गभर्नर सापः एउटा बैंकभित्र दुई वटा बैंक हुन्छन् ?

  २०७३ असोज १८ गते १७:३८     विकासन्युज/टिप्पणी

काठमाडौं, १८ असोज । विगत दुई दशकको नजिर हेर्ने हो भने नौटंगी निर्णय राजनीति गर्नेहरुले मात्रै गर्थे । राजनीतिक पेश ब्यवसायमा लागेका ब्यक्तिहरुको निर्णय सर्वसाधारणलाई नै अचम्मित पार्ने प्रकारको हुने गरेको थियो । चाहे त्यो दोस्रो जनआन्दोलनको मुद्दा नै नभएको संघीयता र धर्मनिरपेक्षता होस् वा प्रधानन्यायाधिशलाई प्रधानमन्त्री बनाउने कुरा होस् ।
dr_chiranjibi_nepal
पछिल्लो समयमा राष्ट्र बैंकले गरेको एउटा निर्णय साच्चै नै उदेकलाग्दो छ । कुनै बैंक वा वित्तीय संस्थाले यस्तो निर्णय गरेको भए त्यस्तो ब्यक्तिलाई बैंकिङ कसुरको अभियोग लाग्न सक्थ्यो । तर नेपाल राष्ट्र बैंक संचालक समितिले गरेको निर्णयलाई अभियोग लगाउनु हुदैन होला । जे होस निर्णय साच्चै अचम्मको छ ।

राष्ट्र बैंक संचालक समितिले साविकको प्रभु बैंकको सेयर कारोवार खुल्ला गर्न र साविकको ग्राण्ड बैंकको सेयर कारोवार नखोल्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दियो । प्रभु र ग्राण्ड एक भएर एकिकृत कारोवार संचालन गरेको यति लामो समयपछि पनि प्रभु र ग्राण्ड भनेर राष्ट्र बैंकले किन छट्टयाएको हो ? यो प्रश्नको प्रष्ट जवाफ राष्ट्र बैंकले दिएको छैन ।
पुँजी बजारको नियामक राष्ट्र बैंक होइन, धितोपत्र बोर्ड हो । धितोपत्र बोर्डले आफ्नो कार्यक्षेत्र भित्रको काम आफैले जिम्मा लिनुपर्ने हो । तर बोर्डले राष्ट्र बैंकको निर्णयको पछि लागेर साविकको ग्राण्ड बैंकको सेयर कारोवार नखोली साविकको प्रभुको मात्रै सेयर कारोवार खुल्ला गर्न अनुमति दियो । बोर्डले अर्काे पनि अनौठो काम गरेको छ । राष्ट्र बैंकले प्रभुको सेयर कारोवार खुल्ला गर्न र साविकको ग्राण्ड बैंकको सेयर कारोवार रोक्का राख्न अनुमति दिएपछि त्यसको अवस्था के कस्तो छ, जवाफ दिनु भनेर प्रभु बैंकलाई पत्र लेखेको छ । बोर्डको यो पत्रको अर्थ मर्जर र एक्विजिसन पछि पनि दुइटा संस्थाको अस्तित्व कायम राख्नु भन्ने हो कि होइन ?

अहिले साविकको ग्राण्ड बैंकको सेयर कारोवार भएको छैन । साविकको प्रभु बैंकको मात्रै सेयर कारोवार भएको छ ? यो के भएको हो ? लगानीकर्ताले प्रश्न गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले लिखित रुपमा र औपचारिक तथा अनौपचारिक कुराकानीमा पनि मर्जर र एक्विजिसन पछि दुईटा संस्थाको ब्यवहार नगर्न सम्बन्धित संस्थालाई निर्देशन दिने गरेको छ । कर्मचारीलाई एकै प्रकारको ब्यवहार गर्न भनेको छ । सेयर स्वाप रेसियो कायम भएर एकिकृत कारोवार भएपछि मर्जर तथा एक्विजिसन पछि कायम भएको नामकै कम्पनीको सेयर प्रमाणपत्र दिनुपर्ने ब्यवस्था गरिएको छ । यस्तो अवस्थामा मर्जर र एक्विजिसन अघि रहेका कम्पनीलाई छुट्टा छुट्टै ब्यवहार गर्ने राष्ट्र बैंकको गतिविधिले मर्जर र एक्विजिसनको अन्तराष्ट्रिय मान्यता र प्रचलनको पनि खिल्ली उडाएको छ ।

राष्ट्र बैंकको यस्तो ब्यवहारले एकभन्दा बढी संस्था मर्जर र एक्विजिनपछि बनेका संस्थाको सेयर कारोवार मात्रै होइन आन्तरिक रुपमा राष्ट्र बैंकले मर्जर र एक्विजिसन अघि अस्तित्वमा रहेका संस्थाको अस्तित्व कायम राख्ने देखिएको छ । प्रभु बैंककै सन्दर्भमा कुरा गर्ने हो भने यसमा सातवटा बैंक तथा वित्तीय संस्था मर्जर एक्विजिसन भएका छन् । अब राष्ट्र बैंकले ती सबै संस्थाको अस्तित्व खोजेर छुट्टा छुट्टै व्यवहार गर्ने पो हो कि भन्ने प्रस्न उब्जिएको छ ।

ग्राण्ड बैंक प्रभुमा विलय भइसकेको छ । आफूखुसी विलय भएको होइन । राष्ट्र बैंककै स्वीकृतिमा हो । राष्ट्र बैंकको यस्तै ब्यवहार हुने हो भने प्रभु बैंकले अब केही कित्ता साधारण सेयर निस्कासन गर्नुपर्ने हुन्छ । किनभने प्रभु बैंकमा विलय भएको तत्कालिन बैभब फाइनान्सले साधारण सेयर निस्कासन गरेको थिएन । मर्जरपछि बनेको संस्थामा पनि मर्जर वा एक्विजिसन अगाडिकै संस्थाको रुपमा छुट्टा छुट्टै ब्यवहार गरिने हो भने बैभवको तत्कालिन चुक्ता पूँजीको ३० प्रतिशत साधारण सेयर निस्कासन गर्नुपर्ने हुन्छ । कुनै दिन राष्ट्र बैंकले यस्तो निर्देशन दियो भने पनि अचम्म नमाने हुने भयो ।

यस्तै प्रभुमा विलय भएका अन्य तत्कालिन बैंक तथा वित्तीय संस्थाहरु प्रभु विकास बैंक, किष्ट बैंक, गौरिशंकर विकास बैंक र जेनिथ फाइनान्सलाई पनि भिन्दा भिन्दै ब्यवहार गर्न सक्ने नजिर राष्ट्र बैंकले स्थापित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.