अघि बढेन चिनियाँ सहयोगमा पेट्रोलियम खानीहरुको उत्खनन्

  २०७३ असोज १६ गते १०:५०     नारायण पौडेल

nepal_chinकाठमाडौं, १६ असोज । चीन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा गर्ने भनिएको नेपालका पेट्रोलियम खानीहरुको उत्खनन् प्रक्रिया बिचमै रोकिएको छ । नेपाल र चीन सरकारबिच समन्वय नहुँदा चिनियाँ सहयोगमा गर्ने भनिएको पेट्रोलियम खानीहरुको उत्खनन् रोकिएको हो । तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा चिनियाँ सहयोगमा नेपालका पेट्रोलियम खानीहरुको उत्खनन् गर्ने सहमति भएको थियो ।

सोही सहमति अनुसार चाइना जियोलोजिकल सर्भेका ६ जना बिशेषज्ञले अप्रिल ३० तारिखदेखि एक महिना लगाएर सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रका तीन वटा पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो । पेट्रोलियम खानीहरुको अध्ययन गरेर मे २६ तारिखमा चीन फर्किएको टोलीले अझै आफ्नो ल्याब रिपोर्ट नेपाललाई बुझाएको छैन् । ‘एक महिनामा ल्याब रिपोर्ट पठाउँछौं भनेर चीन फर्किएको टोलीले अझै रिपोर्ट पठाएको छैन’, खानी तथा भुगर्भ बिभागको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले विकासन्युजसँग भने ।

बिचमा नेपालले ल्याब रिपोर्ट मागेर चिनलाई पत्र समेत पठाएको थियो । सो पत्रको जवाफमा चीनले ल्याब रिपोर्टको तयारी अन्तिम चरणमा पुगेको जानकारी पठाएको थियो । तर त्यसपछि नेपाली र चिनियाँ पक्षका बिचमा कुनै संवाद नै भएको छैन् । ‘ल्याब रिपोर्ट अन्तिम चरणमा पुगेको जानकारी आएको थियो तर त्यसपछि थप विवरण वा खबर पठाएको छैन’, रजौरेले भने ।
petroleum
चिनियाँ टोलीले तीन क्षेत्रको श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेको थियो । उनीहरुले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना पनि चीन लगेका थिए । पुर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले करिब चार अर्बको लागतमा नेपालका पेट्रोलियम खानीहरुको विस्तृत अध्ययन गर्न चीन सरकारले तत्परता देखाएको बताए ।

‘हामीसँग कुरा हुँदा विस्तृत अध्ययनका लागि करिब चार अर्ब लागत आवश्यक पर्ने चिनियाँ टोलीले बताएको थियो, सो रकम समेत व्यहोर्न चीन सरकार पनि तयार थियो’, पुर्व मन्त्री पाण्डेले भने । चिनियाँ टोलीले तीन वटा क्षेत्रको अन्वेषणपछि उत्साहजनक प्रतिक्रिया दिएको पनि उनले बताए । ‘चिनियाँ प्राबिधिकको टोलीसँगै म पनि पेट्रोलियम खानीहरुको अन्वेषणमा गएको थिएँ, भौगोलिक अवस्था र पुराना तथ्यहरुको अध्ययन गरेपछि चिनियाँ टोलीले उत्साह प्रकट गरेको थियो’, पुर्व मन्त्री पाण्डेले भने ।

सरकार परिवर्तनको प्रभाव ?
ग्लोबल टाइम्समा लु सियाङ नामका एक चिनियाँ विज्ञले नयाँ सरकार गठनसँगै चीन र नेपालको सम्बन्धमा चिसोपन आएको दावी सहितको लेख प्रकाशित गरेका थिए । ओली सरकारले चीनसँग गरेको महत्वपुर्ण सम्झौताहरुको कार्यान्वयन रोक्न नयाँ सरकार उद्यत रहेको आरोप समेत लगाएका थिए । नयाँ सरकारकै कारण पेट्रोलियम खानीहरुको उत्खनन प्रक्रिया रोकिएको भन्ने आधार नभएपनि प्रक्रिया अघि बढाउन भने कुनै चासो देखाएको छैन् ।

कसरी हुन्छ उत्खनन ?
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको थियो ।

उत्खनन गर्दा पनि सोही सम्झौताका आधारमा दुई मुलुकबिच संयुक्त कम्पनी वा प्रोजेक्टको स्थापना हुने भनिएको थियो । उत्खननपछि प्राप्त पेट्रोलियम पदार्थको केहि प्रतिशत चीनियाँ कम्पनीले पाउने र केहि नेपाल सरकारले पाउने व्यवस्थाबारे तयारी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.