विद्यार्थीलाई उद्योगसँग जोड्न चेम्बर र बागमती विश्वविद्यालयबीच सम्झौता
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौतामार्फत दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माताबीच समन्वयात्मक वातावरण निर्माण गर्दै उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन क्षमता अभिवृद्धि तथा संस्थागत उत्कृष्टताका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । सम्झौताअनुसार विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन, क्षमता अभिवृद्धि, स्टार्टअप तथा नवप्रवर्तन प्रवद्र्धन, लगानी प्रोत्साहन, रणनीतिक नेटवर्किङ, अनुसन्धान तथा नीतिगत अध्ययन, ज्ञान आदानप्रदान तथा भविष्यकेन्द्रित शैक्षिक कार्यक्रम विकासका क्षेत्रमा संयुक्त रूपमा काम गरिनेछ । नेपाल चेम्बर अफ कमर्सले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गर्ने, संयुक्त कार्यक्रमहरूमा सहभागिता बढाउने तथा व्यवसायिक वातावरणसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेछ । त्यस्तै, बागमती विश्वविद्यालयका विद्यार्थीका लागि इन्टर्नशिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहयोग गर्ने, अनुसन्धान कोष तथा छात्रवृत्ति सहयोग कार्यक्रम स्थापना गर्ने र उद्योग जगत्का अनुभवी व्यवसायिक नेतृत्वलाई अतिथि वक्ताका रूपमा विश्वविद्यालयसँग जोड्ने व्यवस्था गरिएको छ । बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप तथा नवप्रवर्तनका लागि परामर्श र मार्गदर्शन प्रदान गर्ने तथा उद्योग–शिक्षा सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ । विश्वविद्यालयले सेमिनार, नीति संवाद तथा सम्मेलनहरू आयोजना गर्नेछ । समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ । दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आजको समयको आवश्यकताअनुसार विश्वविद्यालयहरूले परम्परागत शिक्षा प्रणालीभन्दा बाहिर निस्किएर उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयहरूको मुख्य उद्देश्य केवल रोजगारी खोज्ने जनशक्ति उत्पादन गर्नु नभई रोजगारी सिर्जना गर्ने उद्यमी र नेतृत्वकर्ता तयार गर्नु रहेको बताए । 'आजको विश्वमा ज्ञान मात्र पर्याप्त छैन, त्यसलाई व्यवसाय, उद्योग र नवप्रवर्तनसँग जोड्न सक्ने क्षमता आवश्यक छ,' उनले भने । अध्यक्ष अग्रवालले उद्योग र शिक्षाबीचको दूरी घटाउन यस्ता सहकार्य अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति बजारको वास्तविक आवश्यकताअनुसार दक्ष बन्नुपर्ने बताए । बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले विश्वविद्यालय शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यवहारिक रूपमा जोड्ने अवधारणाअनुसार अघि बढिरहेको बताए । उनले नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्ने, अनुसन्धानलाई व्यवहारिक बनाउने तथा स्टार्टअप र नवप्रवर्तनका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त
काठमाडौं । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन् । उनलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा पदमा नियुक्त गरेकी हुन् । ठाकुरले मेहतासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । शपथ ग्रहणसँगै ठाकुरले अब परिषद्को नेतृत्व सम्हाल्नेछन् ।
एक मृतकबाट ८ जनालाई जीवनदान, नेपालमा अंगदानको अवस्था यस्तो
