एनसेलको इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ रुपैयाँमा नै पाइने

काठमाडौं । एनसेलले कल र इन्टरनेट सेवाको शुल्क आक्रामक रुपमा घटाउँदै आफ्ना प्रिपेड ग्राहकहरूका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल, र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरु रहेको छन् जसले ग्राहकहरुलाई २८ दिनसम्म ढुक्क रहन मद्दत गर्दछ । कम्पनीले यसअघि प्रदान गर्दै आएको १९९९ रुपैयाँको कम्बो अनलिमिटेड कल र इन्टरनेट सेवाको तुलनामा यो प्याकमा पाइने उही सेवाहरुको मुल्य ६५ प्रतिशतले घटेको छ । कर सहित ६९९ रुपैयाँ शुल्क पर्ने यो कम्बो प्याकको समयावधी २८ दिन रहेको छ ।  कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने, अनलिमिटेड डेटा, दैनिक १०० एसएमएस र लायन्स गेट प्लेमा निःशुल्क पहुँच यो प्याकका मुख्य विषेशताहरु हुन् ।  ग्राहकले सजिलै एस्ट्रिक्स१२३ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप वा नजिकैको एनसेल सेन्टर वा एनसेल पसलबाट पनि यो प्याक लिन सकिन्छ । 'कनेक्टिभिटीको महत्व र दूरसञ्चार सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै, नयाँ वर्ष २०८३ को अवसर पारेर, हामीले अनलिमिटेड डेटा र कलसहितको यो प्याक सञ्चालनमा ल्याएका छौं । यो विशेष प्याकले सेवाको लागत थप घटाउँदै ‘बेस्ट भ्यालु’ प्रदान गर्दछ र ग्राहकहरूको जीवनलाई नन् स्टप र डिजिटल बनाउँदै सधैं अन रहन सहयोग पुर्याउने विश्वास लिएका छौं,' एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।  नेपाली उपभोक्ताहरूलाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै यो प्याक सञ्चालनमा ल्याएको र यसले विभिन्न सेवा सुविधाहरु अनलाईनबाटै उपलब्ध गराउने सरकारको योजनामा मद्दत गर्ने दत्ताले बताए । अनलाइनमार्फत कारोबार, किनमेल, वर्क फ्रम होम, पढाई, गेमिङ्ग वा मनोरञ्जन सबैका लागि डेटा सेवाको महत्व धेरै रहन्छ । यो प्याकले मनोरञ्जनाका लागि ग्राहकहरुलाई लायन्स गेट प्लेका विभिन्न प्रकारका सामग्रीहरूमा पहुँच सुनिश्चित गर्दछ । यसमा हलिउडका हिट फिल्महरु देखि लिएर, टिभी सोहरु, लायन्स गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्टहरु, वृत्तचित्रहरु लगायतका सामाग्रीहरु रहेका छन् जसले ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दछ । लायन्स गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर साथै एमेजोन फायर टिभी स्टिकमार्फत डाउनलोड गर्न सकिन्छ ।      

सञ्चारमन्त्रीको निर्देशन पछि एनटिसीका प्याकेजमा समय थप, अब ३० दिनसम्म लागू

काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । एनटिसीका अनुसार ‘कम्बो-२९९ प्याक’ को समयावधि मंगलबार रातिदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको छ । यो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिना र नेपाल टेलिकमबीच भएको छलफलपछि तत्काल कार्यान्वयनमा आएको हो । नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले हाल एउटा २८ दिने प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिसकिएको र आगामी बैशाख ११ गतेसम्म यो अवधिका सबै प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिसक्ने जानकारी दिए ।  यस व्यवस्थाबाट एनटिसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । यो अवस्था लागू भएसँगै अब महिनामा एकपटक रिचार्ज गर्दा पुग्नेछ, जसले प्रयोगलाई सहज बनाउनेछ । साथै उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्नेछन् । यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ । एनटिसीको यस्तो सेवालाई उपभोक्तामैत्री सुधारका रूपमा लिइएको छ भने यसले टेलिकम क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणलाई समेत थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकममा अब ‘ब्यालेन्स’ सुरक्षित, डेटा सकिए पनि पैसा नकाटिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी) का सेवामा व्यापक सुधारका काम सुरु भएका छन् ।  सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको पहलमा नेपाल टेलिकमको प्रयोगकर्ताको डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ भने सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाइसी’ लागू गर्ने प्रक्रिया अघि बढेको छ ।  अब प्रयोगकर्ताले लिएको डेटा प्याकेज ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त गर्नेछन् । यससँगै ‘पे–एज–यू–गोज (पेजी) विकल्प उपलब्ध हुनेछ । जसले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्नेबारे विकल्पसहितको छनोटको सुविधा दिनेछ। प्राधिकरणका प्रवक्ता रविन्द्र मानन्धरले हाल प्रणाली परीक्षणको चरणमा रहेको र चाँडै पूर्ण रूपमा कार्यान्वयनमा आउने जानकारी दिए । ‘अब डेटा सकिएपछि ग्राहकलाई इन्टरनेट प्रयोग जारी राख्ने वा नयाँ प्याकेज लिने भन्ने जानकारी दिइनेछ,’ उनले भने ।  उनका अनुसार युएसएसडीमार्फत खरिद गरिने डेटा प्याकमा तीनदेखि पाँच दिनभित्र यो सुविधा लागू हुनेछ भने नेपाल टेलिकमको मोबाइल एपमार्फत सेवा प्रयोग गर्ने ग्राहकले एक सातादेखि १० दिनभित्र यसलाई अनुभव गर्न पाउनेछन् । मन्त्रालयले अघि सारेको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा पनि यो विषय समावेश गरिएको छ ।  कार्ययोजनाअनुसार नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण, र डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ । सोहीअनुसार नेपाल टेलिकमले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ग्राहक केन्द्रित सुधारका कदमहरू अघि बढाएको जनाएको छ ।  विशेषगरी मोबाइल डाटा व्यवस्थापन, डिजिटल प्लेटफर्म विस्तार र प्रशासनिक प्रक्रियालाई सरल बनाउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया सुरु गरिएको हो । ग्राहकलाई सहजता प्रदान गर्न कम्पनीले  ‘वान टाइम केवाईसी’ प्रणाली लागू गर्ने तयारी गरेको छ । यस प्रणालीअन्तर्गत ग्राहकले एकपटक पेश गरेको विवरण पुनः उपलब्ध गराउनुपर्ने झन्झट हट्नेछ । यो व्यवस्था आगामी ३० दिनभित्र लागू गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू पनि पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने योजना अघि बढाइएको छ । दूरसञ्चार सेवामा पहुँच र सहजिकरण बढाउन नेपाल टेलिकमका कार्यालयमा ‘एकल बिन्दु सेवा सहायता कक्ष स्थापना गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ । यस्तो सहायता कक्ष नेपाल टेलिकमका सबै कार्यालयमा स्थापना गरिनेछ, जसले ग्राहकलाई एउटै स्थानबाट सबै सेवा प्राप्त गर्न सहज बनाउने विश्वास लिइएको छ । यससँगै फोरजी सेवाको गुणस्तर सुधार गर्न नीतिगत परिमार्जन गर्ने तयारीसमेत थालिएको छ । मन्त्रालयका अनुसार ३० दिनभित्र आवश्यक नीति संशोधन गरी थप फ्रिक्वेन्सी उपलब्ध गराउने लक्ष्य राखिएको छ, जसले इन्टरनेट गति र स्थायित्वमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।