२६ वर्षदेखि पर्यटन व्यवसायमा जमेका देवकटाको नाटाको महासचिवमा उम्मेदवारी

काठमाडौं । पर्यटन व्यवसायी राजकुमार देवकोटाले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।   वल्ड फेभर एण्ड टुर्सका सञ्चालक देवकोटाले भरतजंग पाण्डेको समूहबाट महासचिव पदमा उम्मेदवार घोषणा गरेका हुन् । उनी २६ वर्षदेखि नेपालको पर्यटन उद्योगमा निरन्तर सक्रिय रहँदै आएका छन्।  देवकोटाले  पर्यटन व्यवसायसँगै नाट्टाको संस्थागत गतिविधिमा समेत लामो समयदेखि योगदान दिँदै आएका छन्। उनी २०२०/ २२ को नाट्टा कार्यसमितिमा सदस्य तथा २०२२–२४ मा कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। पर्यटन क्षेत्रमा संगालेको अनुभवलाई आगामी कार्यकालमा संस्थाको सुदृढीकरणका लागि उपयोग गर्ने उनले बताए। नाट्टाको स्थापनाकालदेखि संस्थाको विकास र उद्देश्य प्राप्तिका लागि योगदान पुर्‍याउँदै आएका अग्रजहरूको योगदानलाई सम्मान गर्दै सदस्यहरूको  हकहितमा काम गर्ने आफ्नो मुख्य उद्देश्य रहेको देवकोटाले  बताएका छन्। उनले नाट्टालाई पारदर्शी, सबल, प्रभावकारी र सदस्य केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पर्यटन व्यवसायीका समस्या समाधान, संस्थागत क्षमता अभिवृद्धि तथा पर्यटन क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ। २०२६ साउन १४ गते हुने नाट्टाको कार्यसमिति निर्वाचनमा महासचिव पदमा उम्मेदवारी मनोनयनदर्ता गरिसकेपछि देवकोटाले   ‘सशक्त नाट्टा, समृद्ध पर्यटन’ आफ्नो मुख्य प्रतिबद्धता रहेको बताएका छन्।

