भोक पहिलेभन्दा कम लागिरहेको छ ? तनावबाहेक यी पनि हुन सक्छन् कारण

काठमाडौं । पहिलेको तुलनामा भोक कम लाग्ने र दैनिक खाना घट्दै गएको छ भने त्यसलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन । कहिलेकाहीँ मौसम परिवर्तन, तनाव, भाइरल संक्रमण वा औषधिको असरले केही दिनका लागि भोक कम हुन सक्छ ।  तर लामो समयसम्म भोक कम भइरहेमा, प्रयास नगर्दा पनि तौल घट्न थालेमा वा ज्वरो, बान्ता, पेट दुख्ने तथा खाना निल्न कठिन हुनेजस्ता लक्षण देखिएमा स्वास्थ्य समस्याको संकेत हुन सक्छ । हरेक व्यक्तिको भोक एउटै हुँदैन । उमेर, शारीरिक गतिविधि, मौसम र स्वास्थ्य अवस्थाअनुसार भोकमा परिवर्तन आउन सक्छ । एक–दुई दिन भोक कम लागेर फेरि सामान्य अवस्थामा फर्किएमा सामान्यतः धेरै चिन्ता गर्नुपर्दैन । तर लगातार दुई साताभन्दा बढी समय भोक कम भइरहेमा वा पहिलेको तुलनामा निकै कम खाना खान थालिएमा यसको कारण पत्ता लगाउनु आवश्यक हुन्छ । लामो समयसम्म भोक कम हुँदा शरीरमा पोषक तत्वको कमी, कमजोरी र तौल घट्ने समस्या हुन सक्छ । कहिले सामान्य र कहिले चिन्ताको विषय ?  मेडलाइन प्लसका अनुसार अत्यधिक गर्मी, भाइरल संक्रमण, पेट खराब हुनु, यात्रा, निद्राको कमी वा भावनात्मक तनावका कारण केही दिन भोक कम हुन सक्छ । तर भोकमा आएको कमी लगातार भइरहेमा, प्रयास नगर्दा तौल घट्न थालेमा वा दैनिक कामकाजमा असर पर्न थालेमा शरीरभित्रको कुनै समस्याको संकेत हुन सक्छ । भोक कम हुनुका सामान्य कारण फ्लु, कोभिड–१९, डेंगु, टाइफाइडलगायत संक्रमण हुँदा शरीरको ऊर्जा रोगसँग लड्न प्रयोग हुन्छ । त्यसक्रममा भोक कम हुनु सामान्य प्रतिक्रिया हुन सक्छ । संक्रमण निको भएपछि अधिकांश अवस्थामा भोक पनि सामान्य अवस्थामा फर्किन्छ । पाचन प्रणालीमा समस्या एसिडिटी, ग्यास्ट्राइटिस, अल्सर, कब्जियत, इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस) तथा कलेजोसँग सम्बन्धित समस्याले पनि भोक कम गराउन सक्छ । खाना खाएपछि पेट दुख्ने, पोल्ने वा भारी हुने समस्या भएमा मानिसले बिस्तारै खाना कम गर्न सक्छ। औषधिको असर केही एन्टिबायोटिक, क्यान्सरको औषधि, दुखाइ कम गर्ने औषधि, डिप्रेसनको औषधि तथा मधुमेहका औषधिले पनि भोक कम गराउन सक्छन् । नयाँ औषधि सेवन सुरु गरेपछि भोक कम भएको हो भने चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ। तनाव र डिप्रेसनले पनि भोक घटाउन सक्छ मानसिक स्वास्थ्यको असर भोकमा पनि पर्न सक्छ । तनावका कारण शरीरमा कोर्टिसोललगायत हर्मोनको स्तरमा परिवर्तन आउँदा केही व्यक्तिमा भोक बढ्न सक्छ भने केहीमा घट्न सक्छ । डिप्रेसन भएका व्यक्तिमा खाना खाने इच्छा कम हुनु, तौल घट्नु र ऊर्जा कम हुनुजस्ता लक्षण देखिन सक्छन् । यदि दुई साताभन्दा बढी समय उदासी, कुनै काममा रुचि नलाग्ने र भोकमा परिवर्तनजस्ता समस्या कायम रहेमा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ । भोक कम हुनु गम्भीर रोगको संकेत पनि हुन सक्छ  लगातार भोक कम लाग्नु कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्याको सुरुवाती संकेत पनि हुन सक्छ । यसमा थाइराइडको समस्या, कलेजो तथा मिर्गौलाको रोग, क्यान्सर र दीर्घकालीन संक्रमण पर्न सक्छन् । थाइराइडसम्बन्धी समस्याले भोक र शरीरको मेटाबोलिज्ममा असर गर्न सक्छ । कलेजो वा मिर्गौलाको समस्या हुँदा शरीरमा विषाक्त पदार्थ जम्मा भएर वाकवाकी लाग्ने र भोक कम हुने हुन सक्छ । त्यस्तै, केही प्रकारका क्यान्सरमा कारणबिना तौल घट्नु र भोक कम हुनु प्रारम्भिक लक्षणका रूपमा देखिन सक्छ । क्षयरोग (टीबी), एचआईभीलगायत लामो समय रहने संक्रमणले पनि भोक घटाउन सक्छ। भोक कम लाग्दैमा सधैं गम्भीर रोग भएको हुँदैन । तर लामो समयसम्म समस्या कायम रहेमा वा तौल घट्ने, लगातार ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने वा अत्यधिक कमजोरी जस्ता लक्षण देखिएमा बेवास्ता गर्नु हुँदैन । समयमै स्वास्थ्य परीक्षण गराउँदा समस्याको कारण पत्ता लगाउन र आवश्यक उपचार सुरु गर्न सकिन्छ । सन्तुलित आहार, नियमित दिनचर्या, पर्याप्त निद्रा र तनाव व्यवस्थापनले पनि भोकलाई सामान्य राख्न सहयोग गर्छ । भोक लगातार कम भइरहेमा आफैं औषधि सेवन गर्नुको सट्टा चिकित्सकसँग परामर्श गर्नु सुरक्षित हुन्छ ।

बुढीचौरको प्राकृतिक सुन्दरतामा रमाउँदै आन्तरिक पर्यटक

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित बुढीचौर पछिल्लो समय आन्तरिक पर्यटकको एक प्रमुख गन्तव्यका रूपमा उदयमान भइरहेको छ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व, धार्मिक सम्पदा र साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्र अहिले प्रकृतिप्रेमी पर्यटकहरूको रोजाइमा पर्न थालेको हो । तराईको राप र हेटौँडाको गर्मीबाट राहत खोज्नेहरूका लागि करिब २० देखि २५ किलोमिटरको दूरीमा रहेको बुढीचौर एक शीतल गन्तव्य बनेको छ । यहाँको स्वच्छ हावापानी र यात्राका क्रममा देखिने मनोरम पहाडी दृश्यले पर्यटकलाई निकै लोभ्याउने गरेको छ । पछिल्लो समय यहाँ निर्माण गरिएको रेलिङ र पदमार्ग सामाजिक सञ्जालमा चर्चामा आएपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयले बताएका छन् । हाल बुढीचौरमा दैनिक १५० देखि २०० सम्म मोटरसाइकल, अटो, साना विद्युतीय गाडी (ईभी) तथा टाटा सुमोमार्फत पर्यटकहरू पुग्ने गरेका छन् । काठमाडौं र हेटौँडालगायतका क्षेत्रबाट आउने पर्यटकहरूले यहाँको शान्त वातावरण र प्राकृतिक दृश्यलाई अन्तर्राष्ट्रिय स्तरका च्यानलमा देखिने दृश्यसँग तुलना गर्ने गरेका छन् । हेटौँडाबाट घुम्न पुगेका पर्यटक दिलीपकुमार श्रेष्ठ भन्छन्, ‘तराईको गर्मीबाट केही किलोमिटरकै यात्रामा यस्तो शीतल र शान्त ठाउँ भेटिनु अद्भुत छ । यहाँको वातावरण निकै आनन्ददायी छ ।’ पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको बुढीचौर आन्तरिक पर्यटकका लागि एक आकर्षक गन्तव्यका रूपमा उदय भइरहेको छ । सुरुमा सामान्य गाउँ वा जमघट हुने थलोका रूपमा चिनिए पनि प्रत्यक्ष भ्रमणका क्रममा यस क्षेत्रको प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई आकर्षित गरिरहेको पाइएको छ । बुढीचौर पुग्ने पर्यटकहरूले यस क्षेत्रको प्राकृतिक बनावट र दृश्यलाई विश्वस्तरीय च्यानलहरूमा देखाइने मनोरम दृश्यहरूसँग तुलना गर्न थालेका छन् । नजिकैको गर्मी क्षेत्रबाट करिब २०–२५ किलोमिटरको दूरीमा रहेको यो स्थान पुग्ने बाटो र वरपरको वातावरण निकै मनमोहक रहेको भ्रमणमा आएका पर्यटकहरू बताउँछन् । विशेष गरी मोटरसाइकल यात्रामार्फत यहाँ पुग्नेहरूले बाटोमा देखिने प्राकृतिक दृश्यहरूको उच्च प्रशंसा गरेका छन् । पर्यटक राम श्रेष्ठका अनुसार सामाजिक सञ्जालमा देखिएको भन्दा प्रत्यक्ष भ्रमणमा बुढीचौर अझ उत्कृष्ट र सुन्दर रहेको छ । उहाँले यस क्षेत्रको भौगोलिक बनावट र वातावरणीय अनुकूलताले जोसुकैलाई पनि मोहित पार्ने उल्लेख गरे । यस क्षेत्रको विकासका सम्बन्धमा श्रेष्ठ भन्छन्, ‘सरकारले यस ठाउँको विकासमा अलिकति मात्र ध्यान पुर्‍याउने हो भने बुढीचौरलाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य र स्थानीय आयस्रोतको बलियो माध्यम बनाउन सकिने देखिन्छ ।’ प्रचुर पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माण र सरकारी स्तरबाट ठोस योजनाको खाँचो रहेको सरोकारवालाहरूको बुझाइ छ । बुढीचौरको धार्मिक तथा ऐतिहासिक पक्ष पनि उत्तिकै सबल छ । यहाँको रिखेश्वर गुफा धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण मानिन्छ । ऐतिहासिक रूपमा खुडेधार पदमार्गलाई नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले प्रयोग गरेको सम्भावित गुप्त मार्गका रूपमा स्थानीयले चर्चा गर्ने गरेका छन् । यस क्षेत्रमा रहेको सामरी खोलाको मुहान र प्राकृतिक झरनाहरूले पर्यटकलाई थप आकर्षण प्रदान गर्दछन् । बुढीचौरको अर्को मुख्य विशेषता यहाँको क्षण–क्षणमा बदलिने मौसम हो । कहिले कुहिरोले डाँडाकाँडा ढाक्ने त कहिले खुल्ने दृश्यले यहाँको सौन्दर्यमा निखार ल्याउँछ । बाह्रै महिना चिसो हावापानी रहने यस क्षेत्रलाई तरकारी खेतीको महत्त्वपूर्ण ‘हब’ का रूपमा पनि चिनिन्छ । यहाँ उत्पादित ताजा गोलभेंडा, काउली, बन्दागोभी, आलु र सागसब्जीले स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याएका छन् । पर्यटकीय चहलपहल बढ्न थालेपछि स्थानीय बासिन्दाले रैथाने उत्पादनहरू जस्तै काँक्रो, दही, दूध र मोही बिक्री गरेर आम्दानी गर्न थालेका छन् । स्थानीय बासिन्दा कर्णराज विश्वकर्माले भने, ‘पर्यटकको आगमनले स्थानीय उत्पादनको बजारीकरणमा ठूलो सहयोग पुगेको छ ।’ बुढीचौरलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पदयात्रा (ट्रेकिङ), क्याम्पिङ, साइक्लिङ र फोटोग्राफीका पूर्वाधारहरू थप गर्नुपर्ने देखिन्छ । स्थानीयले खुडेधार पदमार्गको स्तरोन्नति, सूचना केन्द्रको स्थापना, विश्रामस्थल, दृश्यावलोकन टावर (भ्यू टावर) र होमस्टे सञ्चालनमा सरकारले लगानी गर्नुपर्ने माग गरेका छन् । सरकारी स्तरबाट योजनाबद्ध रूपमा पूर्वाधार विस्तार र प्रचारप्रसार गर्न सके बुढीचौर निकट भविष्यमै बागमती प्रदेशकै एक उत्कृष्ट प्राकृतिक, ऐतिहासिक र साहसिक पर्यटकीय गन्तव्य बन्ने निश्चित छ ।

काठमाडौं महानगरले विद्यालयहरूको लेखापरीक्षण गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयहरूको लेखापरीक्षण गर्ने भएको छ । काठमाडौं महानगर शिक्षा ऐन-२०७५ को नियम १७ को खण्ड ब बमोजिम महानगर क्षेत्रभित्रका विद्यालयहरूको गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम लेखापरीक्षण गर्न लागेको हो ।  महानगरपालिकाले ३० दिनभित्र इच्छुक दर्तावाल लेखापरीक्षकले आवश्यक कागजात स्क्यान गरी इमेलमार्फत आशयपत्र पेश गर्नुपर्ने जनाएको छ । आशयपत्र पेश गर्दा कुनै शुल्क नलाग्ने र आवेदकले स्पष्ट सम्पर्क नम्बर तथा इमेल ठेगाना अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । सामुदायिक विद्यालयको लेखापरीक्षण गर्न इच्छुक लेखापरीक्षकले लेखापरीक्षण गर्ने आशयको निवेदनसँगै लेखापरीक्षण इजाजतपत्र, आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण गरेको प्रमाण, करचुक्ता प्रमाणपत्र तथा नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्नेछ । फर्म वा कम्पनीका हकमा अद्यावधिक प्रमाणपत्रसमेत बुझाउनुपर्ने महानगरपालिकाले जनाएको छ । हार्डकपी भने स्वीकार नगरिने जनाएको छ । यस्तै, संस्थागत विद्यालयका हकमा सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएको इजाजतपत्र र करचुक्ता प्रमाणपत्र भएका कम्तीमा तीन जना दर्तावाल लेखापरीक्षकको सिफारिस गरी महानगरपालिकाको शिक्षा विभागमा पठाउनुपर्नेछ । महानगरपालिकाका अनुसार विगतमा महानगरपालिकाबाट नियुक्त भएका लेखापरीक्षकले आफूलाई खटाइएको विद्यालयको लेखापरीक्षण तोकिएको समयमा सम्पन्न नगरेको वा समयमै प्रतिवेदन नबुझाएको भए त्यस्ता लेखापरीक्षकलाई छनोट प्रक्रियामा समावेश गरिने छैन । लेखापरीक्षण सम्पन्न भएपछि प्रतिवेदनको एक प्रति सम्बन्धित विद्यालय, एक प्रति शिक्षा विभाग र एक प्रति आन्तरिक लेखापरीक्षण एकाइमा सक्कल रूपमा बुझाउनुपर्नेछ । साथै, प्रतिवेदनको विद्युतीय प्रति पनि महानगरपालिकाले तोकेको इमेल ठेगानामा पठाउनुपर्नेछ । तोकिएको समयमा सक्कल तथा विद्युतीय प्रति पेश नगरेमा नियुक्ति बदर गरी सूचीमा रहेका अन्य लेखापरीक्षकलाई नियुक्त गर्न सकिने महानगरपालिकाले जनाएको छ । लेखापरीक्षणबापतको पारिश्रमिक काठमाडौं महानगरपालिका विद्यालय लेखापरीक्षण कार्यविधि, २०७५ अनुसार उपलब्ध गराइनेछ ।