इन्भेष्टमेन्ट बैंकको एफपिओ बीमा कम्पनीले किन्न नपाउने, सर्वसाधारणलाई फाइदा

  २०७२ फागुन १२ गते १३:०५     विकासन्युज

काठमाडौं, १२ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले बिक्री खुल्ला गरिरहेको थप साधारण सेयर (एफपिओ)मा ठूला लगानीकर्ता विषेश गरेर बीमा कम्पनीहरुले सेयर खरिद गर्न नपाउने भएका छन् । धितोपत्र निष्कासन निर्देशिका २०६५ ले संस्थापक सेयरधनीले साधारण सेयर खरिद गर्न प्रतिवन्द गरेको कारण संस्थापक सेयर भएका कम्पनी तथा ब्यक्तिले एफपिओ किन्न नपाउने भएका हुन् ।

धितोपत्र निष्कासन निर्देशिका २०६५ को ब्यवस्था

धितोपत्र निष्कासन निर्देशिका २०६५ को ब्यवस्था

गत बर्ष राष्ट्रिय बाणिज्य बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर विक्री गरेको थियो । यस्तो सेयर अधिकांश बीमा कम्पनीले खरिद गरेका थिए । एउटा बैंक तथा वित्तीय संस्थाले अर्काे बैंक वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्न नपाइने ब्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा छ । सोही ब्यवस्थाको कारण बैंक वित्तीय संस्थाले सेयर खरिद गर्न नपाएपछि अधिकांश बीमा कम्पनीहरुले सेयर खरिद गरेका नबिल इन्भेष्टमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले जानकारी दिए ।

‘राष्ट्रय बाणिज्य बैंकले इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर विक्री गर्दा अधिकांश बीमा कम्पनीले खरिद गरेका हुन सक्छन्, अन्य संस्थागत लगानीकर्ताले सेयर खरिद गर्न नपाउने भएपछि बीमा कम्पनीले खरिद गरेका थिए, अहिले पनि त्यस्तो सेयर उनीहरुसँगै भए अहिले इन्भेष्टमेन्ट बैंकको एफपिओमा लगानी गर्न नपाउने भएका छन्,’ पराजुलीले भने ।

अहिले बैंक वित्तीय संस्थाको सेयरमा लगानी गर्ने संस्थागत र ठूला लगानीकर्ता भनेकै बीमा कम्पनीहरु हुन् । कानुनी अप्ठेरोको कारण इन्भेष्टमेन्ट बैंकको एफपिओमा बैंक वित्तीय संस्थाले लगानी गर्न नपाउने भएपछि त्यस्तो सेयर ब्यक्तिगत लगानीकर्ताले मात्रै खरिद गर्नुपर्ने भएको छ ।

बैंकले प्रतिकित्ता ६०१ रुपैयाँ तोकेर ९० लाख ६९ हजार ३८८ कित्ता नयाँ साधारण सेयर निष्काशन गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयरमा प्रतिकित्ता ५०१ रुपैयाँ प्रिमियम जोडेर उक्त सेयर निष्काशन गरेको हो ।

नयाँ सेयरको लागि फागुन ११ गतेबाट आवेदन खुला गरिएको छ । छिटोमा १४ गते र ढिलोमा २८ गते सेयर आवेदन संकलन बन्द हुनेछ । आवेदकले न्यूनतम १० र बढीमा २ लाख कित्ता सेयर आवेदन गर्न पाउने छन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धन नागरिक लगानी कोष रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३४ करोड रुपैयाँ छ । नयाँ सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ हुनेछ । बैंकले आगामी सात वर्षसम्म सेयर पुँजी ७ अर्ब २५ करोड रुपैयाँ मात्र रहने जनाएको छ ।

नयाँ सेयर निष्काशन गर्दा बैंकले ४ अर्ब ५४ करोड ३७ लाख ६३ हजार रुपैयाँ अतिरिक्त आम्दानी गर्ने छ । उक्त रकम बैंकको संचित कोषमा जम्मा हुनेछ । नयाँ सेयर निश्काशन पछि बैंकको जगेडा तथा कोषहरुमा १० अर्ब २० करोड रुपैयाँ हुनेछ । शुन्य लागतको यो रकमले बैंकको नाफा बृद्धिमा योगदान गर्नेछ ।

आगामी पाँच वर्षको वित्तीय विवरण प्रक्षेपण गर्दै बैंकले संचित कोष पाँच वर्षपछि २२ अर्ब २२ करोड रुपैयाँ हुने जनाएको छ । बैंकको घोषणा कार्यान्वन भएमा यस बैंकको सेयर भविष्यमा उच्चदरले बृद्धि हुनेछ ।

तर आगामी पाँच वर्षमा संचित कोष २२ अर्ब २२ करोड रुपैयाँ हुन्छ भन्ने प्रक्षेपणसँगै लगानीकर्ताले भविष्यमा पाउने लाभांशबारे अनिश्चिता बढाएको छ । बैंकले शनिबार सार्वजनिक गरेको आह्वान पत्रमा आगामी पाँच आर्थिक वर्षका वार्षिक कम्तिमा २ अर्ब १९ करोड र बढीमा ३ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा हुने उल्लेख छ । प्रक्षेपण गरिएअनुसार जगेडा तथा कोषहरुमा राख्ने हो भने आगामी पाँच वर्षसम्म बैंकले कमाएको नाफा सबै संचित कोषमा राख्नु पर्नेछ । र, सेयरधनीलाई लाभांश दिन दिइने छैन ।

आर्जित नाफा संचित कोषमा जम्मा गर्दा बैंक बलियो हुन्छ । भविष्यमा बैंकको प्रतिसेयर आम्दानी बढ्दै जान्छ । बैंकले प्रतिसेयर आम्दानी आगामी पाँच वर्षमा ३० रुपैयाँदेखि ४७ रुपैयाँ सम्म हुने बताएको छ । र, बजारमा सेयरको मूल्य वृद्धि हुनेछ । सेयरधनीले बैंकबाट नभई सेयर बजारबाट लाभ लिनेछन् । यस्तो अभ्यास विश्व धेरै कम्पनीले गर्ने गरेका छन् नेपालमा हालसम्म भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.