सेयर बजार उच्च विन्दुमा, धितोपत्र बोर्ड भन्छ-लगानीकर्ता होसियार !

  २०७२ फागुन ३० गते ११:३६     विकासन्युज

काठमाडौं, ३० फागुन । सेयर बजारको मूल्य मापक नेप्से विहीबार ११.४९ अंकले बढेर १३१८ पुगेको छ । यो अहिलेसम्मकै उच्चतम विन्दु हो । विहीबारको सूचकका आधारमा नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुको सेयर विक्री योग्य मूल्य १४ खर्ब १९ अर्ब ९९ करोड रुपैयाँ हो । यो रकम नेपाली कुल ग्राहस्थ्य उत्पादन (जीडीपी)को करिव ७१ प्रतिशत हो ।

bullish

सोही दिने नेपाल धितोपत्र बोर्डले सर्वसाधारण सेयर लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरेको छ । बोर्डले अर्थतन्त्रका आधारभूत परिसूचकको अवस्था सन्तोषजनक नभएको अवस्थामा सेयरमा सजगतापूर्वक लगानी गर्न आग्रह गरेको छ ।

गत असारयता पुँजी बजार बढ्दो क्रममा रहेको भन्दै बोर्डले अर्थतन्त्र कमजोर हुँदा नेप्सेमात्रै उकालो लागेको भन्दै सचेत भएर लगानी गर्न आग्रह गरेको हो । नेप्से परिसूचक देशको अर्थतन्त्रको ऐनको रुपमा रहने भएकाले अर्थतन्त्र कमजोर भएको बेला सजग हुन पनि भनेको छ । बोर्डले बजारमा फैलन सक्ने हल्लाको पछाडि नलाग्न पनि आग्रह गरेको छ । बोर्डले विहिवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

‘धितोपत्र लगानीकर्ताले धितोपत्र खरीद बिक्री सम्बन्धि निर्णय गर्दा समग्र अर्थतन्त्र, सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्था तथा बजार सुधारका काम काबाहीहरुकोसमेत अध्ययन गरेर मात्र सुझबुझपूर्ण तबरले निर्णय लिइ लगानी गर्नुपर्नेतर्फ सचेत रहन लगानीकर्तालाई अनुरोध गर्दछ,’ बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विकास अवस्थाको आधारमा विकसित देशका पूँजी बजारहरुको तुलनामा नेपालको पूँजी बजार अत्यान्त पछाडि रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की बताउँछन् । तर बजारमा सेयरको माग र मूल्यवृद्धि उच्च छ । बजार परिपक्व नभएको र साना लगानीकर्ता डुब्ने जोखिम भएकोले लगानीकर्तालाई सजग गराउनु परेको उनी बताउँछन् ।

बोर्डको सचेनता मुलक सूचनालाई ठूला लगानीकर्ताले भने रुचाएका छैनन् । बजार घट्दा सरकारले सुधारको प्रयास गर्ने हो, बजारमा लगानीकर्ताले लाभ लिइरहेको समयमा सरकारी निकायको हस्तक्षेप राम्रो होइन, यस्तो विज्ञप्ती अरु देशमा जारी गर्दैनन्’ एक जना लगानीकर्ताले भने ‘पहिला पनि यस्तो विज्ञप्ती जारी गर्दा गर्दै बजार घट्यो, फेरी घट्ने जोखिम बढ्यो ।’

सार्वजनिक विदाका कारण तीनदिन बन्द भएर खुलेको विहीबारको शेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बीमा र लघुवित्त कम्पनीहरुले बजार बढाएपछि नेप्से परिसुचक ११ दशमलब ४९ अंकले बढेर १ हजार ३ सय १८ अंकमा पुगेको छ । सो दिन २ दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढे पनि बजारमा धेरै हिस्सा ओगटेका टेलिकम लगायत कृषि विकास बैंक बाहेक अन्य वाणिज्य बैंकमा भने खासै उत्साह भने देखिएको छैन ।

विहीबार १ सय २६ कम्पनीको ९७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । वित्त र अन्य समूह बाहेक सबै समूह उल्लेखनीय वृद्धि भएको बजारमा कारोबार रकममा समेत उल्लेखीय रुपमा बढेको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम झण्डै २० करोड रुपैयाँले बढेको हो ।

यस दिन बीमा समूहमा कम्पनीको मूल्य निकै बढेको छ भने धेरै कमाउनेको सूचीमा पनि विमा कम्पनी धेरै देखिएका छन् । विहिबारको बजारमा एकदर्जन वीमा कम्पनीको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । जलविद्युत, विकास बैंक, होटल र वाणिज्य बैंक समूह पनि बढेको छ ।

सुचिकृत मध्ये २६ कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढ्दा तीमध्ये १२ वटा वीमा कम्पनी रहेका छन् । वीमा समूहको सूचक मात्रै १ सय ८६ अंकले बढेको छ भने यो समूहको मात्रै ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको समेत चुक्तापँजी बढाउने तयारी गरेको छ । यसैकारण लगानीकर्ताहरुको ओईरो लघुवित्त कम्पनीमा लागेपछि सेयर मूल्य र कारोबार रकम बढेको हो । त्यस्तै वाणिज्य बैंक समूहले २३ करोडको कारोबार गर्दा लघुवित्त समावेश विकास बैंक समुहको पनि २१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

पछिल्लो समयमा बीमा समूह र लघुवित्त समूहको सेयर मूल्य ह्वात्तै बढेको छ । यो समूहका कम्पनीको सेयर माग पनि अधिक छ । गत साताको अन्तिम कारोवार भएको दिन विहीबार बजारमा अत्याधिक सेयर माग हुने ५ कम्पनीमा सबै लघुवित्त संस्था रहेका छन् । सो दिन एउटा लघुवित्त संस्थाको १५ हजार कित्तासम्म सेयर माग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.