‘बिल्ड नेपाल ह्याकाथन’मा ‘इनोभिजन’ विजेता, बाँदर आतंक रोक्ने प्रविधिले जित्यो उपाधि

काठमाडौं  । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’ मा ‘इनोभिजन’ टोली विजेता बनेको छ । टोलीले ग्रामीण क्षेत्रमा बाँदर आतंकबाट बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्दै उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार  जितेको हो । दुईदिने ह्याकाथनमा सनवे कलेजका विद्यार्थी समृद्धि डुम्रे, ग्रिस्मा कार्की, प्राची मगर र प्रिन्स केसी सम्मिलित ‘इनोभिजन’ टोलीले उत्कृष्ट प्रदर्शन गरेको आयोजकले जनाएको छ । यस्तै, यातायात क्षेत्रलाई डिजिटल प्रविधिमार्फत व्यवस्थित बनाउने अवधारणा प्रस्तुत गरेको ‘सेन्टिनाज’ टोली रनरअप बनेको छ । मिड–भ्याली इन्टरनेसनल कलेजका विद्यार्थी शिशिर न्यौपाने, स्वीकृति तिमिल्सिना र आदित्य भण्डारी सम्मिलित टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित आयोजित ह्याकाथनमा २१ टोलीका ६० भन्दा बढी युवाको सहभागिता थियो। सहभागीले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स र क्लाउड प्रविधिमा आधारित समाधान विकास गरेका थिए । प्रतियोगितामा स्मार्ट सिटी, स्मार्ट कृषि, शिक्षा, पर्यटन, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्रलगायत विषयमा नवीन परियोजनाहरू प्रस्तुत गरिएको थियो । कलेजकी प्रबन्ध निर्देशक रीतल राणाले विद्यार्थीका नयाँ सोच र सिर्जनशीलतालाई व्यवहारमा उतार्ने अवसरका रूपमा ह्याकाथन सफल भएको बताइन् । उनले यस्ता कार्यक्रमले युवाका आइडियालाई समाजसम्म पुर्‍याउन सहयोग पुग्ने उल्लेख गरिन् । बीआईटी कार्यक्रमका प्रबन्धक सुदीपलाल बजिमयाले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सीपमा रूपान्तरण गर्नु ह्याकाथनको मुख्य उद्देश्य रहेको बताए । उनले एआईमा आधारित परियोजनाको संख्या उल्लेखनीय रहेको भन्दै नेपालको शिक्षा प्रणालीमा पनि एआईलाई प्राथमिकताका साथ समावेश गर्नुपर्ने धारणा राखे । निर्णायक तथा टेक उद्यमी साजन शर्माले विद्यार्थीका परियोजना गुणस्तरीय रहेको बताए । उनले नयाँ प्रविधिसँग आफूलाई अद्यावधिक राख्न युवालाई आग्रह गरे । आईएमई खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले कुनै पनि समस्याको वास्तविक कारण पहिचान गरेर मात्र दिगो समाधान सम्भव हुने बताए । उनले विद्यार्थीलाई फरक ढंगले सोच्न र नवप्रवर्तनमा निरन्तर लाग्न सुझाव दिए । ह्याकाथनमा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा मेन्टरले सहभागी टोलीलाई प्रत्यक्ष मार्गदर्शन गरेका थिए । अन्तिम चरणमा प्रस्तुत परियोजनाको मूल्याङ्कन साजन शर्मा, मनिष खेम्का र अमित अग्रवालले गरेका थिए । मिड–भ्याली इन्टरनेसनल कलेजका अनुसार ह्याकाथनको उद्देश्य युवा नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नेपालका वास्तविक समस्याको प्रविधिमार्फत समाधान खोज्नु हो ।

एक महिना लगातार एलोभेरा जुस पिउँदा शरीरमा के–के परिवर्तन आउँछ ?

