भारतमा उपभोग्य बस्तु नेपालमा भन्दा ३.३ प्रतिशत सस्तो

  २०७२ मंसिर ८ गते ११:१०     विकासन्युज

काठमाडौं, ८ मंसिर । भारतको अघोषित नाकाबन्दीले समग्र अर्थतन्त्र नै संकटमा पर्न लागेको समयमा अर्काे तथ्य वाहिर आएको छ । सो तथ्य अनुसार भारतीय नागरिकले भन्दा नेपालीले ३ दशमलब ३ प्रतिशत बढी महंगो बस्तु तथा सेवा प्रयोग गर्नु परेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । गत असोज महिनामा नेपालमा मूल्य बृद्धि ८ दशलमब ३ प्रतिशत र भारतमा मूल्य बृद्धि ५ प्रतिशत रहेको छ । राष्ट्र बैंकले असोज महिनादेखि मात्रै नेपाल र भारतको मूल्य बृद्धिको तुलनात्मक विवरण प्रकाशित गर्न लागेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मूल्यबृद्धिदर क्रमशः ७ दशमलब ५ प्रतिशत र ५ दशमलब ५ प्रतिशत थियो । सो समयमा दुई देशविचको मूल्यबृद्धि अन्तर २ प्रतिशत थियो ।

गत बैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभाव र हालै भारतले नेपाल माथि लगाएको अघोषित आर्थिक नाकाबन्दीको कारण नेपाल र भारत बीच मूल्यबृद्धि दरको अन्तरमा वृद्धि हुन गएको हो ।

नेपालमा गत असोज महिनाको मूल्यबृद्धिदर ८ दशमलब ३ प्रतिशत रहेको छ । गत बर्षको सोही अवधिमा यस्तो मूल्यबृद्धिदर ७ दशमलब ५ प्रतिशत थियो । यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ९ दशमलब ४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ७ दशमलब ५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मूल्य क्रमशः १० दशमलब ६ प्रतिशत र ४ दशलमब ९ प्रतिशतले वृद्धि भएका थिए । बन्द हडताल र भारतको अघोषित नाकाबन्दीका कारण देशभित्र अत्यावश्यक वस्तुहरुको आपूर्तिमा कमी आई बजारमा पर्याप्त मात्रामा वस्तुहरु उपलब्ध हुन नसकेकोले मूल्यमा चाप पर्न गएको छ ।

यो अवधिमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा ९ दशमलब १ प्रतिशतले मूल्य वृद्धि भएको छ भने पहाडमा ८ दशमलब ८ प्रतिशत, तराईमा ७ दशमलब ७ प्रतिशत र हिमालमा ७ दशमलब २ प्रतिशतले मूल्य वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता मूल्य सूचकाङ्कहरुको वृद्धिदर काठमाडौं उपत्यकामा ७ दशमलब ७ प्रतिशत, पहाड र तराई दुबैमा ७ दशलमब४ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.