ग्यास वितरणमा धादिङ प्रशासनले सहयोग नगरेपछि गृहमन्त्री गुहार्दै बाणिज्य विभाग

  २०७२ पुष ४ गते १५:३२     विकासन्युज

काठमाडौं, ४ पुस । धादिङ जिल्ला प्रशासनको असहयोगको कारण काठमाडौं, पोखरा जस्ता बढी जनघनत्व भएका ठाउमा खाना पकाउने ग्यासको हाहाकार भएको छ । पछिल्लो समयमा भारतवाट केहि मात्रामा ग्यास नेपाल भित्रिएको भएपनि धादिङमा रहेका उद्योगवाट बजारसम्म पुर्याउन कठिन भएको हो ।

धादिङका केही स्थानीयले उद्योग परिसरमा घेराउ दिने र आएको मध्ये अधिकांश ग्यास स्थानीयलाई विक्री वितरण गर्नुपर्ने माग गर्ने गरेका छन् । स्थानीयको अवरोध पछि जिल्ला प्रशासनले वार्ता गर्ने र स्थानीयको अनुमतिमा मात्रै आएको मध्ये १० देखि २० प्रतिशत ग्यास जिल्ला वाहिर लैजान दिने कार्य हुदै आएको छ ।

गत शुक्रवार मात्रै धादिङमै रहेको भानु ग्यास काठमाडौं र पोखरामा विक्री वितरण गर्न लैजाने पहल असफल भएको छ । स्थानीयले सो ग्यासको १ हजार ८ सय सिलिण्डर धादिङमै विक्री गर्नु पर्ने र बाँकी रहेकोवाट ५ सय पोखरा र बाँकी काठमाडौं लैजान दिने बताएका थिए । भानु ग्यासले अहिले २ हजार ४ सय सिलिण्डर ग्यास भरेर विक्री वितरणको लागि तयारी अवस्थामा राखेको छ । स्थानीय प्रशासनले सो ग्यासको १ हजार ८ सय सिलिण्डर धादिङमै दिने र बाँकी अन्य जिल्लामा वितरण गर्न लैजान दिने सहमति स्थानीयसँग गरेको छ ।

बाणिज्य विभागले दिएको जानकारी अनुसार सामान्य अवस्थामा धादिङमा भानु ग्यासको बजार १० प्रतिशत जति मात्रै हो । धादिङमा भनु ग्यासको करिब २ सय सिलिण्डर रहेका छन् । तर अभावको मौका छोपी स्थानीयले अहिले नै १ हजार ८ सय सिलिण्डर पाउनु पर्ने माग गरेका छन् ।

काठमाडौं उपत्यकामा ग्यास विक्री वितरण गर्दै आएका अधिकांश ग्यासको उद्योग धादिङमा रहेको छ । धादिङमा श्रीराम, नमस्ते, गिता, श्रीमाया, तारा, लोकप्रिय, त्रिवेणी, श्रीकृष्ण, भानु, सुगम, सिद्धार्थ, एचपी, एसटिसीको मेट्रो, बाबा र श्री ग्यासका उद्योग छन् । यीमध्ये अधिकांशले काठमाडौंमा ग्यास विक्री वितरण गर्ने गरेका छन् ।

धादिङ प्रशासनले सहयोग नगरेको कारण बजारमा ग्यासको आपूर्ति केहि सहज बनाउन सकिने भएपनि समस्या उत्पन्न भएको निष्कर्ष बाणिज्य विभागले निकालेको छ । धादिङ जिल्लाभरीमा सामान्य अवस्थामा पनि १० हजारदेखि १५ हजार जति सिलिण्डर भएपनि अहिले ठूलो मात्रामा ग्यास धादिङमै रोकिने गरेको र यसले वितरण प्रणालीमै समस्या पैदा गरेको बिभागको ठहर छ ।

‘सामान्य अवस्थाको भन्दा धेरै गुणाबढी ग्यास धादिङमा विक्री वितरण भैसकेको छ, अझै पनि आएकोमध्ये अधिकांश हिस्सा आफूहरुले पाउनु पर्ने र आफूहरुको तजविजमा मात्रै अन्य जिल्लामा लैजानु पर्ने भन्ने स्थानीयको दबाबको कारण काठमाडौंका उपभोक्ताले धेरै सास्ती खेप्नु परिरहेको छ,’ विभागका प्रवक्ता हरिनारायण बेलवासेले भने । केही स्थानीयले अवरोध सिर्जना गरेपनि काठमाडौं जस्ता बढी जनघनत्व भएका शहरमा ग्यास पठाउनको लागि स्थानीय प्रशासनले सहयोग नगरेको बिभागको ठहर छ ।

धादिङमा मात्रै होइन, काठमाडौंमै पनि ग्यास विक्री वितरणमा स्थानीय प्रशासनले सहयोग नगरेको बाणिज्य विभागको ठहर छ । ललितपूरमा रहेको एभरेष्ट ग्यास उद्योगमा बजारमा पठाउनको लागि सिलिण्डर भरेर राखिएको भएपनि केही स्थानीयको अवरोधको कारण समस्या उत्पन्न भएको विभागको भनाइ छ । स्थानीयको नाममा हुने यस्तो अवरोधपछि प्राप्त हुने ग्यास कालोवजारीमा प्रयोग हुने गरेको अधिकारीहरुको भनाइ छ ।

ग्यास विक्री वितरणमा स्थानीय प्रशासनले सहयोग नगरेपछि विभागका अधिकारीले गृहमन्त्रीलाई भेटेर सहयोग गर्न अनुरोध गर्ने भएका छन् । विभागका महानिर्देशक शम्भु कोइरालाले आइतवार ३ बजे गृहमन्त्रीलाई भेटेर ग्यास वितरणमा स्थानीय प्रशासनको सहयोग मिल्ने वातावरण बनाइ दिन अनुरोध गर्ने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.