काठमाडौं । एलोभेरा (घ्युकुमारी) आयुर्वेदमा शताब्दीयौँदेखि प्रयोग हुँदै आएको औषधीय वनस्पति हो । पछिल्लो समय तौल घटाउने, पाचन सुधार्ने, छालाको चमक बढाउने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्यले धेरैले एलोभेरा जुस सेवन गर्न थालेका छन् । आयुर्वेद विशेषज्ञ डा. राजेश बयारीका अनुसार आयुर्वेदमा एलोभेरालाई ‘कुमारी’ भनिन्छ । यसले शरीरको समग्र स्वास्थ्य सुधार गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ । एलोभेरामा भिटामिन ए, सी, ई, बी–कम्प्लेक्स, फोलिक एसिड, क्याल्सियम, म्याग्नेसियम र जिंकजस्ता पोषक तत्त्व पाइन्छन् । शरीरमा कस्तो असर पर्न सक्छ ? विशेषज्ञका अनुसार ३० दिनसम्म सीमित मात्रामा एलोभेरा जुस सेवन गर्दा केही व्यक्तिमा पाचन सुधार हुन सक्छ । शरीरमा पानीको मात्रा सन्तुलित राख्न र एन्टिअक्सिडेन्टको लाभ प्राप्त गर्न पनि सहयोग पुग्न सक्छ । कतिपयमा कब्जियत कम हुने, पेट हल्का महसुस हुने र ऊर्जा बढेको अनुभव हुन सक्छ । तर यसको प्रभाव सबै व्यक्तिमा समान नहुन सक्छ । पाचन प्रणालीमा फाइदा एलोभेरा जुसले पाचन प्रणालीलाई सहयोग गर्ने विश्वास गरिन्छ । यसले केही व्यक्तिमा कब्जियत तथा इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस) का केही लक्षण कम गर्न मद्दत गर्न सक्छ । साथै ग्यास र अम्लपित्तको समस्या कम गर्न पनि सहयोगी हुन सक्ने चिकित्सकको भनाइ छ । छाला र रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव एलोभेरामा रहेका एन्टिअक्सिडेन्ट र अन्य सक्रिय तत्त्वले शरीरमा हुने अक्सिडेटिभ तनाव कम गर्न मद्दत गर्न सक्छन् । पर्याप्त पानी र सन्तुलित आहारसँगै यसको सेवनले छालाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने बताइएको छ । विशेषज्ञका अनुसार पाचन प्रणाली स्वस्थ हुँदा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन पनि सहयोग पुग्न सक्छ । तौल घटाउन कत्तिको उपयोगी ? एलोभेरा जुसले मात्रै तौल घटाउँछ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण छैन। तर सन्तुलित आहार, नियमित व्यायाम र क्यालोरी नियन्त्रणसँगै यसको सेवन गर्दा तौल व्यवस्थापनमा केही सहयोग पुग्न सक्ने चिकित्सकको भनाइ छ। कहिले र कसरी पिउने ? आयुर्वेद चिकित्सकका अनुसार एलोभेरा जुस बिहान खाली पेट पिउनु उपयुक्त मानिन्छ । १५ देखि २० मिलिलिटर जुसलाई बराबर मात्रामा मनतातो पानीमा मिसाएर सेवन गर्न सकिन्छ । यी व्यक्तिले अपनाउनुपर्छ सावधानी एलोभेराको प्रकृति चिसो हुने भएकाले गर्भवती महिला, स्तनपान गराइरहेका आमा तथा विशेष स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहबिना यसको नियमित सेवन गर्नु हुँदैन । विशेषज्ञहरूले एलोभेरा जुसलाई स्वस्थ जीवनशैलीको पूरकका रूपमा लिन सुझाव दिएका छन् । यसलाई कुनै रोगको उपचारको विकल्पका रूपमा भने प्रयोग गर्न नहुने उनीहरूको भनाइ छ ।  एजेन्सीको सहयोगमा

‘स्तनपानले महिलाको सौन्दर्य घटाउँदैन, स्वास्थ्य र आत्मविश्वास बढाउँछ’

काठमाडौं । नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा सप्ताहव्यापी सचेतना कार्यक्रम सुरु भएको छ ।  ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानस् प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔं’ भन्ने सन्देशसहित कार्यक्रम सुरु भएको हो ।  कार्यक्रममा चिकित्सकहरूले स्तनपानसम्बन्धी विभिन्न भ्रम चिर्दै यसको स्वास्थ्यगत महत्त्वबारे स्पष्ट पारेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै स्त्री तथा प्रसूति रोग विभागकी विभागीय प्रमुख तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा. डा. रिता मरहठ्ठाले स्तनपानले आमा र शिशु दुवैको स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताइन् ।  नियमित स्तनपान गराउने महिलामा स्तन तथा पाठेघरसम्बन्धी क्यान्सरको जोखिम कम हुने, प्रसूति पश्चात् पाठेघर चाँडै सामान्य अवस्थामा फर्किन सहयोग पुग्ने र शारीरिक पुनःस्थापनामा समेत स्तनपान प्रभावकारी हुने उनको भनाइ थियो । पछिल्लो समय स्तनपान गराउँदा महिलाको शारीरिक सौन्दर्यमा असर पर्छ भन्ने भ्रम समाजमा फैलिएको उल्लेख गर्दै उनले यस्तो धारणा वैज्ञानिक आधारविहीन रहेको स्पष्ट पारिन् ।  ‘स्तनपानले महिलाको सौन्दर्य घटाउँदैन, बरु उनीहरूको स्वास्थ्य, आत्मविश्वास र प्राकृतिक सौन्दर्यलाई अझ सुदृढ बनाउँछ । नियमित स्तनपानले आमा र बच्चा दुवैलाई दीर्घकालीन फाइदा पुग्छ,’ उनले भनिन् । बालरोग विशेषज्ञ प्रा. डा. गणेश साहले जन्मेदेखि पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्नेमा जोड दिए ।  आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने र संक्रमणबाट जोगाउने उनले बताए । उनले जन्मिएलगत्तै दूध नआएको भन्दै हतारमा फर्मुला दूध प्रयोग गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे ।  अस्पताल निर्देशक प्रा. डा. नीलमणि उपाध्यायले सामाजिक सञ्जाल र केही सार्वजनिक व्यक्तित्वबाट फैलाइएका गलत धारणाका कारण कतिपय महिलाले स्तनपानबाट टाढिन थालेको उल्लेख गर्दै वैज्ञानिक तथ्यमा आधारित सचेतना आवश्यक रहेको बताए ।  स्तनपानले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो । कलेजकी निर्देशक डा. नुरसत जहाँ अन्सारीले सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य तथा पोषणका लागि स्तनपान अपरिहार्य रहेको बताइन् ।  नियमित स्तनपान गर्ने आमा र शिशुको स्वास्थ्य तुलनात्मक रूपमा राम्रो रहने उल्लेख गर्दै उनले नेपाली समाजमा स्तनपानको महत्वबारे अझ व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याइन् । कार्यक्रमका क्रममा नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरूले सेवाग्राहीलाई स्तनपान गराउने सही तरिका, आमाको दूधका फाइदा तथा स्तनपानसम्बन्धी सामान्य जिज्ञासाको समाधानबारे परामर्श दिएका थिए ।  विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने विश्व स्तनपान सप्ताह अन्तर्गत नेपाल मेडिकल कलेजले साताभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । थप तस्बिरहरू :