संस्थापक दिवसमा दिवाकर गोल्छा अर्गनाइजेशनद्वारा स्वास्थ्य, शिक्षा र वातावरणमा योगदान

काठमाडौं । दिवाकर गोल्छा अर्गनाइजेशनले आफ्ना संस्थापक स्वर्गीय दिवाकर गोल्छाको ७२औं जन्मजयन्ती तथा संस्थापक दिवसका अवसरमा देशभर विभिन्न सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले साउन १३ गतेलाई संस्थापक दिवसका रूपमा मनाउँदै आएको जनाएको छ । औद्योगिकीकरण, उद्यमशीलता विकास र स्वदेशमै रोजगारी सिर्जनामा स्वर्गीय गोल्छाले पुर्‍याएको योगदानको सम्मानस्वरूप प्रत्येक वर्ष यो दिवस विशेष कार्यक्रमसहित मनाउने गरिएको विज्ञप्तिमा उल्लेख छ । संस्थापक दिवसको अवसरमा उद्योगका विभिन्न कारखाना, काठमाडौंस्थित कर्पोरेट कार्यालय तथा अन्य शाखामा विविध कार्यक्रम आयोजना गरिएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, उत्कृष्ट कर्मचारी सम्मान, वृक्षारोपण, विद्यालय तथा वृद्धाश्रममा भोजन वितरणलगायतका कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । यसै अवसरमा किर्तिपुर अस्पताललाई डायलाइसिस उपकरण पनि हस्तान्तरण गरिएको छ । संस्थाले स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने उद्देश्यले उक्त उपकरण उपलब्ध गराएको जनाएको छ । दिवाकर गोल्छा अर्गनाइजेशनका अनुसार स्वर्गीय गोल्छाको औद्योगिकीकरण र स्वदेशमै रोजगारी सिर्जना गर्ने सोचलाई निरन्तरता दिँदै देशका विभिन्न स्थानमा जस्तापाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, एल्युमिनियम, स्टिलका भाँडाकुँडा, जीआई, कपर वायर तथा इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन भइरहेका छन् । ती उद्योगमार्फत करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले नेपालकै पहिलो स्टिल उद्योगका रूपमा स्थापित हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले ४५ वर्षको यात्रामा देशको औद्योगिक विकास, अर्थतन्त्र र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्‍याएको जनाएको छ । दिवाकर गोल्छा फाउन्डेसनमार्फत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोगसहितका कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गर्दै संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘मोस्ट वान्टेड’ सूचीमा टेलिग्रामका संस्थापक पाभेल डुरोभ

