१२ घण्टा खाना नखाँदा तौल घट्छ ? जान्नुहोस् ओभरनाइट फास्टिङको फाइदा

काठमाडौं । तौल घटाउने कुरा आउनेबित्तिकै धेरै मानिसले उपवास बस्ने उपाय अपनाउने गर्छन् । कोही सातामा एक दिन उपवास बस्छन् भने कोही दैनिक १२ वा १६ घण्टासम्म खाना नखाई बस्छन् । पछिल्लो समय रातभर खाना नखाने अर्थात् ‘ओभरनाइट फास्टिङ’ गर्ने चलन पनि बढ्दै गएको छ । तर १२ घण्टा खाना नखाँदैमा तौल घट्छ त ? यसको जवाफ घट्न सक्छ, तर १२ घण्टाको उपवास मात्रै तौल घटाउने ग्यारेन्टी भने होइन । तौल घटाउन शरीरले खर्च गर्ने ऊर्जा र खानाबाट प्राप्त हुने ऊर्जाबीच सन्तुलन हुनु महत्वपूर्ण हुन्छ । १२ घण्टा उपवास गर्दा रातिको बिस्कुट, मिठाई, चिप्स, गुलियो पेय पदार्थ र अन्य खाजा खाने बानी घटाउन सकिन्छ । यसले कुल क्यालोरी कम गर्न मद्दत गर्छ । तर १२ घण्टा उपवास बसेपछि बाँकी समयमा आवश्यकताभन्दा धेरै खाना खाइयो भने तौल घट्न आवश्यक छैन ।  मेटाबोलिज्म अर्थात् शरीरले ऊर्जा प्रयोग गर्ने प्रक्रिया खाना नखाएको समयसँग मात्र सम्बन्धित हुँदैन । निद्रा, शारीरिक गतिविधि, उमेर, मांसपेशीको मात्रा, हर्मोन, कुल क्यालोरी र खानाको गुणस्तरले पनि मेटाबोलिज्ममा प्रभाव पार्छ । केही अध्ययनमा निश्चित समयभित्र मात्र खाना खाने विधिले शरीरको तौल, बडी मास इन्डेक्स (बीएमआई), शरीरमा रहेको बोसो, खाली पेटको रक्त ग्लुकोज र ट्राइग्लिसराइडमा सुधार देखिएको छ। तर सबै व्यक्तिमा यसको परिणाम समान हुन्छ भन्ने छैन ।    विभिन्न अध्ययनअनुसार अन्तरालमा उपवास बस्ने विधिले रक्तमा चिनीको मात्रा र तौल नियन्त्रणमा केही सहयोग गर्न सक्छ । विशेषगरी १६ घण्टा उपवास बसेर ८ घण्टाको समयमा खाना खाने विधिबारे पनि अध्ययन भएका छन् । तर यस्तो उपवास सबैका लागि उपयुक्त हुन्छ भन्ने छैन । व्यक्तिको स्वास्थ्य अवस्था र खानपानअनुसार यसको प्रभाव फरक हुन सक्छ ।   रातभरको उपवासमा साँझ छिटो खाना खाने र त्यसपछि बिहानसम्म खाना नखाने गरिन्छ । उदाहरणका लागि साँझ ७ बजे खाना खाएपछि बिहान ७ बजेसम्म खाना नखानुलाई १२ घण्टाको ओभरनाइट फास्टिङ भन्न सकिन्छ । यसको मुख्य फाइदा राति अनावश्यक खाने बानी कम गर्नु हो । राति ढिला खाना खानुभन्दा साँझ छिटो खाना खाँदा शरीरको प्राकृतिक जैविक घडीसँग पनि राम्रो तालमेल हुन सक्छ ।  यसले कसरी मद्दत गर्छ ? रातिको अतिरिक्त खाजा र क्यालोरी कम गर्न मद्दत गर्छ। खाना खाने समय व्यवस्थित बनाउन सक्छ। राति धेरै खाने बानी नियन्त्रण गर्न सहयोग गर्छ। स्वस्थ खानपान र सक्रिय जीवनशैलीसँग जोडिएमा तौल नियन्त्रणमा सहयोग पुग्न सक्छ। त्यसैले १२ घण्टाको ओभरनाइट फास्टिङलाई तौल घटाउने कुनै जादुमयी उपायका रूपमा लिनु हुँदैन । यसको मुख्य फाइदा रातिको अनावश्यक खाना कम गर्नु र खाना खाने समय व्यवस्थित गर्नु हो । तौल नियन्त्रणका लागि सन्तुलित खाना, नियमित शारीरिक गतिविधि र पर्याप्त निद्रासँगै उपवासलाई अपनाउनु बढी प्रभावकारी हुन सक्छ ।

