एआई फिचरले भरिएका ‘अनर ६००’ र ‘६०० प्रो’ बजारमा सार्वजनिक

काठमाडौं । अनरले ‘अनर ६००’ सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीको आधिकारिक वितरक सेलट्रोन नेपालका अनुसार ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ मोडेल एड्भान्स एआई फिचर र प्रिमियम डिजाइनसहित बजारमा ल्याइएको हो । कम्पनीका अनुसार ‘अनर ६००’ मा स्न्यापड्रागन ७ जेन ४ (४ एनएम) प्रोसेसर प्रयोग गरिएको छ । यसमा फोटोलाई ५ सेकेन्डको भिडियोमा परिणत गर्ने एआई फिचर, एआई फोटो इरेजर टुल, ७,००० एमएएच ब्याट्री, ८० वाट फास्ट चार्जिङ तथा २७ वाट रिभर्स चार्जिङ सुविधा दिइएको छ । २५६ जीबी स्टोरेज क्षमतासहित उपलब्ध यस फोनको ८ जीबी र्‍याम भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ र १२ जीबी र्‍याम भेरियन्टको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, ‘अनर ६०० प्रो’ मा स्न्यापड्रागन ८ इलिट (३ एनएम) प्रोसेसर प्रयोग गरिएको छ । यसमा पनि एआईमार्फत इमेजलाई भिडियोमा रूपान्तरण गर्ने सुविधा उपलब्ध छ । फोटोग्राफीका लागि २०० मेगापिक्सेल मुख्य क्यामेरा, ३.५x अप्टिकल जुमसहित ५० मेगापिक्सेल टेलिफोटो लेन्स र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा सेटअप दिइएको छ । ‘अनर ६०० प्रो’ मा ७,००० एमएएच ब्याट्रीसँगै ८० वाट वायर्ड, ५० वाट वायरलेस र २७ वाट रिभर्स चार्जिङ सपोर्ट रहेको छ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको यस मोडेलको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ तोकिएको छ । कम्पनीले ‘अनर ६००’ खरिद गर्ने ग्राहकलाई १५ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ‘अनर च्वाइस वाच २ प्रो’ स्मार्टवाच निःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यस्तै, ‘अनर ६०० प्रो’ खरिद गर्ने ग्राहकले उक्त स्मार्टवाचसँगै १० हजार ९९९ रुपैयाँ मूल्य पर्ने ‘अनर च्वाइस क्लिप इयरबड्स’ पनि निःशुल्क पाउनेछन् । यो अफर सीमित अवधिका लागि लागू हुने सेलट्रोन नेपालले जनाएको छ ।

फेसबुक र टिकटक मोनिटाइजेसन गर्ने विज्ञापनको विश्वास नगर्नू : साइबर ब्यूरो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले फेसबुक वा टिकटक मोनिटाइजेसन गर्ने विज्ञापनको विश्वास नगर्न सचेत गराएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा मोनिटाइजेसन सस्तो र ग्यारेन्टीसहितको विज्ञापन गर्ने बढेकाले ब्यूरोले सर्वसाधारणलाई सचेत गराएको हो । ह्याकिङ् गर्नेले फेसबुकलाई भेरिफेकिसन तथा सपोर्ट गर्ने बहानामा फिसिङ लिङ्क पठाइ ओटीपी तथा पासवर्ड माग्ने क्रम बढेको हो । ह्याकरहरूले ओटीपी पाउँनसाथ सामाजिक सञ्जालको च्यानल र पेज कब्जामा लिने गरेको ब्यूरोले जनाएको छ । उनीहरूले आर्थिक तथा व्यक्तिगत क्षतिसमेत गर्ने गरेको ब्यूरोले उल्लेख गरेको छ । ब्यूरोले मोनिटाइजेसनको सम्पूर्ण गतिविधि आधिकारीक प्लेटफार्ममार्फत गर्न अनुरोध गरेको छ । मेटा बिज्नेस र युट्युब स्टुडियोबाट मात्र काम गर्नुपर्ने ब्यूरोले बताएको छ । ब्यूरोले कुनै पनि आधिकारिक कम्पनीले सामाजिक सञ्जालको अकाउन्टको पासवर्ड, रिकभरी कोड वा ओंटीपी म्यासेजमार्फत नमाग्ने जनाएको छ ।  अपरिचित व्यक्ति वा विज्ञापनको प्रलोभनमा परेर कतै पनि आफ्नो गोप्य विवरण वा ओटीपी सेयर नगर्न ब्यूरोले प्रस्ट पारेको छ ।  अनलाईन ठगीमा परेको र यस्तो गतिविधि देखेमा नजिकैको प्रहरी कार्यालयमा वा साइबर ब्यूरोमा सम्पर्क गर्न ब्यूरोले आग्रह गरेको छ ।   

डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा दिव्या रायमाझी नै दोहोरिइन्

काठमाडौं । डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेस्डर सहकार्यलाई निरन्तरता दिएको छ ।  कम्पनी र रायमाझीबीच आज डिशहोमको कपोरेट कार्यालय, भैंसेपाटीमा ब्रान्ड एम्बेस्डर सम्झौता नवीकरण सम्पन्न भएको हो । सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रसन्न पोख्रेल तथा अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन् ।  डिशहोम इन्टरनेटले डिजिटल कनेक्टिभिटी, युवा पुस्तासँगको भावनात्मक सम्बन्ध तथा आधुनिक डिजिटल जीवनशैलीलाई प्राथमिकतामा राख्दै आफ्नो ब्रान्ड यात्रालाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।  कम्पनीका अनुसार, युवामाझ लोकप्रिय, आत्मविश्वासी तथा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा दिव्या रायमाझीसँगको सहकार्यलाई निरन्तरता दिइएको हो । यस अवसरमा डिशहोमले आगामी डिजिटल अभियानहरू, ग्राहक केन्द्रित सेवाहरू तथा विशेष मनोरञ्जनमूलक कार्यक्रमहरूमा पनि रायमाझीसँग सहकार्य गर्दै जाने जनाएको छ ।  डिशहोमले हाल देशभर उच्च गतिको इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवा प्रदान गर्दै लाखौँ ग्राहकहरूमाझ आफ्नो सेवा विस्तार गरिरहेको छ ।  सम्झौता नवीकरणपछि अभिनेत्री दिव्या रायमाझीले डिशहोमसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताउँदै नेपाली दर्शक तथा डिजिटल प्रयोगकर्तासँग अझ नजिक भएर जोडिन पाउने विश्वास व्यक्त गरिन्।