नयाँ वर्षमा नेपाल टेलिकमको डाटा अफर, ४९९ मा दैनिक ५ जीबी
काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष ‘नयाँ वर्ष अफर २०८३’ सार्वजनिक गरेको छ । कम्पनीले अफरअन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका प्याकेज उपलब्ध गराएको जनाएको छ । न्यु इयर लाइट प्याकेजअन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ । ५ जीबीको सीमा पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी, न्यु इयर प्रिमियम प्याकेजअन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ । १० जीबीको सीमा पूरा भएपछि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । दुवै प्याकेजको वैधता अवधि ३० दिन रहनेछ । कम्पनीका अनुसार अफरअन्तर्गतका प्याकेज २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख २ गतेसम्म खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि प्याकेज शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने व्यवस्था गरिएको छ । ग्राहकले मोबाइलबाट *१४१५*११# डायल गरी वा नेपाल टेलिकम एपमार्फत प्याकेज खरिद गर्न सक्नेछन् ।कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण सेवाग्राहीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।
सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीले लिइरहेका छन् सेवा
काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले स्थापना भएको १२ वर्ष पूरा गरेको छ । सन् २०१४ मा स्थापना भएको कम्पनीले प्रोडक्ट-आधारित तथा कस्टमाइज्ड सफ्टवेयर समाधानमार्फत विभिन्न उद्योगका कर्पोरेट ग्राहकलाई सेवा दिँदै आएको छ । कम्पनीका अनुसार विधिको एचआर तथा पेरोल सफ्टवेयर हाल नेपालभरका २०० भन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेका छन् । त्यसैगरी, कम्पनीको ईआरपी समाधान निर्माण तथा जलविद्युत् क्षेत्रमा विशेष रूपमा लोकप्रिय बन्दै गएको छ, जहाँ १०० भन्दा बढी कम्पनीहरूले यसको प्रयोग गरिरहेका छन् । निर्माण क्षेत्रमा शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन र हिमालयन बिल्डर्सजस्ता ठूला कम्पनीहरू विधिको ईआरपी प्रणालीका प्रमुख प्रयोगकर्तामा पर्छन् । यस्तै, जलविद्युत् क्षेत्रमा अपर त्रिशूली, भुगोल हाइड्रोपावर र तनहुँ हाइड्रोपावरजस्ता परियोजनाहरूले पनि विधिका समाधान अपनाएका छन् । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले १२ वर्ष पूरा गर्नु गौरवको विषय भएको बताए । ‘प्रविधिको विकाससँगै व्यवसायहरूलाई प्रविधिमार्फत सहजता प्रदान गर्ने हाम्रो यात्रा १२ वर्ष पूरा भएको छ,’ उनले भने, ‘यस अवधिमा योगदान पुर्याउने सम्पूर्ण टिम, ग्राहक तथा साझेदारप्रति आभार व्यक्त गर्दछु ।’ उनले आगामी दिनमा एचआर तथा पेरोल र ईआरपी प्लेटफर्ममा एआई-आधारित सुविधा थप्ने तयारी भइरहेको जानकारी दिए । यसअन्तर्गत पेरोल प्रोसेसिङमा स्वचालन, एआई-आधारित उपस्थिति व्यवस्थापन, कार्यबल विश्लेषण तथा व्यवसायलाई छिटो र प्रभावकारी निर्णय लिन सहयोग गर्ने प्रिडिक्टिभ इनसाइट्स समावेश गरिनेछ । कम्पनीले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य पनि राखेको छ । विधिले आफूलाई नेपालबाट उदाएको प्रविधि नवप्रवर्तनकर्ताका रूपमा स्थापित गर्दै विश्व बजारमा स्केलेबल तथा एआई-समर्थित समाधान प्रदान गर्ने योजना बनाएको जनाएको छ ।
अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज
काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यससम्बन्धी प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसका रूपमा मनाउने निर्णय भएको हो । यो दिवसले अन्तरिक्ष विज्ञान तथा प्रविधिको योगदानलाई स्मरण गर्दै दिगो प्रविधिका माध्यमबाट विकास लक्ष्य हासिल गर्न तथा जनताको जीवनस्तर उकास्न जोड दिएको छ । सन् १९६१ अप्रिल १२ मा सोभियत नागरिक युरी गागरिनले पहिलो पटक अन्तरिक्ष उडान सम्पन्न गरेका थिए । उनी पृथ्वीको परिक्रमा गर्ने पहिलो मानव बन्दा अन्तरिक्ष अन्वेषणको नयाँ युगको सुरुआत भएको मानिन्छ । त्यसअघि सन् १९५७ अक्टोबर ४ मा पहिलो मानव निर्मित पृथ्वी उपग्रह ‘स्पुतनिक–१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । यसबाट अन्तरिक्ष अन्वेषणको मार्ग प्रशस्त भएको थियो । त्यसपछिका दशकहरूमा मानव अन्तरिक्ष यात्रामा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । सन् १९६३ जुन १६ मा भ्यालेन्टिना तेरेश्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला बनिन् भने सन् १९६९ जुलाई २० मा नील आर्मस्ट्रङले चन्द्रमाको सतहमा पाइला टेक्ने पहिलो मानवको इतिहास रचिन् । सन् १९७५ जुलाई १७ मा अपोलो र सोयुज अन्तरिक्ष यान जोडेर पहिलो पटक योजनाबद्ध अन्तरराष्ट्रिय मानव अन्तरिक्ष अभियान सफल भएको थियो । संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषण र यसको उपयोग मानवजातिको साझा सम्पत्ति भएको उल्लेख गर्दै त्यसको लाभ सबै राष्ट्रसम्म पुर्याउनुपर्नेमा जोड दिएको छ । रासस