दाङ–नयाँदिल्ली बस सञ्चालन हुँदै, भाडा दुई हजार रुपैयाँ मात्र

  २०७३ भदौ ८ गते ७:५३     विकासन्युज

busदाङ, ८ भदौ । राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रिय स्तरमा बस सेवा सञ्चालन गर्ने भएको छ । समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गर्न थालेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिएका छन् ।

उनका अनुसार पहिलोपटक भदौ १३ गतेबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि दिउँसो ११ः ३० बजे बस सञ्चालन हुनेछ । त्यसैगरी दैनिक सोमबार, बुधबार, शुक्रबार नेपालबाट भारतको दिल्लीका लागि बस छुट्ने र भारतको दिल्लीबाट आइतबार, बुधबार र शुक्रबार बस छुट्ने समितिले जनाएको छ । यात्रुको बढ्दो मागसँगै नेपाल–भारत आवातजावत गर्ने यात्रुलाई सहजरुपमा सुरक्षित र भरपर्दो सेवा दिन समितिले बस सेवा सुरु गर्न थालेको हमालले बताए ।

दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि नेपाली दुई हजार रुपैयाँ भाडा तोकिएको समितिले जनाएको छ । पहिलोपटक एउटा बसबाट सेवा आरम्भ गरे पनि यात्रुको मागअनुसार सेवा थप गरिने समितिका अध्यक्ष हमालले जानकारी दिएका छन् ।

विसं २०४१ देखि चारवटा बसबाट सेवा आरम्भ गरेको राप्ती समितिले राप्ती अञ्चलका दुरदराजका गाउँबस्तीदेखि हाल पूर्वी नेपालको काँकडभिट्टा, विराटनगर, पोखरा, पाल्पा हुँदै सुदूरपश्चिमको महेन्द्रनगरसम्म बस सेवा सञ्चालन गर्दै आएको छ । समितिमा हाल लामो तथा छोटो दूरीका गरी करिब ७०० बस सञ्चालनमा रहेको समितिका प्रकाश भट्टले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.