घट्न थाल्यो रेमिटान्स, साढे ७ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचिति

काठमाडौं । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिटान्स) घट्न थालेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा रेमिटान्स आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत माघ महिनामा रेमिटान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको गत माघसम्ममा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिटान्स आएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटान्स आप्रवाह २८.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिटान्स आप्रवाहमा ०.२ प्रतिशतले कमी आएकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो । गत माघसम्ममा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आय १.१ प्रतिशतले कम भएर ५ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो । चालु खाता एवम् शोधनान्तर स्थिति माघसम्ममा चालु खाता घाटा १ खर्ब १२ अर्ब १५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ६६ अर्ब ६७ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ७ महिनामा १ अर्ब ४६ करोड रहेकोचालु खाता घाटा समीक्षा अवधिमा ९८ करोड ४८ लाख रहेको छ । पुँजीगत ट्रान्सफर ८ अर्ब ३१ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४३ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १५ करोड रुपैयाँ थियो । शोधनान्तर स्थिति २१ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ७ महिनासम्ममा ४३ करोड १७ लाखले घाटामा रहेकोमा चालु आवको सोही अवधिमा १९ करोड ११ लाख रुपैयाँले बचतमा रहेको छ । विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.६ प्रतिशतले बृद्धि भई २०७६ माघ मसान्तमा १० खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँ बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ माघ मसान्तमा ९ अर्ब ६४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा २०७६ माघ मसान्तमा ९ खर्ब ४७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ माघ मसान्तमा १ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । २०७६ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचक गत आर्थिक वर्षको ७ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१.७ प्रतिशत, ७०.८ प्रतिशत र २९.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

नागरिक लगानी कोषले ल्यायो सबै नेपालीलाई पेन्सन दिने कार्यक्रम, सामाजिक सुरक्षा कोषकोभन्दा फाइदा धेरै

