एनटीसीले प्याकेजको समयसँगै शुल्क पनि बढायो
काठमाडौं । गत चैत २४ गते सञ्‍चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले निर्देशन दिए- नेपाल टेलिकम (एनटिसी)को प्रिपेड सेवा अन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउनु । एनटिसीले पनि मन्त्रीको निर्देशन बमोजिम सोही दिनदेखि लागू हुने गरी २८ दिनबाट बढाएर ३० दिन पुर्यायो । मन्त्रीको निर्णयलाई सुरुआती चरणमा उपभोक्तामैत्री कदमका रूपमा हेरियो । किनकि अब महिनामा एकपटक रिचार्ज गर्दा पुग्ने र उही मूल्यमा थप दुई दिन सेवा पाउने अपेक्षा गरिएको थियो । सरकारले यसलाई उपभोक्ताको खर्च व्यवस्थापन सहज बनाउने र डेटा, भ्वाइस तथा एसएमएस सेवामा अतिरिक्त सुविधा दिने कदमका रूपमा व्याख्या गरेको थियो । यस अवधिमा एनटीसीले सबै प्याकेजको अवधि २८ दिनबाट ३० दिन पुर्याएको छ । तर, व्यवहारमा लागू हुँदा केही फरक देखियो । समयावधि बढेसँगै केही प्याकेजको मूल्य पनि बढाइएपछि उपभोक्ताबीच असन्तुष्टि चुलिएको छ । एनटीसीले अवधिसँगै एउटै प्याकेजमा १ सय रुपैयाँसम्म मूल्य वृद्धि गरेपछि ग्राहकहरू असन्तुष्ट बनेका हुन् । एनटिसीका सहायक प्रवक्ता प्रकाश थापा क्षेत्रीका अनुसार एक/दुई वटा प्याकेजमा मात्रै रकम वृद्धि गरिएको हो भने धेरैजसो प्याकेजमा केवल समयावधि बढाइएको छ । उनका अनुसार ७९९ रुपैयाँको प्याकेजलाई ६९९ रुपैयाँबाट १ सय रुपैयाँले बढाइएको हो, जससँगै डेटा सुविधा पनि उल्लेख्य रूपमा विस्तार गरिएको छ । ‘उक्त प्याकेजमा डाटा १५ जीबीबाट बढाएर १५० जीबी पुर्याइएको छ । मूल्यसँगै भ्यालु पनि उच्च बनाइएको हो,’ उनले भने । उनका अनुसार अन्य केही प्याकेजमा पनि सेवा विस्तार गरिएको भए पनि अधिकांशमा केवल म्याद (भ्यालिडिटी) मात्र २८ दिनबाट ३० दिनमा बढाइएको छ । प्रवक्ता क्षेत्रीले कम्पनीले प्याकेज परिमार्जन गर्दा ग्राहकको माग, प्रयोगको प्रवृत्ति र बजार प्रतिस्पर्धालाई आधार बनाएको बताए । ‘ग्राहकको आवश्यकता, प्रतिस्पर्धी बजारको अवस्था र विश्लेषणपछि नै प्याकेज तयार गरिएको हो,’ उनले भने । उनका अनुसार कम्पनीको ‘बिजनेस इन्टेलिजेन्स’ प्रणालीमार्फत ग्राहकको प्रयोग विश्लेषण गरेर नयाँ प्याकेज तयार गरिएको हो । ‘थोरै पैसामा धेरै सुविधा दिने उद्देश्यले प्याकेज परिमार्जन गरिएको हो,’ उनले भने । क्षेत्रीले ८० प्रतिशत प्याकेजमा केवल समयावधि मात्र बढाइएको र मूल्यमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारे । उनका अनुसार मूल्य बढाइएका प्याकेजमा सेवा पनि उल्लेख्य रूपमा विस्तार गरिएको छ, जसले ग्राहकलाई थप फाइदा दिने अपेक्षा गरिएको छ ।
प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार (आज) शुभकामना सन्देश जारी गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधारस्तम्भ भएकाले यसले सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताएका हुन् । सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीति, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाफदेही बनाउने प्रमुख संस्था भएकाले स्वतन्त्रतासँगै उत्तरदायित्वलाई पनि