लकडाउनपछि गोल्यान समूहले १० हजार गार्मेन्ट उद्योग खोल्ने, १ खर्बको लगानी, १० लाखलाई रोजगारी

काठमाडौं । व्यावसायिक रूपमा छुट्टै पहिचान बनाएको गोल्यान समूहले लकडाउनपछि देशभर गरी १ खर्बको लगानीमा १० हजार गार्मेन्ट उद्योग खोल्ने भएको छ । गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले विकासन्युजसगँ कुरा गर्दै लकडाउनको समय पछि देशैभरी गार्मेन्ट उद्योग खोल्ने तयारी भएको बताएका हुन् । ‘अब विदेशमा रहेका नेपाली पनि नेपालमा नै आउछन्, १० लाखलाई रोजगारी दिने गरि ७ वटै प्रदेशमा १० हजार गार्मेन्ट उद्योग खोल्ने छौं,’ अध्यक्ष गोल्यानले भने । गोल्यानले गोल्यान समूहको प्रमुख टिम नै गार्मेन्ट उद्योग खोल्न लागिपरिरहेको बताए । सरकारसगँ विदेशबाट चोरी पैठारी भएर आएको गार्मेन्ट रोक्न, न्यून विजकीकरण रोक्न र रङ डिलिङ रोक्न सरकारसगँ माग गरेको र सरकार पनि त्यसका लागि तयार भएको उनले बताए । समूहले पहिलो चरणमा गार्मेन्ट उद्योग स्थापना र दोस्रो चरणमा कपास उत्पादन सुरु गर्नेछ । गार्मेन्ट उद्योग स्थापनाको लागि ८० प्रतिशत बैंकबाट र बाँकी २० प्रतिशत उद्योगीले नै लगानी गर्नेछन् । ‘हाल नेपालको गार्मेन्टले ५ प्रतिशत मात्रै बजार धानेको छ, हाम्रो उत्पादनले विदेशबाट आउने ९५ प्रतिशत गार्मेन्ट विस्तापित गर्छ, मान्छे जन्मेदेखि मृत्युपछि समेत प्रयोग हुने कात्रो समेतमा आत्मनिभर बनाउने गरी देशैभरी गार्मेन्ट उद्योग स्थापना हुन्छ,’ गोल्यानले भने । विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता, ‘भविष्य कोरौं, एक लाख जितौं’ २ देखि ५ वर्षभित्रमा सबै उद्योगले उत्पादन थालेर विदेशबाट आउने गार्मेन्टलाई स्वदेशी गार्मेन्टले विस्थापित गर्ने पनि उनले बताए । गोल्यान समूहले स्थापना गरेको गार्मेन्ट उद्योगले पिस सर्ट, ट्राउजर, ट्रयाकसुट, ज्याकेट, टि-सर्ट, स्कर्ट, कोट, जम्पसुट र कुर्तालगायत मान्छे जन्मेदेखि मृत्युपछि प्रयोग हुने कात्रो समेत उत्पादन गर्नेछ । नेपालका ठूला व्यावसायिक घरानाहरुमध्येको गोल्यान समूह पनि एक हो । बैंक, धागो र प्लास्टिकजन्य वस्तु उत्पादनमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अब गार्मेन्ट उद्योगमा पनि लगानी गर्ने भएको हो । देशबाट निर्यात गरी व्यापारघाटा घटाउने लक्ष्यमा केन्द्रित छ समूह । कुनै समय नेपालको प्रमुख निर्यात वस्तुको रुपमा पर्ने गार्मेन्ट अहिले भने खस्कँदै गएको छ ।

वैदेशिक रोजगारमा इजाजतपत्र प्राप्त भएका संस्था खारेजी हुने व्यवस्था हटाइने

काठमाडौं । वैदेशिक रोजगार १ सय जना कामदार नपठाएका इजाजतपत्रवाला संस्था खारेजी हुने प्रक्रिया हटाइने भएको छ । वैदेशिक रोजगार ऐन, २०६४ मा संसोधनको अगाडी बढाउँदै सो व्यवस्था हटाउने निर्णय गरेको छ । वैदेशिक रोजगारमा जानको लागि श्रम स्वीकृति लिएका तर कोभिड १९ का कारणले वैदेशिक रोजगारीमा जान नपाए र वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकको जिल्लागत विवरण स्थानीय तहमा रहेको छ । सो रोजगार सेवा केन्द्रमा सूचिकृत गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध गरी कार्यक्रमको रकम उत्पादनशिल कार्य उपभोग हुने सुनिश्चितता अर्थ मन्त्रालयले जायर गरेको छ ।

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली

