एनसेल डाटा सेन्टरले पायो टियर–३ अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । एनसेल बिजनेसले ललितपुरको नख्खुस्थित आफ्नो अत्याधुनिक डाटा सेन्टरले अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको घोषणा गरेको छ ।

कम्पनीका अनुसार यो टीयर–३ स्तरको प्रमाणीकरणले डाटा सेन्टरको उच्च विश्वसनीयता, सुरक्षा तथा गुणस्तरीय पूर्वाधारलाई प्रमाणित गरेको छ। उक्त डाटा सेन्टर नेपालमै पहिलो पटक सरकारद्वारा सूचीकृत इन्टिग्रेटेड डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायकका रूपमा पनि चिनिएको छ ।

यस प्रमाणीकरणले डाटा सेन्टरको संरचना र सञ्चालन ‘रेटेड–३’ मापदण्डअनुसार रहेको पुष्टि गर्दछ, जसले उच्च उपलब्धता, समानान्तर मर्मत क्षमता र प्रतिकूल अवस्थाबाट छिटो पुनःस्थापना हुन सक्ने प्रणाली सुनिश्चित गर्दछ । कम्पनीका अनुसार डाटा सेन्टर लगभग ९९.९८२ प्रतिशत उपलब्धता सुनिश्चित गर्ने गरी डिजाइन गरिएको छ, जसले मर्मत वा आकस्मिक अवस्थाहरूमा पनि सेवा अवरुद्ध हुन दिँदैन ।

यो प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डस्ट्री एसोसिएसनबाट अधिकृत अडिट संस्था ‘डाटा सेन्टर मिडिया एलएलपी’ ले मूल्यांकनपछि प्रदान गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यसलाई कम्पनी मात्र नभई नेपालकै लागि महत्वपूर्ण उपलब्धि भएको बताए । 'नेपालबाट डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटीमा टीआईए प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर पहिलो हो,' उनले भने, 'हामी विश्वस्तरीय डिजिटल पूर्वाधारमार्फत स्थानीय व्यवसायको विस्तार र सरकारको डिजिटल रूपान्तरणमा योगदान दिन प्रतिबद्ध छौँ ।'

एनसेल डाटा सेन्टरले यसअघि नै सूचना सुरक्षा र गोपनीयतासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ २७००१ र २७७०१ प्राप्त गरिसकेको छ । साथै, गुणस्तर व्यवस्थापन र वातावरणीय मापदण्डअन्तर्गत आईएसओ ९००१ र १४००१ मान्यता पनि हासिल गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ प्रमाणीकरणले बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सरकारी निकायदेखि साना–ठूला व्यवसायसम्मलाई सुरक्षित र भरपर्दो डिजिटल सेवा उपलब्ध गराउने क्षमतामा थप मजबुती ल्याएको छ । यसले महत्वपूर्ण प्रणालीहरूको डाउनटाइम न्यून बनाउने, अडिट तथा कम्प्लायन्स प्रक्रिया सहज बनाउने र संवेदनशील डाटाको सुरक्षित व्यवस्थापन सुनिश्चित गर्ने बताइएको छ ।

null

रेटेड–३ डिजाइनमा आधारित यस पूर्वाधारले बलियो ब्याकअप, रिडन्डेन्सी र विपद् पुनःस्थापनाको क्षमता प्रदान गर्ने भएकाले साइबर जोखिम वा प्राकृतिक विपत्तिका अवस्थामा समेत सेवा निरन्तरता कायम राख्न मद्दत पुग्ने कम्पनीको दाबी छ ।

एनसेलले यस उपलब्धिले नेपालको डिजिटल रूपान्तरणलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । स्थानीय स्तरमै सुरक्षित डाटा होस्टिङ सम्भव भएसँगै डाटा सार्वभौमिकता बलियो हुने र विदेशी पूर्वाधारमा निर्भरता घट्दै नेपाल डिजिटल हबको रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

Share News