गम्भीर भएर बहन गर्नुपर्ने उनले औंल्याएका छन् । सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै स्वतन्त्र प्रेस बिना सुशासन र पारदर्शिता मजबुत हुन नसक्ने धारणा राखेका छन् । साथै उनले प्रेस स्वतन्त्रतासँगै जिम्मेवारी, तथ्यप्रति प्रतिबद्धता, व्यावसायिक मर्यादा तथा सार्वजनिक हितप्रतिको उत्तरदायित्व उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे । ‘प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ,’ उनले सन्देशमा उल्लेख गरेका छन् । डिजिटल युगमा गलत सूचना, भ्रामक सामग्री, सामाजिक सञ्जालको दुरुपयोग तथा प्रविधिमार्फत हुने मनोवैज्ञानिक प्रभावजस्ता चुनौती बढ्दै गएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सत्य, तथ्य र जनहितमा आधारित पत्रकारिता अझ आवश्यक भएको बताए । समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक दिशामा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैं महत्त्वपूर्ण रहने उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले सत्य र जनहितका पक्षमा निरन्तर क्रियाशील सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मानसमेत व्यक्त गरेका छन् । ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ भन्ने नाराका साथ मनाइन लागेको यस दिवसले स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताको परम्परा अझ सुदृढ हुने विश्वास व्यक्त उनले व्यक्त गरे ।
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
काठमाडौं । चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा उन्नत प्रविधि र डेटा विकासका विविध प्रयोगहरू प्रस्तुत गरिएका छन् । करिब ५६ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा मानवजस्तै रोबोटहरूले आगन्तुकलाई स्वागत गरेका छन्, जहाँ लेखन गर्ने, चिया बनाउने तथा खेल खेल्ने रोबोटहरूले वास्तविक जीवनमा प्रविधिको प्रयोग देखाएका छन् । आगलागी जस्ता जोखिमपूर्ण अवस्थामा प्रयोग हुने सुरुङ निरीक्षण तथा उद्धार रोबोटदेखि स्वचालित रूपमा अवरोध छल्ने चारखुट्टे रोबोटसम्मका नवीन उपकरणहरू प्रदर्शनमा राखिएका छन् । करिब ४०० उद्यमहरूले ६ हजारभन्दा बढी अत्याधुनिक प्रविधि र उत्पादन सार्वजनिक गरेका छन्, जसमा चिप, औद्योगिक मोडेल र बुद्धिमान प्रणालीहरू समावेश छन् । यससँगै कृषि, उत्पादन, स्वास्थ्य र पर्यटन क्षेत्रमा डेटा एकीकरणका करिब १०० उदाहरण पनि प्रस्तुत गरिएका छन् । उच्च गुणस्तरको डेटा कृत्रिम बुद्धिमत्ता विकासका लागि अत्यन्त आवश्यक बन्दै गएको बताइएको छ, विशेषगरी मानवजस्तै रोबोट विकासमा डेटा अभाव चुनौतीका रूपमा देखिएको छ । शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले पाठ्यसामग्री निर्माणको समय एक हप्ताबाट एक घण्टामा झारेको छ भने स्वास्थ्य क्षेत्रमा परम्परागत चिनियाँ चिकित्सा प्रणालीलाई डिजिटल बनाउँदै सेवा गुणस्तर सुधारिएको छ । आगामी श्रमिक दिवस बिदाको अवसरमा पनि यो प्रदर्शनी सर्वसाधारणका लागि खुला रहनेछ, जहाँ सयभन्दा बढी परियोजनामार्फत प्रविधिको प्रत्यक्ष अनुभव लिन सकिनेछ । रासस