काठमाडौं । एक व्यक्तिको जीवन समाप्त भएपछि पनि उसका अंगले अरू धेरैको जीवन बचाउन सक्छन् । यद्यपि नेपालमा अंगदानप्रतिको चेतना र सामाजिक सोचको अभावका कारण यस्तो सम्भावना अझै सीमित छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पछिल्लो नौ वर्षमा मस्तिष्क मृत्यु भएका नौ जनाबाट २३ वटा अंग झिकेर प्रत्यारोपण गरिएको छ । केन्द्रका अनुसार ती मृतकबाट प्राप्त १७ वटा मिर्गौला, पाँच वटा कलेजो र एक वटा संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण गरिएको हो । केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग झिकेर प्रत्यारोपण गर्ने कार्यक्रमको सुरुवात २०७४ वैशाख २८ गते भएको थियो । त्यस दिन मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको मिर्गौला दुई जनामा प्रत्यारोपण गरिएको थियो । त्यसयता नौ वर्षमा नौ जना मस्तिष्क मृतकबाट २३ वटा अंग प्रत्यारोपण सम्भव भएको केन्द्रले जनाएको छ । एउटै व्यक्तिबाट लिन सकिन्छ आठवटा अंग मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट आठ प्रकारसम्मका अंग झिकेर अन्य बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ । अर्थात्, एक व्यक्तिको मृत्युपछि गरिने अंगदानले एक होइन, आठ जनासम्मको जीवन बचाउन सक्ने सम्भावना हुन्छ । तर नेपालमा अंगदानको सम्भावना र वास्तविकता भने निकै फरक छ । स्वास्थ्यकर्मीका अनुसार परम्परागत सोच, अन्धविश्वास र अंगदानसम्बन्धी पर्याप्त जनचेतना नहुँदा मृतकका आफन्त अंगदान गर्न सहजै तयार हुँदैनन्। कतिपय अवस्थामा लामो परामर्शपछि आफन्त अंगदान गर्न तयार भए पनि सबै अंग दिन भने इच्छुक हुँदैनन् । एउटा अंग दान गर्न तयार भए पनि अन्य अंग दिन अस्वीकार गर्ने अवस्थासमेत रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । यसका कारण प्रत्यारोपण गर्न सकिने धेरै अंग प्रयोगविहीन हुने गरेका छन् । सडक दुर्घटनामा हजारौंको मृत्यु, अंगदान भने न्यून नेपालमा सम्भावित मृत अंगदाताको संख्या निकै ठूलो भए पनि त्यसअनुसार अंगदान हुन सकेको छैन । नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । त्यसमध्ये ठूलो संख्यामा मस्तिष्क मृत्यु हुने गरेको स्वास्थ्य क्षेत्रका अधिकारीहरू बताउँछन् । उपलब्ध तथ्यांकलाई आधार मान्दा नौ वर्षको अवधिमा मात्रै सडक दुर्घटनासहित विभिन्न कारणले हजारौं व्यक्तिको मस्तिष्क मृत्यु भएको हुनसक्छ। तर त्यसमध्ये अत्यन्तै थोरै व्यक्तिबाट मात्रै अंगदान भएको छ । यसले नेपालमा समस्या अंगदाताको सम्भावित अभावभन्दा पनि अंगदान गर्ने सामाजिक वातावरण र प्रणालीको कमजोरीमा छ कि छैन भन्ने प्रश्न उठाएको छ । नेपालमा मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी कानुनमा २०७२ सालमा संशोधन गरिएको थियो । संशोधनमार्फत नातेदार दाताको दायरा विस्तार गर्नुका साथै गैरनातेदारबीच अंग साटासाट र मस्तिष्क मृत्यु भएपछि हुने अंगदानलाई थप व्यवस्थित गर्ने व्यवस्था गरिएको छ । कानुनी व्यवस्था विस्तार भए पनि व्यवहारमा भने अंगदान अझै सहज बन्न सकेको छैन । मृतकका आफन्तलाई अंगदानका लागि तयार पार्ने, मस्तिष्क मृत्यु पहिचान गर्ने, समयमै अंग सुरक्षित गर्ने र आवश्यक बिरामीसम्म पुर्याउने प्रक्रियामा चुनौती रहेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा विश्वभर करिब १ लाख २७ हजार ७२७ वटा अंग प्रत्यारोपण भएका थिए । विश्वभर अंग प्रत्यारोपणको दायरा विस्तार भइरहेका बेला नेपालमा भने सम्भावित अंगदाताको तुलनामा प्रत्यारोपणका लागि उपलब्ध हुने अंगको संख्या निकै न्यून छ ।