सरकारले अनिवार्य गरेको बैदेशिक रोजगार बीमामा ठूलो रकम एजेन्टलाई कमिसन, कस्ले खान्छ यस्तो कमिसन ?

  २०७२ फागुन १२ गते ११:०७     विकासन्युज

काठमाडौं, १२ फागुन । बैदेशिक रोजगारीमा जानेले अनिवार्य रुपमा बीमा गराउनै पर्ने भएपनि यस्तो बीमामा ठूलो परिमाणको रकम एजेन्टलाई कमिसनको रुपमा दिने गरिएको छ । सरकारले बैदेशिक रोजगारीमा जानेलाई अनिवार्य रुपमा बीमा गराउनै पर्ने ब्यवस्था यसअघि नै गरिसकेको छ ।

बीमा समितिका निर्देशक श्रीमान कार्कीको संयोजकत्वमा गठिन समितिले गरेको अध्ययनले यस्तो बीमा गराएको भन्दै एजेन्ट कमिसनको रुपमा बर्सेनि ३४ करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको देखाएको छ ।

बैदेशिक रोजगार प्रबद्र्धन बोर्डले बिमितलाई दिने सुविधा कसरी बृद्धि गर्न सकिन्छ भनेर अध्ययन समिति गठन गरेको थियो । सो समितिका सदस्यहरुमा नेपाल राष्ट्र बैंकका निर्देशक बासुदेब अधिकारी र वोर्डका संचालक डा. रमेश कोइराला सदस्य छन् ।

समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाइ सकेको छ । प्रतिवेदनका अनुसार अहिले २० लाख ६० हजार ८ सय ९१ जनाले बैदेशिक रोजगार (म्यादी) बीमा गराएका छन् । यस्तो बीमाबाट ४ अर्ब ७६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । यसमध्ये बीमा कम्पनीहरुले एजेन्ट कमिसनको नाममा ३४ करोड २१ लाख ३२ हजार रुपैयाँ खर्च गरेका छन् । यस्तो परिमाण विगत ३ बर्षको तथ्यांकले देखाएको हो ।

सरकारले अनिवार्य गरेको बीमामा यति धेरै कमिसन कसले खान्छ भन्नेमा अध्ययन समिति पनि अन्योलमा परेको बोर्ड स्रोतले जानकारी दिएको छ । ‘कानुनी रुपमा एजेन्टले नै कमिसन पाए भन्न सकिन्छ, तर बैदेशिक रोजगारीमा जाने ब्यक्तिसम्म एजेन्टको पहुच कम हुन भएकोले एजेन्ट देखाएर अर्कै कसैले यस्तो कमिसन खाइरहेको पनि हुन सक्छ,’ बोर्डका एक अधिकारीले भने ।

एजेन्ट कमिसन म्यानपावर कम्पनीका संचालकले खाने गरेको श्रम मन्त्रालयका अधिकारीको अनुमान छ । ‘एजेन्ट कमिसनको नाममा खर्च भएको रकम म्यानपावर कम्पनीको हातमा पुग्ने देखिन्छ, म्यानपावरका कर्मचारीले बीमा गराउनको लागि बीमा कम्पनीसम्म लैजाने गरेको कारण अरुले त्यस्तो कमिसन पाउन सक्ने सम्भवाना नै हुन्न,’ मन्त्रालयका एक अधिकारीले भने ।

समितिले बोर्डमा बुझाएको प्रतिवेदनमा एजेन्ट कमिसन हटाउन सुझाव दिइएको छ । यस्तो कमिसन हटाएर बीमा शुल्क ४५ प्रतिशत बृद्धि गर्ने हो भने बिमितलाई दिइदै आएको सुविधा दोब्बर गर्न सकिने अध्ययनको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.