काठमाडौं । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ । इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् । कोरोनाका कारण युरोपमा मानवीय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासीय नेपालीमा थप सङ्कट निम्तिन सक्ने खतरा बढेको छ । कोरोनाको महामारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकीसमेत कष्टकर बन्दै गएको छ । कोरोना सङ्क्रमणका कारण युरोपमा मात्रै ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । लाखौं मानिस प्रभावित भएका छन् । यसको महामारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति युरोपमा भएको छ । पछिल्लो समय बढी सङ्क्रमण अमेरिकामा देखिएको छ । यो समाचार तयार पार्दासम्म विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभरका २०८ मुलुकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । हालसम्म विश्वभर १२ लाख एक हजार ९ सय ६४ सङ्क्रमित भएको र ६४ हजार ७ सय २७ को ज्यान गएको वल्र्डोमिटरर्सको तथ्याङ्कले देखाएको छ । तीमध्ये दुई लाख ४६ हजार ६ सय ३८ उपचारपछि घर फर्केका छन् । पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीका नागरिकको ज्यान गएको छ । त्यहाँं हालसम्म १५ हजार ३६२ को मत्यु भइसकेको छ भने एक लाख २४ हजार ६३२ जना सङ्क्रमित भएको तथ्याङ्क छ । बीस हजार ९ सय ९६ उपचारपछि निको भई घर फर्केका छन् । इटालीमा कोरोनाको सङ्क्रमण र मृत्युदर भयावह देखिए पनि त्यहाँ रहेका नेपालीहरू भने सुरक्षित नै रहेको गैरआवासीय नेपाली सङ्घ इटालीका अध्यक्ष देव गुरुङले जानकारी दिएका छन् । गुरुङका अनुसार इटालीमा १५ सयको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । “यहाँको अवस्था हेर्दा नेपालीहरुको अवस्था चिन्ताजनक नै छ, तर आत्तिइहाल्नुपर्ने अवस्था भने छैन”, गुरुङले भने, “यहाँ रहेका सबै नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ ।” कोरोनाको सङ्क्रमणले सङ्कटग्रस्ट इटालीले गत मार्च ४ (फागुन २१ गते) देखि राष्ट्रिय सङ्कटकालको घोषणा गरेको थियो । गैरआवासीय नेपाली सङ्घका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोनाका कारण सिङ्गो युरोप नै सङ्कटमा गुज्रिरहेकाले नेपालीहरु पनि उच्च जोखिममा रहेको बताएका छन् । कोरोना सङ्क्रमण तिव्र गतिमा बढिरहे युरोपमा रहेका नेपालीमा थप सङ्कट निम्तिन सक्ने खतरा रहेको उनले बताए । कोरोनाको सङ्क्रमणबाट बच्न उच्च सावधानी र सतर्कता अपनाउन युरोपबासी नेपालीहरुलाई आग्रह गर्दै आचार्यले यो महामारीबाट बच्न र बचाउन सङ्घसमेत संस्थागतरूपमा लागि परेको जानकारी दिए । आचार्यका अनुसार कोरोनाबाट आइपर्न सक्ने सम्भावित सङ्कटलाई मध्यनजर गरेर युरोपमा रहेका नेपालीहरुको राहत र उद्धारका लागि ५० हजार युरो बराबरको आपतकालीन कोष स्थापना गर्ने निर्णय भएको छ । कोरोनाबाट प्रभावित नेपालीहरुको तथ्याङ्क सङ्कलन गरेर समस्यामा परेका नेपालीहरुलाई उक्त कोषबाट राहत प्रदान गरिने उनले बताए । इटालीपछि कोराना सङ्क्रमणका कारण सबैभन्दा बढीले ज्यान गुमाएको अर्को युरोपेली देश हो, स्पेन । कोरोनाका कारण स्पेनमा ११ हजार ९ सय ४७ को ज्यान गएको छ भने एक लाख २६ हजार १ सय ६८ मा सङ्क्रमण भएको तथ्याङ्क छ । तीमध्ये ३४ हजार २ सय १९ उपचारपछि घर फर्केका छन् । पछिल्लो तथ्याङ्क हेर्दा स्पेनमा पनि कोरोना सङ्क्रमणको वृद्धिदर इटालीमा जस्तै तीव्रगतिमा बढिरहेको छ । स्पेनमा रहेका लोकगायक राजेन्द्र लम्सालले स्पेनको अवस्था निकै दर्दनाक रहेको जानकारी दिए । “घरभित्रै बसेको धेरै दिन भइसक्यो, अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनौँ, सर्वत्र कोरोनाको त्रास छ । कतिबेला के हुने हो, केही थाहा छैन”, लम्सालले भने । उद्योगधन्दा, कलकारखाना, सार्वजनिक यातायात, शहर बजार, होटेल रेष्टुरेण्ट, व्यावसायिक प्रतिष्ठानहरु ठप्प हुँदा दैनिकी कष्टकर बन्दै गएको जानकारी दिए । कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा १० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । स्पेनमा हालसम्म सात नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको गैर आवासीय नेपाली सङ्घ स्पेनका अध्यक्ष दिनेश गुरुङले जानकारी दिए । सङ्क्रमित नेपालीहरुको अस्पतालमा उपचार भइरहेको छ भने तीमध्ये एक जना नेपाली उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसबाट तेस्रो बढी प्रभावित बनेको अर्को युरोपेली मुलुक हो, फ्रान्स । त्यहाँ कोरोनाका कारण सात हजार ५ सय ६० को मृत्यु भइसकेको छ भने ८९ हजार ९ सय ५३ मा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १५ हजार ४ सय ३८ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । गत सातादेखि फ्रान्समा पनि मृत्युदर र सङ्क्रमण दर बढ्दै गएको छ । कोरोनाको महामारीका कारण आक्रान्त बनेको फ्रान्सको स्थिति हेर्दा नेपालीहरु पनि त्रसित रहेको पेरिसमा रहेका स्याङजाका विष्णुबहादुर सारुले बताए । “घरभित्रै बसेको तीन साताभन्दा बढी भयो, बजार पूरै ठप्प छ”, थापाले भने, “अत्यावश्यक कामका लागि स्वीकृति लिएर मात्रै बाहिर जान पाइन्छ । अन्यथा जरिवाना र जेलसम्मको सजाय हुन्छ ।” फ्रान्समा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको गैरआवासीय नेपाली सङ्घ फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीले बताउनुभयो । नेपालीहरु सुरक्षित रहे पनि जोखिम भने उच्च रहेको छ । कोरोनाले निम्त्याएको सङ्कटका कारण समस्यामा परेका ३५ भन्दा बढी नेपालीलाई सङ्घले राहतस्वरूप खाद्यान्न सामग्री प्रदान गरेको शाहीले जानकारी दिए । फ्रान्समा करिब पाँच हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको दूतावासको अनुमान छ । हालसम्म त्यहाँ रहेका नेपाली सुरक्षित रहेको फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले राससलाई जानकारी दिए । नेपालीहरुलाई पर्ने समस्यामा सहयोग र सहकार्य गर्न फ्रान्स र पोर्चुगलको सरकारलाई आग्रह गरिएको र त्यहाँको सरकारले पनि सहयोग गर्ने आश्वासन दिएको राजदूत अधिकारीले बताए । त्यस्तै जर्मनीमा हालसम्म ९६ हजार ९२ मा कोरोनाको सङ्क्रमण देखा परेको छ भने एक हजार ४४४ को मृत्यु भइसकेको छ । तीमध्ये २६ हजार ४० उपचारपछि घर फर्केका छन् । त्यस्तै बेल्जियममा पनि एक हजार २८३ को मृत्यु भइसकेको छ भने १८ हजार ४ सय ३१ मा सङ्क्रमण भएको पुष्टि भएको छ । तीन हजार २४७ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । युरोपमै सबैभन्दा बढी नेपालीहरुको बसोबास रहेको