पोर्चुगलले पहिलोपटक युरोकप उपाधि जित्यो

  २०७३ असार २७ गते ६:५७     विकासन्युज

काठमाडौँ, २७ असार । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरोकप) को उपाधि जितेको छ ।

पेरिसस्थित फ्रान्सको राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न फाइनल खेलमा पोर्चुगलका एडेरले १०९ मिनेटमा गोल गरे । अन्ततः त्यही एक मात्र गोल नै निर्णायक बन्यो । यसअघि आफ्ना कप्तान क्रिष्टियानो रोनाल्डोलाई चोटका कारण खेलको २५ औँ मिनेटमा गुमाएपछि पोर्चुगल केही दबाबमा आएको थियो । तर अतिरिक्त खेलाडीको रुपमा मैदानमा आएका एडेरले त्यो अभाव खड्किन दिएनन्, र गोल गर्दै आफ्नो टोलीलाई जिताए ।

निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेल अवधिभर दुवै टोलीमा खेलाडीले केही गोलका प्रयास गरे पनि सफल भने भएनन् । त्यसमा पनि घरेलु टोली फ्रान्सले बनाएका केही सुन्दर मौकालाई पोर्चुगाली गोलकिपर रुइ पेट्रिसियोले सफल हुन दिएनन् ।

प्रतियोगितामा पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिती तेस्रो स्थानमा रहेको उत्कृष्ट टोलीका रुपमा नकआउट चरणमा पुगेको थियो । त्यसपछि सुधार गरेको उसले पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जितेको छ ।

यसअघि सन् २००४ मा घरमै भएको प्रतियोगितामा पोर्चुगलले ग्रिसलाई नतिजा सुम्पिएको थियो । त्यस्तै पोर्चुगल विश्वकपमा सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.