सबै प्रक्रिया पुरा गरेर एनसेललाई लाभांश सटही भुक्तानी–राष्ट्र बैंक

  २०७३ कार्तिक ८ गते १९:४४     विकासन्युज

काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले सबै प्रक्रिया पुरा गरेर एनसेललाई लाभांश भुक्तानीको लागि विदेशी मुद्रा सटही गरेको दावी गरेको छ । दुरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दुरसंचार प्राधिकरण, उद्योग विभाग र ठूला करदाता कार्यालयको समेत सहमतिमा लाभांश भुक्तानीको लागि विदेशी मुद्रा सटही सुविधा दिएको राष्ट्र बैंकले जनाएको छ ।

एनसेलको ११औ वार्षिक साधारणसभाले एनसेलले आर्थिक वर्ष २०६८/६९ को नाफाबाट लाभांश बापत ११ अर्ब रुपैयाँ वितरण गर्ने निर्णय गरेको जनाउँदै त्यसको ८० प्रतिशत लाभांश विदेशी लगानीकर्तालाई भुक्तानी गर्न विदेशी मुद्रा सटही सुविधा माग गरेको थियो । चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको एनसेलमा २० प्रतिशत (२ करोड रुपैयाँ) नेपाली र ८० प्रतिशत (८ करोड रुपैयाँ) विदेशी लगानी रहेको छ ।

तर एनसेल दावी भनेझै ८ करोड रुपैयाँ बराबरको विदेशी लगानी बैंकिङ प्रणाली मार्फत आएको नदेखिएको जनाउँदै नेपाल राष्ट्र बैंकले २०७० माग १३ गते लाभांश बाफतको विदेशी मुद्रा सटही दिन अस्वीकार गरेको थियो । करिब तीन वर्ष पुरानो निर्णयमा परिवर्तन गर्दै नेपाल राष्ट्र बैंकले गत भदौ २७ गते ८ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी मुद्रा एनसेलको लगानीकर्ता रेन्योल्डस् होल्डिङ लिमिटेड, वेष्ट इन्डिजलाई भुक्तानी दिएको छ ।
nrb_ncell
राष्ट्र बैंकले प्रक्रिया पुरा नगरी रेन्योल्डस् होल्डिङलाई विदेशी मुद्रा सटही गरि भुक्तानी दिएको समाचार प्रकाशित भएपछि राष्ट्र बैंकले सोमबार पत्रकार सम्मेलन गरी ‘सबै प्रक्रिया पुरा गरि सटही भुक्तानी दिएको’ प्रष्टीकरण दिएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ अनुसार सबै प्रक्रिया पुरा गरेर लाभांश भुक्तानीको लागि विदेशी मुद्रा भुक्तानी गरिएको राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले बताए । ‘एनसेलमा विदेशी लगानीकर्ताको हिस्सा ८ करोड रुपैयाँ मध्ये यस बैंकले तोकेबमोजिम बैकिङ प्रणालीबाट ५ करोड ८१ लाख रुपैयाँ बराबर मात्र विदेशी मुद्रा लगानी भित्रिएको देखिएको थियो । २ करोड २१ लाख रुपैयाँ बराबर विदेशी मुद्रा बैकिङ प्रणालीबाट भित्रिएको नदेखिएको अवस्थामा राष्ट्र बैंकले तीन वर्षअघि लाभांश भुक्तानीका लागि विदेशी मुद्रा सटही दिएको थिएन’ प्रबक्ता पौडेलले भने–‘कम्पनीले बाँकी २ करोड २१ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा लगानीको रुपमा भित्रिएको प्रमाण पेश गरेकोले विदेशी लगानी वापतको लाभ वा लाभांशको रुपमा प्राप्त विदेशी मुद्रामा नेपाल बाहिर लैजान स्वीकृति दिएको छौं ।’

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९को दफा १० अनुसार लाभांश भुक्तानी गरिएको उनले बताए । कम्पनीको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, कर चुक्ता प्रमाणपत्र, अद्यावधिक गरिएको विवरण, प्रबन्त्रपत्र, नियमावली, लेखापरीकबाट प्रमाणित वित्तीय विवरण, नियमनकारी निकायबाट लिएको स्वीकृति पत्र, विदेशी लगानी स्वीकृत पत्र, विदेशी लगानी भित्र्याएको बैंक स्टेटमेन्ट, साधारणसभाले गरेको निर्णय लगायत सबै कागजपत्र लिएर भुक्तानी संबन्धित निर्णाय गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.