डीजीओ एपमा फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ ५४९ रुपैयाँमै
काठमाडौं । फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) ले दर्शकका लागि अफर सार्वजनिक गरेको छ । डीजीओले अब मोबाइल प्रयोगकर्ताका लागि मात्र ५४९ रुपैयाँमा ‘मोबाइल पास’ उपलब्ध गराउने घोषणा गरेको हो । उक्त पासमार्फत दर्शकहरूले विश्वकपका सबै १०४ खेलहरू आफ्नै मोबाइलमा प्रत्यक्ष हेर्न सक्नेछन् । कम्पनीका अनुसार दर्शकहरूले नेपाली कमेन्टरीसहित १०८० पी फुल एचडी क्वालिटीमा खेलहरूको मजा लिन सक्नेछन् । साथै, आवश्यकता अनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्ने सुविधा पनि उपलब्ध रहनेछ । डीजीओ एपमार्फत सहज रूपमा खरिद गर्न मिल्ने यो पासले दर्शकलाई झन्झटमुक्त अनुभव दिने कम्पनीको दाबी छ । केही क्लिकमै पास सक्रिय गर्न सकिने र सुरक्षित रूपमा आधिकारिक प्लेटफर्मबाटै सेवा लिन सकिने जनाइएको छ । डीजीओका प्रवक्ताका अनुसार नेपाली दर्शकलाई गुणस्तरीय र विश्वसनीय स्ट्रिमिङ अनुभव प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो । 'दर्शकहरूले कुनै शंकास्पद लिंक वा तेस्रो पक्षको भर नपरी आधिकारिक माध्यमबाट सुरक्षित रूपमा विश्वकप हेर्न सकून् भन्ने हाम्रो चाहना हो,' उनले भने । यसैबीच, कम्पनीले अनलाइनमा देखिने ‘फ्री स्ट्रिमिङ’ वा अनधिकृत एपहरूप्रति सचेत रहन आग्रह गरेको छ । यस्ता प्लेटफर्महरूले प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ जानकारीमा जोखिम निम्त्याउन सक्ने भन्दै आधिकारिक डीजीओ एप प्रयोग गर्न सुझाइएको छ । डीजीओले यो अफरमार्फत नेपालका फुटबल प्रेमीलाई सहज, सुरक्षित र किफायती रूपमा विश्वकपको रोमाञ्चक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।
यूपीआई–एनपीआई इन्टिग्रेसन : अब नेपाल र भारतबीच तुरुन्तै पैसा पठाउन सकिने
काठमाडौं । एनपीसीआई इन्टरनेशनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच सहकार्यमा नेपाल र भारतबीच रियल टाइम क्रसबोर्डर रेमिट्यान्स सेवा सुरु गरिएको छ । भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गर्दै सुरु गरिएको यस सेवामार्फत अब दुई देशबीचको डिजिटल भुक्तानी छिटो, सुरक्षित र कम लागतमा गर्न सकिने भएको छ । यस नयाँ प्रणालीअनुसार भारतमा रहेका भारतीय तथा नेपाली प्रयोगकर्ता र नेपालमा रहेका भारतीय प्रयोगकर्ताले व्यक्ति–व्यक्तिबीच (पीटुपी) सजिलै फण्ड ट्रान्सफर गर्न सक्नेछन् । हाल केही बैंकहरूमा उपलब्ध सेवा क्रमशः अन्य बैंक तथा वित्तीय संस्थामा विस्तार गरिने जनाइएको छ । यूपीआई–एनपीआई इन्टिग्रेसनलाई वित्तीय समावेशीकरण तथा दुई देशबीचको डिजिटल र आर्थिक सम्बन्ध सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ । क्रसबोर्डर भुक्तानीलाई सहज र पहुँचयोग्य बनाउने लक्ष्यअनुसार यो प्रणालीले दुवै देशका फास्ट पेमेन्ट सिस्टमबीच अन्तरआबद्धता स्थापित गरेको छ । प्रयोगकर्ताले मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गरेर रकम पठाउन सक्नेछन् । यसले संवेदनशील बैंक खातासम्बन्धी विवरण आदान–प्रदान गर्नुपर्ने आवश्यकता हटाउँदै सरल र सुरक्षित अनुभव प्रदान गर्ने विश्वास गरिएको छ । रितेश शुक्लाले एनसीएचएलसँगको सहकार्यमा यस्तो सेवा सुरु गर्न पाउँदा खुशी व्यक्त गर्दै नवीन प्रविधिको प्रयोगमार्फत विश्वस्तरका आवश्यकताहरू पूरा गर्ने प्रतिबद्धता दोहोर्याए । उनले रियल टाइम, सस्तो र सुरक्षित माध्यमले रेमिट्यान्सलाई थप सहज बनाउने बताए । त्यसैगरी निलेश मान सिंह प्रधानले यस सहकार्यले लाखौं व्यक्ति तथा व्यवसायलाई डिजिटल भुक्तानी प्रणालीमा समेट्दै पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरे । यस सेवामार्फत कारोबारहरू रियल टाइममै सम्पन्न हुने भएकाले रेमिट्यान्समा निर्भर लाखौं परिवारलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । परम्परागत प्रणालीको तुलनामा लागत घटाउने र पारदर्शिता बढाउने लक्ष्य पनि राखिएको छ । एनपीसीआई इन्टरनेशनल र एनसीएचएलबीचको सहकार्यले नेपाल–भारत आर्थिक करिडोरलाई थप मजबुत बनाउनुका साथै डिजिटल भुक्तानी क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ । यो मोडल अन्य देशहरूले समेत अनुसरण गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।
बोनससहित टेलिकमको विश्वकप अफर, ग्राहकलाई निःशुल्क प्याकेज
काठमाडौं । नेपाल टेलिकमले आगामी फिफा वल्ड कप २०२६ लाई लक्षित गर्दै ‘फिफा वल्ड कप २०२६ टीभी प्याकेज’ सार्वजनिक गरेको छ । कम्पनीले आईपीटीभी ग्राहकलाई लक्षित गर्दै उक्त प्याकेज उपलब्ध गराउन लागेको हो । टेलिकमका अनुसार आईपीटीभी ग्राहकहरूले ९९९ रुपैयाँमा उक्त प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । एनटीटीभी ग्राहकहरूले टेलिभिजनमार्फत हिमालय स्पोर्ट्स च्यानल चयन गर्दा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ । त्यसमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि प्राप्त हुने ओटीपी राखेपछि मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई सेवा तुरुन्त सक्रिय हुनेछ । यस्तै, ग्राहकहरूले नजिकको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सक्नेछन् । टेलिकमले जेठ २६ देखि साउन ३ सम्म विशेष बोनस अफर पनि ल्याएको छ । यस अवधिमा वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको इन्टरनेटसहित प्रिमियम आईपीटीभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा अपग्रेड गर्ने ग्राहकहरूले फिफा वल्ड कप २०२६ टीभी प्याकेज निःशुल्क प्राप्त गर्नेछन् । उक्त बोनस प्याकेज लिनका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट *१४१५३# डायल गर्न सक्नेछन् । टेलिकमले उच्च गुणस्तरीय प्रविधिसँगै खेलकुद मनोरञ्जन प्रदान गर्ने लक्ष्यका साथ यस्तो अफर ल्याएको जनाएको छ । थप जानकारीका लागि कम्पनीका ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिनेछ ।