शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि शुरु भएको प्राविधिक रोजगार मेलाको उद्घाटन गर्दै उनले शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुने बताएका हुन् । “सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न प्राविधिक विद्यालयको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । सरकारले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजका प्राचार्य निर्मलप्रसाद न्यौपानेले मेलामा रोजगारदाता र रोजगार खोज्नेहरुको मिलन गराउने उद्देश्य रहेको बताएका छन् । “रोजगारदाताले सही र दक्ष रोजगार पाउन सकून् भनेर मेला आयोजना गरेका हौँ”, उनले भने । कलेज व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गजुरेल, सिटिइभिटीका निर्देशक शिवहरि ढकाल, नेपाल इन्जिनीयरिङ काउन्सिलका उपाध्यक्ष अनराज सिलवाललगायतले बेरोजगार युवालाई रोजगार बनाउन बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीले कलेजले महत्वपूर्ण काम गरेको उल्लेख गरे । आजदेखि शुरु भएको रोजगार मेलामा नेपाटप, सिप्रदी, अशोक ली लैड, पञ्चकन्या, युनाइटेड वायर, केवलजस्ता २५ भन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता रहेको छ । विसं २०१८ मा स्थापना भएको बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजले मेकानिकल, इलेक्ट्रिकल, सिभिल, प्लम्बिङ, अटोमोबाइललगायत विषयमा १६ हजारभन्दा बढी विद्यार्थीलाई दक्ष बनाइसकेको छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी कलेजले यसभन्दा अगाडि विसं २०७३ मा उक्त मेला आयोजना गरेको थियो ।रासस
अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो
वासिङटन । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या दुई लाख ११ हजार पुगेको छ । यहीबीच, अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ । तथ्याँक विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको श्रम बजार निकै नाजूक अवस्थामा रहेको देखिएको छ । तर अमेरिकी श्रम बजारमा गत डिसेम्बरमा अमेरिकी कम्पनीहरुले १ लाख ४५ हजार नयाँ रोजगार सिर्जना गरेका छन् । यद्यपि गत नोभेम्बरमा यस्तो रोजगारी सिर्जना करिब दुई लाख ५६ हजार हुने पूर्वानुमान गरिएको थियो । अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा हाल बेरोजगार दर ३.५ प्रतिशत पुगेको छ । रासस
लक्ष्मी लघुवित्तद्वारा २ महिने सिलाई कटाई तालिम प्रदान
काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्लाको सुर्यपुरा, शाखामा आबद्ध ग्राहकहरुलाई २ महिने सिलाई कटाई तालिम प्रदान गरेको छ । उक्त तालिम पुस १० देखि माघ ८ गते सम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २० जना ग्राहकहरुलाई सहभागी गराइएको थियो । टेलरीङ्ग व्यवसायमा आर्कषण गरी महिला ग्राहक सदस्यहरुलाई सफल उद्यमी बनाउने र जीविकोपार्जनलाई सहज बनाउन उक्त सीपको माध्यमबाट आयआर्जनको क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले सिलाई कटाई तालिम आयोजना गरिएको थियो । तालिम समापन कार्यक्रममा उपस्थित गैडहवा गाँउपालिकाकी उपाध्यक्ष सुभावती यादवले “सबैले जागिर नै खानु पर्छ भन्ने छैन् आफ्नो सिप र क्षमता अनुरुपको कार्यबाट व्यावसायिक भई आत्मनिर्भर तिर लाग्न सकिने” कुरा बताएकी थिइन् । लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंकसँंगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधा सँगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले यस्ता किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।