नेपालका सबैभन्दा बढी कर तिर्ने प्रोफेसनलहरुः गत वर्ष कुन बैंकका सिइओले कति तलब बुझे ?

काठमाडौं । नेपालमा सबैभन्दा बढी तलब भत्ता बुझ्ने प्रोफेसनलहरुमा बैंकर अगाडि छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुको तलब भत्ता तथा आर्थिक सेवा सुविधा अन्य क्षेत्रका प्रफेसनलकोभन्दा बढी भएको चर्चा हुने गर्छ । बैंक तथा वित्तीय संस्थाहरुको सबै आम्दानी र खर्च पारदर्शी हुने भएकोले पनि बैंकरको तलब तथा भत्ता सार्वजनिक हुने गरेको छ । अन्य क्षेत्रका प्रफेसनलहरुले प्राप्त गर्ने सेवा सुविधा गोप्य नै रहने भएकोले पनि बैंकरको आम्दानीमा सबैको आँखा लाग्ने गरेको हो । बैंकका सिइओहरुको तलबमा ३६ प्रतिशतसम्म कर लाग्छ । त्यसकारण यहाँ उल्लेख गरिएजति रकम उनीहरुले लान पाउने भने होइनन् । तर, बैंकहरुले भने सिइओको लागि सो बराबरको रकम तिरेको भने हुन्छ । बैंकहरुले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृतहरुलाई कति रकम दिइयो भनेर उल्लेख गरिएको हुन्छ । यहाँ उल्लेख गरिएको तलब तथा भत्ता रकम गत आर्थिक वर्षभरीमा बैंकहरुले प्रदान गरेको रकम हो । बैंकको वार्षिक प्रतिवेदन अनुसार सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले गत आर्थिक वर्षमा १ करोड ४६ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । यस्तै, बैंक अफ काठमाडूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले २ करोड ८१ लाख रुपैयाँ बुझेका छन् । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई बैंकले गत आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँ तलब भत्ता प्रदान गरेको छ । गत आर्थिक वर्षको बैशाख १ गतेदेखि लागु हुने गरी माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष कोइरालाले पाएका थिए । सोभन्दा अघि माछापुच्छ्रे बैंकको सिइओ सुमन शर्मा थिए । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई २ करोड २३ लाख रुपैयाँ तलब भत्ता प्रदान गरेको छ । मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई १ करोड ७० लाख रुपैयाँ तलब भत्ता प्रदान गरेको छ । खुञ्जेली अहिले संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये एक्ली प्रमुख कार्यकारी अधिकृत महिला हुन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले गत आर्थिक वर्षमा १ करोड ७५ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । यस्तै, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहलाई बैंकले १ करोड ९ लाख रुपैयाँ तलब भत्ता प्रदान गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गत आर्थिक वर्षमा २ करोड ५८ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्भन घोष दस्तियारले तलब तथा भत्ता २ करोड ८७ लाख र अन्य सुविधा १ करोड १० लाख रुपैयाँ बुझेका छन् । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले १ करोड ३१ लाख रुपैयाँ तलब तथा भत्ता बुझेका छन् ।

अब कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने

काठमाडाैं । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा(प्रवेशाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए । यहाँको रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम शुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिनेछ । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि कोरिया आउने प्रवासी श्रमिकले पहिलोपटक चार वर्ष १० महिनाको लागि भिसा प्राप्त गर्दछन् र सो अवधिको समाप्तिपछि श्रमिक अनिवार्य स्वदेश फर्किनुपर्ने प्रावधान छ । प्रवासी विद्यार्थीलाई प्रदान गर्ने भनिएको भिसामा भने विद्यार्थीका लागि पनि एउटै नियम हो या अन्य नियम हो भन्ने कुरा भने थाहा हुन सकेको छैन । यस विषयमा यहाँको कानून मन्त्रालय र रोजगार मन्त्रालयले संयुक्त रुपमा निर्णय गरी लागू गर्ने छन् । हाल इपिएसमार्फत इ–९ भिसामा आएका नेपाली औद्यौगिक र कृषि क्षेत्रमा श्रम गरिरहेका छन् । विद्यार्थीका लागि पनि दिने भनिएको भिसा सोही क्षेत्रमा हुनेछ । यदि यस अवधारणा कार्यान्वयन भएमा दक्षिण कोरियामा एक हजार ५०० को सङ्ख्यामा रहेका स्नातक प्राप्त नेपाली विद्यार्थीले इपिएस प्रक्रियामार्फत कोरियामा आएर श्रम गरिरहेका श्रमिकले झैँ रोजगारीको अवसर पाउने छन् । यहाँका केही विद्यार्थीले भने यो अवधारणा स्वागतयोग्य नभएको बताएका छन् । अध्ययन गरेर दक्ष भएका विद्यार्थीलाई उनीहरूको अध्ययनकै क्षेत्रमा अवसर दिनुपर्नेमा मजदूरको भिसा दिने अवधारणा उचित नभएको भनाइ उनीहरूको छ ।

कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन तालिम सुरु

काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यावसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु भएको छ । मंगलबार झापा जिल्लाबाट देशव्यापी तालिमको सुरुवात गरिएको हो । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ झापाले अर्जुनधारा नगरपालिकामा फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिमको उद्घाटन गरेको हो । भोला परियारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका मेयर हरि कुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो । तालिम लिनको लागि ५० भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको थियो । महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले देशभर रहेका व्यवसायीहरुको सीप अभिवृद्धिका लागि यो तालिम ल्याईएको बताए । ‘सिलाई व्यवसाय गर्नेहरुलाई आधुनिकतातर्फ लैजान यस तालिमले सहयोग गर्ने छ ।’ अध्यक्ष रामकृष्ण श्रेष्ठले भने । यस्तै महासंघका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सचिव राज कार्किले तालिम सफलताको शुभकामना दिदै फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिमले व्यवसायीहरुलाई थप उर्जा मिलेको बताए । साथै प्रदेश र केन्द्रबाट आगामि दिनमा पनि व्यवसायीलाई लक्षित कार्यक्रमहरु लैजाने कार्कीले बताए । कार्यक्रममा वडा अध्यक्ष नवीन ढुंगाना, कार्यपालिका सदस्य रमेश तिखत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।