ईयरबड्स लगाएर सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ यस्तो असर

काठमाडौं । राति गीत, पोडकास्ट, ध्यान (मेडिटेसन) सुन्दै ईयरबड्स लगाएर सुत्ने मानिसको संख्या बढ्दो छ । केहीलाई यसरी सुन्दा छिटो निद्रा पनि लाग्छ । तर, हरेक रात ईयरबड्स लगाएर सुत्ने बानी स्वास्थ्यका लागि कति सुरक्षित छ ? विशेषज्ञका अनुसार दैनिक रूपमा रातभर ईयरबड्स कानमा राखेर सुत्दा कानको स्वास्थ्यमा असर पर्न सक्छ ।यसले कानमा संक्रमण, इयरवाक्स जम्मा हुने, दुखाइ र सुनाइ क्षमतामा समेत असर पार्न सक्छ ।  युनिभर्सिटी अफ रोचेस्टरका अनुसार कहिलेकाहीँ करिब ६० प्रतिशत वा त्यसभन्दा कम आवाजमा छोटो समयका लागि ईयरबड्स प्रयोग गर्नु अधिकांश स्वस्थ व्यक्तिका लागि गम्भीर जोखिम मानिँदैन । तर, हरेक दिन रातभर ईयरबड्स लगाएर सुत्दा कानको नलीमा लगातार दबाब पर्न सक्छ । यसबाट कानको छालामा जलन हुन सक्छ, कानमा इयरवाक्स जम्मा हुन सक्छ, ब्याक्टेरिया बढ्ने सम्भावना पनि हुन्छ । काेल्टे फेर्दा ईयरबड्स कानभित्र दबिन सक्छ । यसले कान दुख्ने वा सामान्य चोट लाग्ने समस्या निम्त्याउन सक्छ।  सुत्दा कानमा के हुन्छ ? सुतिरहेको समयमा कान पनि आरामको अवस्थामा हुन्छ । लामो समयसम्म ईयरबड्स कानभित्र राख्दा कानको नलीमा हावाको प्रवाह कम हुन सक्छ । त्यसपछि संक्रमणको जोखिम बढ्न सक्छ । कानमा धेरै इयरवाक्स बन्ने मानिसमा ईयरबड्सले त्यसलाई अझ भित्र धकेल्न सक्छ । यसले कान बन्द भएको महसुस हुन सक्छ । यसका साथै सुनाइ कम हुने वा कानमा असहजता महसुस हुने समस्या पनि देखिन सक्छ ।  नियमित रूपमा सफा नगरिएका ईयरबड्समा ब्याक्टेरिया र फङ्गस जम्मा हुन सक्छ । लामो समयसम्म ईयरबड्स लगाउँदा कानभित्र आद्रता बढ्छ । यसले बाहिरी कानमा संक्रमण हुने जोखिम बढाउन सक्छ । विशेषगरी ‘ओटाइटिस एक्स्टर्ना’ अर्थात् बाहिरी कानको संक्रमणको जोखिम बढ्न सक्छ । ईयरबड्स अरूसँग साटेर प्रयोग गर्दा संक्रमणको जोखिम झनै बढ्न सक्छ । त्यसैले ईयरबड्स नियमित रूपमा सफा गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । अरूसँग ईयरबड्स साटेर प्रयोग नगर्न पनि उनीहरूको सुझाव छ ।  केही मानिसलाई ह्वाइट न्वाइज, मेडिटेसन वा शान्त संगीत सुन्दा निदाउन सजिलो हुन्छ । विशेषगरी वरपर धेरै आवाज हुने अवस्थामा यस्ता ध्वनिले आराम महसुस गराउन सक्छन् । तनाव कम गर्न र निदाउन लाग्ने समय घटाउन पनि यसले सहयोग गर्न सक्छ । तर, रातभर लगातार अडियो बजिरहँदा भने निद्राको प्राकृतिक चक्र प्रभावित हुन सक्छ । त्यस्तै, बारम्बार नोटिफिकेसन आउनु वा आवाज धेरै ठूलो हुनु पनि निद्रामा बाधा बन्न सक्छ । यसले बिहान उठ्दा थकान महसुस हुन सक्छ ।  कसरी सुरक्षित रूपमा प्रयोग गर्ने ? कहिलेकाहीँ कम आवाजमा छोटो समय ईयरबड्स प्रयोग गरेर सुत्नु अधिकांश मानिसका लागि गम्भीर जोखिम मानिँदैन । तर, हरेक रात ईयरबड्स लगाएर सुत्ने बानी छ भने सावधानी अपनाउनुपर्छ । ईयरबड्सको आवाज कम राख्नुपर्छ । सम्भव भएसम्म ‘स्लीप टाइमर’ प्रयोग गर्नुपर्छ । ईयरबड्स नियमित रूपमा सफा गर्नुपर्छ । रातभर कानमा ईयरबड्स राखिरहनुभन्दा केही समय अडियो सुनेर सुत्नु राम्रो विकल्प हुन सक्छ । कानमा दुखाइ, चिलाउने, पानी आउने, कान बन्द हुने वा सुनाइमा कमी जस्ता समस्या देखिएमा आफै औषधि प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा कान, नाक तथा घाँटी (ईएनटी) विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ ।

सेवा सुधारमा उत्कृष्ट अस्पताललाई मन्त्रालयले पुरस्कृत गर्ने

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ को प्रभावकारी कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सञ्चालनमा रहेका सबै सरकारी अस्पतालमध्ये कार्यविधि कार्यान्वयनमा उत्कृष्ट नतिजा हासिल गर्ने अस्पताललाई पुरस्कृत गर्ने जनाएको छ । मन्त्रालयले अस्पताललाई निकट भविष्यमा सम्मान तथा पुरस्कृत गर्ने योजना बनाएको जनाएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत स्वास्थ्य क्षेत्र सुधारको पहिलो प्राथमिकतामा अस्पताल सेवाको सुधार राखिएको थियो । सोही निर्णयअनुसार अस्पताल सेवा सुधार कार्यविधि, २०८२ कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ । कार्यविधि लागू भए पनि अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर, नागरिकमैत्री सेवा र व्यवस्थापनमा अपेक्षित सुधारका लागि थप पहल आवश्यक देखिएको मन्त्रालयले जनाएको छ । यही पहलअन्तर्गत उत्कृष्ट अस्पताल छनोट गरी प्रोत्साहन गर्न लागिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी अस्पताललाई कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ । अस्पतालहरूले सेवा प्रवाहलाई जनअपेक्षाअनुरूप सुधार गर्दै उत्कृष्ट कार्यसम्पादन देखाउनुपर्ने सूचनामा उल्लेख छ । उत्कृष्ट अस्पताल छनोटको मुख्य उद्देश्य सरकारी अस्पतालबीच स्वस्थ प्रतिस्पर्धा बढाउनु, स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नु र नागरिकलाई प्रभावकारी तथा उत्तरदायी सेवा उपलब्ध गराउनु रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अस्पताल तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । ‘सबै अस्पताल एवं कार्यरत स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउन मन्त्रालय प्रतिबद्ध छ,’ सूचनामा भनिएको छ ।