अझ कमजोर बन्दै सार्क

  २०७१ मंसिर ११ गते ११:३१     विकासन्युज

विकास न्युज/काठमाडौं
११ मंसिर । क्षेत्रीय विकास, सद्भाव र सम्बृद्धि लागि सामुहिक प्रयास गर्ने उद्देश्यले स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) गतिहिन अवस्थामा पुगेको छ । सार्कका दुई ठुला सदस्य राष्ट्र भारत र पाकिस्तानविचको तिक्ततापूर्ण सम्बन्धले सार्कको औचित्यमाथि नै प्रश्न उठाएको छ ।
काठमाडौंमा जारी १८ औं सार्क शिखर सम्मेलनमा रेलमार्ग, मोटरमार्ग र उर्जा ब्यापार सम्बन्धि सम्झौता गर्ने तयारी गरिएको थियो । तर उर्जा ब्यापार बाहेकका प्रश्तावमा पाकिस्तानले असहमति जनाएपछि तीन ओटै विषयमा सहमति हुने सम्भावना लगभग टरेको अधिकारीहरुले बताएका छन् ।
१८ औं सार्क शिखर सम्मेलनको घोषणापत्रको मस्यौदालाई विहिवार अपरान्ह धुलिखेल रिट्रिटमा अन्तिम रुप दिने भनिएको छ । आज धुलिखेलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफविच कुराकानी हुन सक्यो भने थाती रहन लागेका तीनवटै विषयमा केहि प्रगति हुन सक्नेछ । काभ्रेको धुलिखेलमा पनि मोदी र सरिफविच कुराकानी हुन सकेन भने १८ औं सार्क शिखर सम्मेलन उनीहरुको एकआपसमा तिक्ततापूर्ण प्रतिक्रिया वाहेक सम्झन लायक अन्य कुनै विषय हुने छैन ।
भारत–पाकिस्तान सम्बन्धकै कारण सार्क केहि पनि गर्न नसक्ने गरी थला परेको अर्थशास्त्री प्रा.डा. मदन कुमार दाहालको भनाइ छ । श्रीलंका सरकारको आर्थिक सल्लाहकार तथा संयुक्त राष्ट्र संघको विभिन्न अनुसन्धान कार्यमा संलग्न दाहाल सार्क अहिले सास फेर्न सक्ने तर हलचल गर्न नसक्ने अवस्थामा पुगेको बताउछन् ।
‘सार्क मरिसकेको छैन, तर हलचल गर्न सक्ने अवस्थामा पनि छैन,’ दाहालले भने–भारत– पाकिस्तान चिसो झन बढेको सार्क सम्मेलन स्थलमै प्रष्ट देखियो । यी दुई देशविचको तनावपूर्ण सम्बन्धले १८ औं सार्क सम्मेलन ‘रमाइलो गर्ने ठाउ’ जस्तै भएको उनको भनाइ छ । सार्कमा निकै राम्रा र अत्यावश्यक प्रश्तावहरु पारित भएपनि कार्यान्वयन हुनै नसकेको उनको भनाइ छ । ‘यो सम्मेलन मात्रै होइन, यसअघिका सवै सम्मेलनमा निकै कर्णप्रिय प्रश्ताव पास भएका छन्’– दाहालले भने– कार्यान्वयनको अवस्था हेर्ने हो भने निकै दयनीय छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझा सार्क मुलकभित्र क्षेत्रीयभन्दा पनि द्धीपक्षीय सम्बन्धलाई बढी जोड दिएका कारण सार्क प्रभावकारी हुन नसकेको बताउछन् । ‘हामीले भारतसँग जुन सुविधा पाइरहेका छौं त्यो सार्क अन्तरगत नभै द्धिपक्षीय सम्बन्धले पाएको हो’– ओझाले भने– त्यहि सुविधा सार्क सदस्य राष्ट्रमा सवैले पाउने घोषणा भएको दशक वितिसकेको छ । उनले पनि भारत– पाकिस्तानविचको असहज सम्बन्धको कारण नै सार्क गतिशिल हुन नसकेको बताए ।
दक्षिण एशियाली क्षेत्रको सवैभन्दा ठूलो समस्या नै गरिबी, बेरोजगारी, पूर्वाधारको अभाव र आतंकवाद नै हो । यी विषयमा सार्क सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सामुहिक प्रयासको प्रतिवद्धता पनि जनाएका छन् । तर कार्यान्वयनको लागि प्रभावकारी एकता देखिएको छैन ।
कस्तो छ त दक्षिण एशियाको अवस्था ?
संयुक्त राष्ट्र संघले सन् २०१३ सम्मको तथ्यांकलाई आधार मानेर सार्वजनिक गरेको गरिबीको बहुआयामिक मापन अनुसार दक्षिण एशियाली देशका नागरिक गरिबी, अभाव र समस्याको चपेटामा भएको देखाएको छ ।saarc_poverty_index
गरिबीको बहुआयामिक मापनमा स्वास्थको पहुच, विद्यालय जान लाग्ने समय र पठन पाठन गराउने भौतिक सुविधा र वातावरण, वासस्थानको अवस्था, आम्दानीको असमानताकोस्तर, जातिय, धार्मिक र लैैगिक आधारमा हुने विभेद, काम गर्नुपर्ने क्षेत्र र स्थानको सुरक्षाको अवस्था, शान्ति सुब्यवस्था जस्ता विषयलाई आधार मान्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.