लगानी बोर्डसँग वार्ता गर्न करोडौं बझाउनु पर्ने, तीन आयोजनाले ३० करोड तिर्नुपर्ने, दुई कम्पनीलाई २७ करोड राहात

  २०७१ चैत ३० गते २०:५३     विकासन्युज

३० चैत । लगानी बोर्डले आफूसँग वार्ता गर्ने कम्पनीले वार्ता शुल्क नै करोडौ रुपैयाँ तिनु पर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको बैठकले वार्ता गर्न शुल्क पनि तोकेको छ । बोर्ड अन्तर्गत कार्यान्वयन हुने जलविद्युत आयोजनाका परियोजना विकास सम्झौता (पीडीए) गर्ने क्रममा बोर्डले वार्ता गर्ने कम्पनीसँग वार्ता शुल्कबाफत प्रति मेगावाट एक हजार पाँच सय अमेरिकी डलर  लिने निर्णय गरेको छ ।

रामकृष्ण पौडेल/काठमाडौं

यो निर्णयसँगै बोर्डले निकट भविष्यमा तीन वटा जलविद्युत आयोजनाबाट ३० करोड रुपैयाँ आम्दानी गर्ने भएको छ ।

सोमबार नै लगानी बोर्डले ७५० मेघावाट जलविद्युत उत्पादन क्षमताको यो आयोजना निर्माणलाई दुर्त गतिमा निर्माण अगाडि बढाउने निर्णय गरेको हो । यस परियोजनाले लगानी बोर्डसँग पीडीए वार्ता गर्न वार्ता शुल्क मात्र ११ करोड २५ रुपैयाँ तिर्नुपर्ने छ ।

पीडीएको तयारीको क्रममा रहेको अन्य दुई कम्पनीसँग मात्र बोर्डले बार्ता शुल्क मात्र १८ करोड ७५ लाख रुपैयाँ लिने भएको छ । बोर्डले ६५० मेगावाट क्षमताको तामाकोशी ३ र ६०० मेगावाट क्षमताको अपर मस्र्याङदी २ मा परियोजनाको पीडीए गर्दैछ ।

यही निर्णय ढिला गर्दा लगानी बोर्डले दुई कम्पनीसँग २७ करोड रुपैयाँ गुमाएको छ । यसअघि पीडीए गरेका अपर कर्णाली र अरुण तेस्रोसँग बोर्डले यस्तो शुल्क लिएको थिएन । दुबै आयोजना ९/९ सय मेगावाट क्षमता जलविद्युत कम्पनी हुन् । सोमबार गरेको निर्णय यी दुई कम्पनीसँग पीडीए हुनुपूर्व भएको थियो भने लगानी बोर्डले पीडीए वार्ता शुल्कबाट मात्र कम्तिमा २७ करोड रुपैयाँ आम्दानी गर्ने थियो ।

‘सब मिलोमत्तो हो, भारतीय कम्पनीसँग वार्ता गर्ने बेलामा शुल्क थिएन, चिनियाँ कम्पनीसँग वार्ता गर्ने बेलामा वार्ता शुल्क राखियो’ एक जना विश्लेषकले बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले केही समयअघि विकासन्युजसँगको अन्तरवार्तामा पीडीए मोडल तयार भएकोले अन्य आयोजनासँग पीडीए गर्दा धेरै हदसम्म कपी पेष्ट मात्र हुने बताएका थिए ।

पीडीए क्रममा वार्ता गर्दा विज्ञहरुलाई करारमा लिनु पर्ने र उनीहरुलाई तिर्नु पर्ने शुल्क महँगो हुने भएकाले आम्दानीको जोहो गर्नु परेको बोर्डका एक अधिकारीले बताए । तर पीडीए वार्ता गर्ने टोलीमा सरकारी अधिकारीहरु मात्र राखिएको छ ।

उक्त टोलीमा लगानी बोर्डका कार्यकारी प्रमुख संयोजक, अर्थ, उर्जा, कानुन तथा न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका सहसचिवहरु, विद्युत विकास विभागका महानिर्देशक, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सहित ७ जना तोकिएको छ ।

सरकारको कोषबाट तलव सुविधा उपयोग गरिसरहेका कुनै पनि सरकारी निकायका अधिकारीहरुलाई कुनै पनि सरकारी समितिमा प्रतिनिधित्व गर्दा अतिरिक्त भत्ता दिन नहुने सुझाव उच्चस्तरीय प्रशासन सुधार आयोगले सरकारलाई केही महिना अघिमात्र दिएको थियो । पूर्व सचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा गठिन प्रशासन सुधार आयोगले दिएको सुझाव अक्षरस पालना गर्ने प्रतिवद्धता प्रधानमन्त्री सुशील कोइरालाले व्यक्त गरेका थिए । तर उनकै अध्यक्षतामा बसेको बोर्डको बैठकले सरकारी अधिकारीहरु रहेको बार्ता टोलीसँग वार्ता गर्न ‘वार्ता शुल्क दर तोकेर’ डलरमा खाने निर्णय गरेको छ ।

सीडब्लुई इन्भेष्टमेन्ट कर्पोरेशन

सोमबारको बैडकले पश्चिम सेती जलविद्युत आयोजनामा लगानी गर्न चिनियाँ कम्पनी सीडब्लुई इन्भेष्टमेन्ट कर्पोरेशनलाई अनुमति दिएको छ । यस परियोजनाको अनुमानित लागत एक खर्ब साठी अर्ब रुपैयाँ रहेको छ ।
यस आयोजना निर्माणका लागि सीडब्लुई इन्भेष्टमेन्ट कर्पोरेशन र नेपाल विद्युत प्राधिकरणको स्वामित्व रहने गरी नेपालमा संयुक्त कम्पनी स्थापना गर्न बोर्डले निर्देशन पनि दिएको छ । साथै, वर्षायाम शरु हुनु अगाबै आयोजना स्थलमा भौगर्भिक लगायत अध्ययन गर्न सीडब्लुई इन्भेष्टमेन्ट कर्पोरेशनलाई अनुमति दिने निर्णय गरेको बोर्डद्धारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।

बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राख्दै अविलम्ब काम अगाडि बढाउन संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा एक समिति गठन गरेको छ । उक्त समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, संस्कृति तथा पर्यटन, अर्थ र कानुन मन्त्रालयका सचिवहरु, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा लगानी बोर्डको कार्यलयका सहसचिव सदस्य रहने उच्चस्तरीय समन्वय तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्वन्धमा दुबै आयोजनालाई प्रभावकारी ढंगले कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरी–गराई प्राप्त प्रतिवेदनका आधारमा थप कार्य अगाडि बढाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.