३६ विद्यालयमा प्रधानाध्यापक रिक्त, महानगरले माग्यो आवेदन
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा सञ्चालित सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाको शिक्षा विभागका अनुसार २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालयमा रिक्त रहेका तथा पदावधि समाप्त हुन एक महिनाभन्दा कम समय बाँकी रहेका विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग गरिएको हो । शिक्षा नियमावली, २०५९ (दशौं संशोधनसहित) को नियम ९३ को उपनियम (२) तथा महानगरपालिकाको निर्णयअनुसार आवश्यक योग्यता पुगेका स्थायी शिक्षकहरूले सम्बन्धित विद्यालयमा आवेदन दिन सक्नेछन् । इच्छुक उम्मेदवारहरूले आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित भदौ १६ गतेभित्र सम्बन्धित विद्यालयमा रीतपूर्वक दरखास्त पेस गर्नुपर्नेछ । प्रधानाध्यापक पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया, आवेदन फारामको ढाँचा तथा विज्ञापन गरिएका विद्यालयहरूको विस्तृत विवरण काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट वा शिक्षा विभागबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
मुख सुक्ने समस्या छ ? थाइराइडसँग हुनसक्छ यस्तो सम्बन्ध
काठमाडौं । मुख सुक्ने समस्यालाई धेरैले सामान्य रूपमा लिने गर्छन् । तर, पटक–पटक मुख सुक्ने र र्याल कम बन्ने समस्या छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । यस्तो समस्या थाइराइडसँग पनि सम्बन्धित हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् । थाइराइड हर्मोनको स्तर कम वा बढी हुँदा मुखमा र्याल उत्पादन कम हुन सक्ने बताइएको छ । यसका कारण मुखमा सुख्खापन महसुस हुने अवस्थालाई चिकित्सकीय भाषामा जेरोस्टोमिया (ड्राई माउथ) भनिन्छ । र्यालले मुखलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले खाना चपाउन र निल्न सहज बनाउनुका साथै खानामा रहेको स्टार्च पचाउन पनि सहयोग गर्छ । र्यालमा पाइने क्याल्सियम र फस्फेटले दाँतलाई बलियो बनाउन तथा दाँतसम्बन्धी समस्याबाट जोगाउन सहयोग गर्ने जनाइन्छ । थाइराइड ग्रन्थीले शरीरको मेटाबोलिजम नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ । थाइराइडबाट उत्पादन हुने टी–३ र टी–४ हर्मोनले र्यालग्रन्थीको कार्यमा पनि प्रभाव पार्न सक्छ । त्यसैले थाइराइड हर्मोनको स्तरमा असन्तुलन हुँदा र्यालको उत्पादन प्रभावित हुन सक्ने बताइएको छ । थाइराइड ग्रन्थीले शरीरलाई आवश्यक मात्रामा हर्मोन उत्पादन गर्न नसक्ने अवस्थालाई हाइपोथाइरायडिज्म भनिन्छ । यस्तो अवस्थामा शरीरका कोषिकामा ऊर्जा उत्पादन कम हुने र त्यसको प्रभाव र्यालग्रन्थीमा पनि पर्न सक्ने बताइएको छ । यसले र्यालको मात्रा घटाएर मुख सुक्ने समस्या निम्त्याउन सक्छ । हाइपोथाइरायडिज्मको सामान्य कारणमध्ये हाशिमोटो थाइरायडाइटिस पनि एक हो । यो एक प्रकारको अटोइम्युन अवस्था हो, जसमा शरीरको प्रतिरक्षा प्रणालीले थाइराइड ग्रन्थिमाथि नै असर गर्छ । यस्तो अवस्थामा पनि मुख सुक्ने समस्या देखिन सक्ने बताइएको छ । थाइराइड अत्यधिक सक्रिय हुँदा अर्थात् हाइपरथाइरायडिज्मको अवस्थामा पनि र्यालको उत्पादन घट्न सक्छ । मेटाबोलिक दर बढ्दा शरीरमा तरल पदार्थ छिटो कम हुन सक्ने भएकाले मुख सुक्ने समस्या देखिन सक्छ । यसका साथै हाइपरथाइरायडिज्ममा हुने तनाव र चिन्ताले सिम्प्याथेटिक नर्भस सिस्टम सक्रिय गराउन सक्छ । यसले पनि र्याल उत्पादनमा कमी ल्याउन