‘२५ बुँदे सम्झौताले नेपाललाई भुटानको स्तरमा झारेको छ’

  २०७३ असोज २० गते १६:४१     विकासन्युज

prachanda--modiकाठमाडौँ, २० असोज । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा गरेको सम्झौता राष्ट्रघाति भएको भन्दै नेपाललाई भुटानिकरणमा अगाडि बढाएको बताएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री प्रचण्डले गरेको २५ बुँदे सम्झौताले नेपाललाई सधैं भारतको पछि लाग्ने बनाएको बताएका छन् ।

देशभक्त जनगणतान्त्रि मोर्चाले बिहीबार संवाद डबलीमा गरेको ‘२५ बुँदे सम्झौता र राष्ट्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले भने, ‘प्रचण्ड जी भारतको आर्शिवाद थाप्न गएर राष्ट्रघाति सम्झौता गरे तर मागेजस्तो आर्शिवाद पाएनन् ।’ भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले २५ बुँदे सम्झौताले नेपाललाई सिक्मिकरण र भुटानकरणको दिशामा नेपाललाई लगेको बताए ।

कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीको भारतमा नेपालमाथि गद्दारी गरेको भन्दै २५ बुँदेबारे सत्तासाझेदार नेपाली काँग्रेसलाई समेत जानकारी नगराएको बताए । ‘प्रचण्ड जी राष्ट्रघाति हुन् वा राष्ट्रवादी भन्ने उनले पटक पटक व्यवहारमा देखाएका छन्’ बिजुक्छेले भने ।अध्यक्ष बिजुक्छेले प्रधानमन्त्री प्रचण्डले गरेको राष्ट्रघातको विरुद्धमा सडकमा आउनुको विकल्प नभएको बताए ।

नेकपा (माले)का अध्यक्ष सिपी मैनालीले २५ बुँदे सहमतिले नेपाललाई भारतको पुच्छर बनाएको बताएका छन् । मैनालीले सम्झौताको १० नम्बर बुँदा सबैभन्दा खतरनाक भएको बताए । ‘नेपालको परराष्ट्र नीति तटष्थ र पंचशीलका आधारमा हुने भएपनि २५ बुँदे सम्झौताले भुटानको स्तरमा पुर्याइ दिएको छ’ उनले भने । अध्यक्ष मैनालीले ६०१ जनाले संविधान लेखे भन्दैमा नेपाल भारतीय हस्तक्षेपबाट मुक्त नभएको बताए ।

नेकपा (माओवादी)का स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले सत्तामा आमूल परिवर्तन नभएसम्म जो ब्याक्ति सरकारमा गएपनि राष्ट्रघातलाई निरन्तरता दिने बताए । ‘नेपालमा भारत निर्भर प्रतिक्रियावादी सत्ता रहेसम्म सरकारमा जो गएपनि राष्ट्रघात भइरहनेछ । यो सत्तामा जो गएपनि राष्ट्रघात गर्नुपर्ने बाध्यता हुन्छ । यो ब्यक्तिको कुरा नभएर सत्ताको कुरा हो’ बास्तोलाले भने ।

उनले नेपालमा राष्ट्रघातलाई रोक्नलाई सत्तामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता भएको बताए । बास्तोलाले नेपालका नेताहरुले संघर्षको स्तरअनुसार राष्ट्रघात गर्ने गरेको बताए । ‘काँग्रेस, माले–एमाले, प्रचण्डलाई हेर्दा उनीहरुले गरेका संघर्षको स्तरअनुसार राष्ट्रघात गरेका छन् । यो भारत निर्भर राज्य संरचनाका कारणले भएको हो’ बास्तोलाले भने ।

कार्यक्रममा मोर्चाका अध्यक्ष सिपी गजुरेल, नेकपा (मसाल) का प्रबक्ता र जनमोर्चाका संयोजक साध्यबहादुर भण्डारीले २५ बुँदे सम्झौता राष्ट्रघाति भएको भन्दै सडक संघर्ष गर्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.