेका छन् । नेपालमा पर्याप्त दक्ष जनशक्ति नहुँदा ठूलो परिमाणमा रकम बाहिरिने गरेको व्यवसायीहरू बताउँछन् । मुलुकमा ८० प्रतिशत कालिगड विदेशी रहेको र तीमध्ये अधिकांश भारतीय र बंगलादेशी रहेको व्यवसायीहरूको भनाइ छ ।

“सुनचाँदी व्यवसायमा मुलुकभर डेढ लाख कालिगड छन्, तीमध्ये विदेशीको संख्या मात्रै १ लाख छ,” नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार भन्छन्, “१ लाख विदेशी कालिगडले सुनचाँदीको काम गरेर मात्र वर्षको १८ अर्बभन्दा बढी कमाउँछन्, यो पैसा विदेशी रहेको छ ।” स्थानीयस्तरमा कालीगढ उत्पादन गर्न नसक्दा बर्सेनि यति ठूलो रकम बाहिरिइरहेको उनको भनाइ छ ।nepali - rupes

नेपालले सुनचाँदीका गहना बनाउने जनशक्ति उत्पादनतर्फ ध्यान नदिँदा र व्यवसायीहरूले यसको समाधानका लागि ठोस पहल नगर्दा बर्सेनि यति ठूलो रकम विदेशी कामदारका लागि बाहिरिने गरेको हो । भन्सार विभागका अनुसार नेपालमा वार्षिक २० देखि २५ अर्ब रुपैयाँबराबरको सुनचाँदी र हिरा आयात हुनेगर्छ । यो तथ्यांकले सुन आयात र बनाउनकै लागि मात्र बर्सेनि ४० अर्बभन्दा बाहिरिने देखिएको छ ।

महासंघका अनुसार, सुनचाँदीमा काम गर्ने कालिगड र यसमा सहयोग गर्नेको मासिक तलब ५ हजारदेखि ५० हजार रुपैयाँ छ । राम्रो काम गर्न जान्नेलाई आकर्षक तलब भए पनि स्वदेशी जनशक्तिको अभाव देखिएको र विदेशबाट ल्याउनुपरेको गुनासो व्यवसायीहरूको छ । महासंघका अनुसार, विशेष गरी भारत र बंगलादेशका कालिगड नेपालमा कार्यरत छन् ।

कालिगडका लागि १८ अर्बभन्दा बढी रकम बाहिरिए पनि सरकारले स्वदेशमै कालिगड उत्पादनका लागि खासै चासो दिएको छैन । महासंघ अध्यक्ष सुनार सरकारले तालिमको व्यवस्था गरिदिए स्वदेशमै भएको जनशक्तिलाई स्वरोजगार बनाउन सकिने बताउँछन् । “रोजगारीकै लागि नेपालीहरू खाडीमुलुकमा गएर ५० डिग्रीको तापक्रममा श्रम गरिरहेका छन्,” उनले भने, “सुनचाँदी व्यवसायमा दक्ष जनशक्ति नहुँदा बाहिरी मुलुकबाट ल्याउनु परिरहेको छ ।”

पछिल्लो समय नेपाली कला, संस्कृति र परम्पराबाट आधुनिकतातर्फ उन्मुख भएकाले पनि विदेशी जनशक्तिको माग धेरै हुने गरेको छ । दैनिक १ हजार ५ सय नेपाली रोजगारीका लागि विदेशी गइरहेको बेला सरकारले भने स्वदेशी जनशक्ति उत्पादनका लागि ध्यान दिन सकेको छैन । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.