सक्ने बताइएको छ । थाइराइड क्यान्सरको उपचारमा रेडियोएक्टिभ आयोडिन प्रयोग गरिने अवस्थामा र्यालग्रन्थीमा असर पर्न सक्छ । यसका कारण मुख सुक्ने तथा खानाको स्वादमा परिवर्तन हुने समस्या देखिन सक्ने बताइएको छ । थाइराइडसँग सम्बन्धित ड्राई माउथको समस्या कम गर्न केही उपाय अपनाउन सकिन्छ । धेरै नुनिलो खाना तथा ड्राइ मिटबाट बच्ने । तम्बाकु, मदिरा, क्याफिन तथा कार्बोनेटेड पेय पदार्थ कम गर्ने । पालुंगो, हरियो सागसब्जी, माछालगायत पोषक तथा आइरनयुक्त खानेकुरा समावेश गर्ने । नियमित रूपमा पानी पिउने । मुख तथा दाँतको नियमित सरसफाइ गर्ने । र्याल उत्पादन बढाउन सुगर–फ्री क्यान्डी प्रयोग गर्न सकिने । राति सुत्दा कोठामा ह्युमिडिफायर प्रयोग गर्न सकिने । ड्राई माउथको कारण थाइराइडसँग सम्बन्धित भएमा चिकित्सकको सल्लाहअनुसार थाइराइडको औषधि नियमित सेवन गर्नु महत्त्वपूर्ण हुन्छ । आवश्यकताअनुसार चिकित्सकले र्याल उत्पादन बढाउने औषधि वा सुगर–फ्री क्यान्डी प्रयोग गर्न सुझाव दिन सक्छन् । केही अवस्थामा र्याल उत्पादन बढाउन विद्युतीय स्टिमुलेसन वा अन्य उपचार विधि प्रयोग गर्न सकिने स्रोतमा उल्लेख छ । साथै दाँत तथा मुखको स्वास्थ्यमा समस्या आउन नदिन समय–समयमा दन्त परीक्षण गराउनु आवश्यक हुन्छ । मुख लामो समयसम्म सुकिरहने, र्याल निकै कम बन्ने वा समस्या निरन्तर बढ्दै गएमा आफै उपचार नगरी चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।
'अदालतको आदेशविपरीत टेलिकमको वीरगञ्ज कार्यालय भत्काइयो'
काठमाडौं । नेपाल टेलिकमले उच्च अदालतको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन भत्काइएको भन्दै आपत्ति जनाएको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले वीरगञ्जको मुख्य सडक विस्तारसम्बन्धी कार्य तत्काल नगर्न/नगराउन दिएको अल्पकालीन अन्तरिम आदेशकै बीच सडक डिभिजन कार्यालय हेटौंडाले घण्टाघरनजिक रहेको दूरसञ्चार कार्यालय वीरगञ्जको भवन भत्काएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सडक डिभिजन कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय पर्सालगायतलाई विपक्षी बनाई साउन २८ गते रिट निवेदन दायर गरेकी थिइन् । त्यसपछि अदालतले साउन २९ गते मुख्य सडक विस्तारसम्बन्धी कार्य तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । ०८३–डब्लू–००८५ नम्बरको मुद्दामा अदालतले विपक्षीलाई मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो भन्ने विषयमा प्रमाणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । म्याद तामेल भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत भनिएको थियो । तर, आदेशपछि पनि सडक डिभिजन कार्यालय हेटौंडाले दूरसञ्चार कार्यालय वीरगञ्जको भवन भत्काएको टेलिकमको आरोप छ । टेलिकमका अनुसार नापी विभागबाट तय गरिएको नक्सांकनभन्दा फरक हुने गरी साउन ३० र ३१ गते दुईवटा स्काभेटर प्रयोग गरेर भवन भत्काइएको हो । अदालतले भदौ ४ गते अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि पेसी तोकेको थियो । साथै, आदेशको जानकारी विपक्षीलाई यथाशीघ्र गराउन निर्देशनसमेत दिएको टेलिकमले जनाएको छ । स्वीकृत मापदण्डभित्र रहेर भवनको संरचना पुनर्निर्माण गर्न आफू प्रतिबद्ध रहेको अवस्थामा एकपक्षीय रूपमा भवन भत्काइएको भन्दै नेपाल टेलिकमले असन्तुष्टि जनाएको छ । कम्पनीले आगामी दिनमा सम्बन्धित निकायबाट थप समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।