बेलायतमा ४१ हजार ९०३ मा कोरोनाको सङ्क्रमण देखा परेको छ । त्यहाँ चार हजार ३१३ ले ज्यान गुमाएका छन् । ती मध्ये १३५ जना उपचारपछि घर फर्केका छन् । बेलायतमा हालसम्म आठ नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । तीमध्ये दुई नेपालीको ज्यान गएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले राससलाई जानकारी दिनुभयो । आरणका अनुसार हाल दुई नेपालीको उपचार भइरहेको छ भने चार जना उपचारपछि घर फर्किसकेका छन् । अन्य १० नेपाली कोरोनाको आशङ्कामा क्वारेन्टाइनमा रहेको उनले भने । बेलायतमा रहेका नेपालीहरुलाई उच्च सजगता र सतर्कता अपनाउन विशेष आग्रहसमेत गरिएको उनले बताए । उनले अनुसार यकिन तथ्याङ्क नभए पनि बेलायतमा डेढलाख नेपालीको बसोबास रहेको अनुमान छ । कोरोनाको महामारी कारण युरोपमा रहेका नेपालीहरुको अवस्था सामान्य रहे पनि जोखिम भने उच्च रहेको नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष केजीन राईले बताए । युरोपमा रहेका नेपालीहरुले गर्ने कामको प्रकृति हेर्दा धेरै नेपालीमा सङ्क्रमण हुनसक्ने तर नेपालीहरु खुल्न नचाहेका कारण पनि सङ्क्रमितको यकिन तथ्याङ्क बाहिर नआएको राईको भनाइ छ । बेलायतपछि सबैभन्दा बढी नेपालीको बसोबास रहेको मुलुक पोर्चुगलमा दश हजार ५२४ मा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । पोर्चुगलमा हालसम्म २६६ जनाले ज्यान गुमाइसकेका छन् । पोर्चुगलमा तीन नेपालीमा कोरोना सङ्क्रमणको आधिकारिक पुष्टि भएको लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । उनका अनुसार सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । वाणिज्यदूत हमालका अनुसार अन्य केही नेपालीहरु कोरोनाको आशङ्कामा क्वारेन्टाइनमा रहेका छन् । यहाँ रहेका नेपालीलाई कोरोनाको सम्भावित सङ्क्रमणबाट बच्न र सुरक्षित रहन विशेष सजगता र सतर्कता अपनाउन आह्वान गरिएको हमालले बताए । कोरोनाको महामारीबाट बच्न र समस्यामा परेका नेपालीहरुलाई सहयोग र समन्वय गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ पोर्चुगलले विशेष अभियान सञ्चालन गरेको सङ्घका अध्यक्ष तिलकप्रसाद गैरेले जानकारी दिए । सङ्घका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको संयोजकत्वमा ‘टास्क फोर्स’ नै बनाएर समस्यामा परेका नेपालीको राहत र उद्धारका लागि परिचालन गरिएको गैरेले बताए । यकिन तथ्याङ्क नभए पनि पोर्चुगलमा करिब २५ हजार नेपालीहरुको बसोबास रहेको अनुमान छ । बेल्जियममा एक नेपालीलाई कोराना सङ्क्रमण पुष्टि भएको बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले जानकारी दिए । राजदूत थापाका अनुसार बेल्जियममा नौ हजारको हारहारीमा नेपालीहरु रहेका छन् । बेल्जियमसहित नेदरल्याण्ड्स र लग्जेम्बर्गमा रहेका नेपालीहरुलाई कोरोनाको सङ्क्रमणबाट बच्नका लागि विशेष सुरक्षा, सर्तकता र उच्च सावधानी अपनाउन राजदूत थापाले आग्रह गरे । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार सङ्क्रमितको सङ्ख्यालाई आधार मान्ने हो भने कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका बनेको छ । अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । अमेरिकामा झण्डै तीन लाखमा कोरानाको सङ्क्रमण देखा परेको छ । रासस