काठमाडौं महानगरले रद्द गर्‍यो ९२ वटा विद्यालयको अनुमति

काठमाडौं । काठमाडौं महानगरपालिकाले ९२ वटा संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गरेको छ । संस्थागत विद्यालयमध्ये केही विद्यालयले विगतमा प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालन गर्दै आएका भए पनि हाल स्थलगत अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइएपछि अनुमति रद्द गरिएको महानगरको शिक्षा विभागले जनाएको छ ।  सञ्चालनमा नरहेका त्यस्ता विद्यालयको अनुमति वा स्वीकृति शिक्षा ऐन, २०२८ को दफा १६ (ख) तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम रद्द गरिएको विभागले जनाएको छ । यदि सम्बन्धित विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुनपर्ने कुनै कारण भए ३५ दिनभित्र आधार, कारण र प्रमाणसहित आवश्यक कागजात पेश गर्नुपर्ने शिक्षा विभागको भनाइ छ । 

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ: शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन चाँडै टुंगोमा पुग्ने र त्यसबाट शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।  शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ, नेपालको संयोजनमा धनगढीमा आयोजित ‘शिक्षा संवाद’ कार्यक्रममा मन्त्री पोखरेलले ऐनमा समेट्नुपर्ने विषयबारे देशभरबाट सुझाव संकलन भइरहेको बताए । उनले सातै प्रदेशमा भएका शिक्षा संवादबाट प्राप्त सुझाव र निष्कर्षलाई ऐनमा समेट्ने प्रयास भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले अघिल्लो सरकारले शिक्षा ऐनको मस्यौदा तयार गरे पनि विद्यार्थी, अभिभावक तथा अन्य प्रमुख सरोकारवालासँग पर्याप्त छलफल नभएकाले थप सुझाव लिन समय दिइएको बताए । कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले शिक्षा ऐन, नियम र नीति निर्माण गर्दा दीर्घकालीन प्रभाव र सुधारलाई केन्द्रमा राख्नुपर्ने बताए । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले सूचना प्रविधिको विकाससँगै विद्यार्थीको सिकाइ शैली परिवर्तन भइरहेकाले शिक्षक र पाठ्यक्रमलाई पनि समयअनुकूल ‘अपडेट’ गर्नुपर्नेमा जोड दिए । छलफलमा शिक्षक तथा कर्मचारीको वृत्तिविकास, सेवा सुविधा, अनुमानयोग्य बढुवा प्रणाली, प्रारम्भिक बालविकास केन्द्र, विद्यालय सहयोगी तथा सहायक कर्मचारीको पारिश्रमिक, विद्यार्थीको शैक्षिक गुणस्तर, अपाङ्गता भएका विद्यार्थीका लागि समावेशी शिक्षा तथा निजी, धार्मिक र सार्वजनिक शिक्षासम्बन्धी विषयमा सुझाव दिइएको थिया ।  सरोकारवालाले शिक्षक तथा कर्मचारीका समस्या समाधान नगरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नसकिने भन्दै सरकारले छलफल मात्र नभई समाधानका उपायसहित कार्यान्वयनमा जानुपर्ने बताएका थिए । कार्यक्रममा सार्वजनिक तथा निजी विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, विद्यार्थी र अभिभावकलगायत १२ समूहले छुट्टाछुट्टै सुझाव दिएका थिए । प्रधानाध्यापक संघ, नेपालका केन्द्रीय अध्यक्ष सुदामप्रसाद गौतमले शिक्षा ऐन, २०२८ समयानुकूल संशोधन हुन नसक्दा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान हुन नसकेको बताए। गत साउन ३१ गते विराटनगरबाट सुरु भएको ‘शिक्षा संवाद’ अभियान धनगढीमा पुगेर सम्पन्न भएको हो । अभियानअन्तर्गत विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल र सुर्खेतमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो ।