माछापुच्छ्रे बैंकको एमबीएल आईटी कर्जा योजना सार्वजनिक, आईटी उद्यमीलाई सहज वित्तीय पहुँच
काठमाडौं । माछापुच्छ्रे बैंकले ‘एमबिएल आईटी कर्जा’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने उद्देश्यसहित सुरु गरिएको यस योजनाले आईटी क्षेत्रमा भइरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको सूचना प्रविधि क्षेत्रलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ । यस कर्जा योजनामार्फत नेपालका आईटी तथा सफ्टवेयर कम्पनीहरूलाई चालू पुँजी, पूर्वाधार विकास तथा व्यवसाय विस्तारका लागि सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराइने बैंकले जनाएको छ । योजना अन्तर्गत कर्जा लिनका लागि सम्बन्धित सरकारी निकायमा दर्ता भएका व्यवसायहरू मात्र योग्य हुनेछन् । यसमा आईटी तथा सफ्टवेयर फर्म (एकल वा साझेदारी) र प्राइभेट लिमिटेड कम्पनीहरू समावेश छन् । यस्ता कम्पनीहरूले प्यान तथा भ्याट जस्ता कर नियमित रूपमा तिरेको हुनुपर्नेछ । साथै, कर्जा लिन इच्छुक कम्पनीहरू सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा, साइबर सुरक्षा, फिनटेक, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेशिन लर्निङ जस्ता क्षेत्रमा संलग्न भई कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
अब ३० दिनका सबै मोबाइल प्याकेज, नेपाल टेलिकमको समर अफर लागू
काठमाडौं । नेपाल टेलिकम ले ‘समर अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस, डाटा तथा कम्बो प्याकेजहरू सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ अफरमा ग्राहकलाई सहज र किफायती सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ । यस अफरअन्तर्गत प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई बढाएर ३० दिनको बनाइएको छ । अब सबै प्याकेज ३० दिनका हुनेछन् । साथै भ्वाइस प्याकहरूमा सबै नेटवर्कमा कल गर्न सकिने (अल–नेट) सुविधा समेत समावेश गरिएको छ । कम्पनीले लोकप्रिय ‘सजिलो अनलिमिटेड प्याक’लाई थप आकर्षक बनाएको जनाएको छ । यसअन्तर्गत ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, मासिक ३०० जीबी डाटा र ३०० एसएमएस सुविधा उपलब्ध हुनेछ । त्यस्तै ७९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १५० जीबी डाटा र २५० एसएमएस पाइनेछ । डाटा प्याकतर्फ ५४९ रुपैयाँमा ४० जीबी र ९९९ रुपैयाँमा १०० जीबी डाटा उपलब्ध हुनेछ । साथै ५९९ रुपैयाँमा दैनिक २ जीबी र ३४९ रुपैयाँमा दैनिक १ जीबी प्रयोग गर्न सकिने मासिक प्याकेज पनि सञ्चालनमा ल्याइएको छ । अनलिमिटेड प्याकअन्तर्गत २५ रुपैयाँमा १ घण्टासम्म चल्ने भ्वाइस तथा डाटा सुविधा उपलब्ध हुनेछ भने ९९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन प्रयोग गर्न मिल्ने ५ एमबीपीएस स्पिडको डाटा प्याक उपलब्ध गराइएको छ । यसका अतिरिक्त बन्डल्ड, एड–अन, सीयूजी, एसएमएस तथा एफटीटीएच प्याकेजहरू समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । उक्त ‘समर अफर २०८३’ भोलि बैशाख ११ गतेदेखि लागू हुने छ । ग्राहकहरूले मोबाइलबाट *१४१५# डायल गरी, ‘नेपाल टेलिकम’ एप तथा कम्पनीको वेबसाइटमार्फत प्याकेज सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन् ।
एआई र सूचना प्रविधि नियमनका लागि सहकार्य बढाउन नेपाल र जापानबीच सहमति
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत एचइ मिस्टर माइडिया टुरले शिष्टाचार भेटघाट गरेका छन् । जापानका राजदूतले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे । भेटका क्रममा मन्त्री गौतम र जापानका राजदूतबीच कानून सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषय बदलिँदो विश्व राजनीतिमा बढिरहेको सन्दर्भमा नियमन गर्न उपयुक्त कानून आवश्यक रहेको विषयलाई जोड दिँदै सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने, साथै जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने लगायत विषयमा छलफल भयो ।