काठमाडौं । मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा मालिक पाभेल डुरोभ अन्तर्राष्ट्रिय खोजी सूची (इन्टरनेशनल वान्टेड लिस्ट) मा परेका छन् । रुसको प्रमुख आन्तरिक सुरक्षा निकायले बुधबार आतंकवादमा सहयोग गरेको अभियोग लगाउँदै उनलाई इन्टरनेशनल वान्टेड लिस्टमा राखेको हो । रुसमा जन्मिएका तथा आफ्नो व्यवसायिक यात्रा त्यहीँबाट सुरु गरेका डुरोभ पछि विदेश बसाइँ सरेका थिए । रुसले देशकै सबैभन्दा लोकप्रिय सन्देश आदान–प्रदान एपमध्ये एक टेलिग्राममाथि थप प्रतिबन्ध पनि लगाइरहेको छ ।  यो कदम फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता क्रेम्लिनले इन्टरनेटमाथि पूर्ण नियन्त्रण स्थापित गर्ने दीर्घकालीन प्रयासको निरन्तरता मानिएको छ । रुसको फेडरल सेक्युरिटी सर्भिस (एफएसबी) ले जारी गरेको विज्ञप्तिमा टेलिग्राम प्रशासनले ‘धेरै च्यानल, च्याट र बोट’ हटाउन असफल भएको आरोप लगाएको छ ।  ती माध्यमहरूलाई युक्रेनी गुप्तचर निकाय, आतंकवादी तथा अतिवादी संगठनहरूले रुसभित्र तोडफोड, आतंकवादी गतिविधि, सामूहिक हत्या तथा साइबर ठगीको योजना बनाउन र समन्वय गर्न सक्रिय रूपमा प्रयोग गरेको र यसका कारण धेरै मानवीय क्षति भएको एफएसबीको दाबी छ । एफएसबीले युक्रेनका सुरक्षा निकायहरूले टेलिग्राममा रहेको लोकप्रिय डेटिङ च्याटबोट प्रयोग गरेर रुसी नागरिकलाई तोडफोड तथा आतंकवादी गतिविधिमा संलग्न गराउन फकाउने र भर्ती गर्ने गरेको आरोप पनि लगाएको छ ।  सन् २०२५ को जुलाईयता उक्त च्याटबोट प्रयोग गरेका १२ देखि २२ वर्ष उमेर समूहका ४६ जनालाई रुसभरि पक्राउ गरिएको, उनीहरूविरुद्ध सुरक्षाकर्मीमाथि आक्रमण, आगजनीलगायतका आरोप रहेको एफएसबीले जनाएको छ । डुरोभले यस वर्षको सुरुमै रुसी अधिकारीहरूले आफूमाथि आपराधिक अनुसन्धान सुरु गरेको जानकारी दिएका थिए । उनले टेलिग्राममाथिको पहुँच सीमित गर्न कृत्रिम बहाना बनाइएको र यो व्यक्तिगत गोपनीयता तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार दबाउने प्रयास भएको आरोप लगाएका थिए । यदि उनी दोषी ठहरिएमा रुसमा आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ । टेलिग्रामले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । कम्पनीको आधिकारिक वेबसाइटअनुसार टेलिग्रामको मुख्यालय दुबईमा रहेको छ । संयुक्त अरब इमिरेट्स (युएई) र फ्रान्सको दोहोरो नागरिकता भएका डुरोभ पनि दुबईमै बसोबास गर्छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले इन्टरनेटमाथि नियन्त्रण बढाउन विभिन्न उपाय अपनाउँदै आएको छ । सरकारले कडा कानुन लागू गरेको, नियम नमानेका वेबसाइट र डिजिटल प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको तथा अनलाइन गतिविधिको निगरानी र नियन्त्रण गर्ने प्रविधि विस्तार गरेको छ । रुसमा फेसबुक, इन्स्टाग्राम र एक्स (पूर्व ट्विटर) जस्ता लोकप्रिय सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ । युट्युबको सेवा सीमित गरिएको छ भने सिग्नल र भाइबरजस्ता मेसेजिङ एप अवरुद्ध गरिएका छन्। सबैभन्दा धेरै प्रयोग हुने ह्वाट्सएप र टेलिग्राममाथि पनि विभिन्न प्रतिबन्ध लगाइएको छ । डुरोभले टेलिग्राम सुरु गर्नुअघि स्थापना गरेको फेसबुकजस्तै रुसी सामाजिक सञ्जाल भीके अहिले क्रेम्लिन निकट कम्पनीहरूको नियन्त्रणमा पुगेको छ । रुसले सन् २०१८ देखि २०२० सम्म टेलिग्राम बन्द गर्ने प्रयास गरे पनि त्यसमा सफल हुन सकेको थिएन । यद्यपि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर केही प्रतिबन्ध छल्न अझै सम्भव भए पनि यस्ता सेवामाथि पनि नियमित रूपमा अवरोध लगाइँदै आएको छ । यसैबीच, रुसले म्याक्स नामक ‘राष्ट्रिय’ मेसेजिङ एपलाई सक्रिय रूपमा प्रवद्र्धन गरिरहेको छ । आलोचकहरूका अनुसार यो एप निगरानीका लागि प्रयोग हुन सक्ने जोखिम छ ।  विकासकर्ता र सरकारी अधिकारीहरूले यसलाई सन्देश आदान–प्रदान, सरकारी अनलाइन सेवा, डिजिटल भुक्तानीलगायत सबै सुविधा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने एपका रूपमा प्रचार गरेका छन् ।  प्रयोगकर्ताको जानकारी सरकारी निकायको मागअनुसार उपलब्ध गराइने कुरा यसले खुला रूपमा उल्लेख गरेको छ भने विज्ञहरूका अनुसार यसमा ‘एन्ड–टु–एन्ड इन्क्रिप्सन’ पनि प्रयोग गरिएको छैन । डुरोभ अन्य देशमा पनि कानुनी अनुसन्धानको सामना गरिरहेका छन् । सन् २०२४ मा उनको प्लेटफर्म मादक पदार्थ तस्करी तथा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री वितरणजस्ता गैरकानुनी गतिविधिमा प्रयोग भएको आरोपमा उनलाई पेरिसमा पक्राउ गरिएको थियो । डुरोभले सन् २०२५ को मार्चमा फ्रान्समा केही महिना बिताएपछि आफू दुबई फर्किएको बताएका थिए । अन्य पठनीय सामग्रीहरू : इरानमाथि फेरि आक्रमणको संकेत ? ट्रम्पसँग नेतन्याहूको गोप्य छलफल हर्मुजमा इरानको पकड बलियो, सबै विदेशी जहाज तेहरानकै मार्गमा इरानका परमाणु केन्द्रमा धावा बोल्ने अमेरिकी योजना सार्वजनिक साउदीको परमाणु डिलपछि किन चर्चामा आयो पाकिस्तान ?

हिमाल डेन्टल अस्पतालले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । हिमाल डेन्टल अस्पताल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा दुवै संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो । सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल अस्पतालले दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालले रुट क्यानल उपचार, ओरल सर्जरी, रेडियोलोजी, अर्थोडोन्टिक्स, पेडोडोन्टिक्सलगायतका सेवा सञ्चालन गर्दै आएको जनाएको छ । साथै अत्याधुनिक उपकरण तथा प्रविधिमार्फत सेवा विस्तार गर्दै आएको पनि कम्पनीले उल्लेख गरेको छ । अस्पतालसँगै सञ्चालित हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्सले दन्त स्वास्थ्य शिक्षामा प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ । संस्थाले हाल विभिन्न डेन्टल सम्बन्धी तालिम सञ्चालन गरिरहेको तथा निकट भविष्यमा ब्याचलर इन डेन्टल सर्जरी (बीडीएस) र ब्याचलर इन डेन्टल हाइजिन (बीडीएच) कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । संस्थाले दन्त स्वास्थ्य सेवा विस्तारसँगै समुदायस्तरमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आईपीओ निष्कासनपछि संस्थागत क्षमता विस्तार गर्दै दन्त स्वास्थ्य सेवा र शिक्षामा थप लगानी गर्ने लक्ष्य कम्पनीले लिएको छ ।