काठमाडौं । नागरिक लगानी कोषले सबै नेपालीलाई पेन्सन दिनेगरी नागरिक पेन्सन योजना सुरु गरेको छ । कुनै पेशा व्यवसाय वा क्षेत्रमा आवद्ध भएका र नियमित आम्दानी गर्ने नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजना ल्याइएको हो । कोषले ल्याएको पेन्सन योजनामा आफ्नै बन्द व्यापार गर्नेहरु पनि सहभागी हुन सक्नेछन् । जागिर गर्नेहरुलाई पनि यो योजनाले समेट्ने कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए । नागरिक पेन्सन योजनामा सहभागी भएकाहरुले पेन्सन योजनाबाट बाहिरिन पनि पाउने सुविधा राखिएको छ । कट्टेलका अनुसार पेन्सन योजनामा सहभागी भएका नागरिकको मृत्यू भएमा उसको श्रीमान वा श्रीमतीले पूरै पेन्सन पाउने व्यवस्था गरिएको छ । यस्तै, कोषमा जम्मा भएको रकमको ८० प्रतिशतसम्म ऋण लिन पाइने, मासिक ५ सय रुपैयाँदेखि आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सकिने, बैदेशिक रोजगारीमा हुनेले पनि यो योजनामा सहभागी हुन पाइने लगायतका सुविधा छन् । यस्ता छन् योजनाका विशेषताहरु सहभागिता यस योजना अन्र्तगत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । बचत गर्न सकिने सीमा यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रूपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक, वा वार्षिक रुपमा रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । यस्तो किस्ता बुझाउँदा मासिक ५ सय रुपैयाँभन्दा कम नहुने गरी बुझाउनु पर्नेछ । किस्ता रकम नियमित बुझाउनु पर्ने सहभागीले आफूले छनौट गरेको किस्ता अनुसारको रकम नियमित रुपमा बुझाउनु पर्नेछ । यसरी निर्धारण गरिएको किस्ता रकम समयमा दाखिला नगरेमा कोषले निर्धारण गरेको विलम्ब शुल्क तिरी किस्ता नियमित गर्न सकिने छ । योजनाबाट अलग हुने अवस्था बचतकर्ताको आय स्रोत गुमेमा वा असक्तताको कारणले आय आर्जन गर्न असक्षम भएमा वा वसाई सरी अन्य मुलुकमा गएको खण्डमा यस योजनाबाट अलग हुन सकिने छ । यसरी योजनाबाट अलग हुदा बचतकर्ताहरुले शर्त बमोजिम नियमित रुपमा बचत गरेको कम्तीमा २ वर्ष पुरा भएको हुनु पर्नेछ । यस्तो अवस्थामा बचतकर्ताको नाममा जम्मा रहेको साँवा रकम एकमुष्ठ भुक्तानी गरिनेछ । पेन्सन पाउन योग्य हुने अवस्था –पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । –बचतकर्र्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भूक्तानी लिन वा पेन्सनको रुपमा भूक्तानी लिन सक्नेछन् । –कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । पेन्सन गणना विधि सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् । पति वा पत्नीले पेन्सन पाउने – पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न शुरु गरेपछि निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई निजले पाइरहेको रकम वराबर नै पारिवारिक पेन्सन प्रदान गरिनेछ । तर, सहभागीसँग निजको अंशबण्डा भएको भए वा वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान गरिने छैन । –बचतकर्ताको निबृतिभरण शुरु भएपछि निज र निजको श्रीमान वा श्रीमति दुबैको मृत्यु भएमा कोषमा सम्बन्धित ब्यक्तिको नाममा बॉकी रहेको बचत रकम निजहरुको कानुनी हकदारलाई प्रदान गरिनेछ । – कुनै बचतकर्ताको निबृतिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम, त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ रुपमा प्रदान गरिने छ । – नेपाल सरकार वा अन्यत्रबाट पेन्सन पाइरहेको व्यक्तिले कोषमा योगदान गरी निवृत्तिभरणको लागि योग्य भएमा कोषबाट पेन्सन लिन बाधा पर्ने छैन । योजनामा रकम जम्मा गर्ने विधि – सहभागी बचतकर्ताले जम्मा गर्नु पर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा बिद्युतीय भूक्तानीमार्फत जम्मा गर्न सक्ने छन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरेपछि सोको जानकारी कोषलाई दिनु पर्नेछ । कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकमप्रति कोषको कुनै दायित्व रहने छैन । –कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नु पर्ने छ । –रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचय नम्बर उल्लेख गर्नु पर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ । गलत नाम वा परिचय नम्बर उल्लेख भई रकम जम्मा भएमा त्यसको जिम्मेवारी कोषले लिने छैन । कोषमा जम्मा भएको रकममा ब्याज तथा प्रतिफल दिइने – योजना अन्तर्गत कोषमा जम्मा भएको रकममा समितिले समय समयमा निर्धारण गरे अनुसार दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा ब्याज प्रतिफल प्रदान गरिने छ । सहभागीहरुलाई सापटी तथा अन्य सुबिधा – कोषले योजनाका सहभागी बचतकर्तालाई निजको नाममा जम्मा रहेको रकममा बढीमा ८० (असी) प्रतिशतसम्म सापटी प्रदान गर्न सकिनेछ । – जुनसुकै कारणले बचतकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई दश हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइनेछ । – बचतकर्ताले कोषद्वारा तोकिएका प्राइभेट अस्पतालमा औषधी उपचार गर्दा लाग्ने खर्चमा छुट सुविधा प्रदान गर्न सकिने छ । – दुर्घटनामा परीे बचतकर्ता मृत्यु हुन गएमा निजको नजिकको हकवालालाई दुर्घटना वीमा बापत एक लाख रुपैयाँ प्रदान गरिने छ । सम्बन्धित सामग्री सबै नेपालीलाई पेन्सन दिने महत्त्वाकांक्षी कार्यक्रम संचालनको अन्तिम तयारीमा सीआईटी

कोरोनाको आशंका वैदेशिक रोजगारबाट फर्किएका युवक अस्पतालमा भर्ना

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको आशंकामा वैदेशिक रोजगारीबाट फर्किएका एक युवालाई अस्पताल भर्ना गरिएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयाका एक युवालाई जानकी मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा मलेसियाबाट फर्किएका युवकमा अत्याधिक ज्वरो तथा रुघाखोकी लागेसँगै कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको हो । नाम नखुलाइएका ति युवक केही समयअघि त्रिभुवन विमानस्थल हुँदै आएको थिए ।