२.२६ मिनेटको अन्तरले जिते सञ्जयले लेखनाथ हाफ म्याराथन

  २०८१ वैशाख १ गते २१:२४     विकासन्युज

काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ । दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जितेका छन् ।

श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए । यसैगरी सशस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो भएका छन् । उनले १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरे । उपविजेता बोगटीले नगद ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

पहिलो संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले १ घण्टा ९ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तेस्रो भए । उनले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सशस्त्रका खिमबहादुर खत्रीले १ घण्टा ९ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्काले १ घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए । उनीहरूले क्रमशः १० हजार, ५ हजार रुपैयाँ पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए ।

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गरेका चेतनाथ चालिसे पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३४ मिनेटमा पूरा गरेका गरे । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले उपाधिसहित १० हजार रुपैयाँ पुरस्कार पाए ।

यस्तै १० किमी खुला राष्ट्रिय पुरूष दौडमा नेपाली सेनाका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बने । गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो र सोही कलेजका दिनेश बोगटी चौथो र एपिएफका राजेन्द्र तामाङ पाँचौँ बने ।

यसैगरी १० किमी महिला दौडमा सेनाका पूर्णलक्ष्मी न्यौपाने पहिलो, नेपाल पुलिसका राममाया बुढा दोस्रो र सेनाका सृजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपिएफका पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौँ भइन् ।

महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पाएका छन् । तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

यसैगरी भेट्रान्स ५ किमी दौडमा काठमाडौंका धर्म महर्जन पहिलो, धादिङका रैवतबहादुर दाहाल दोस्रो र पोखराका विश्वलाल श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए । विद्यालय छात्रतर्फ ५ किमी दौडमा कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की पहिलो, कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो र भद्रकाली माविका गङ्गा गुरूङ तेस्रो भए ।

छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक पहिलो, कालिका माविकी स्वीकृति कार्की दोस्रो, छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो भएको आयोजकले जनाएको छ । विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीयले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ६ विधामा गरेर ४ सयभन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.