‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ सहयोगी सावित: प्रदेश प्रमुख कलौनी
कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको बताएका छन् । कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवस समारोहमा सोमबार शुभकामना मन्तव्य दिनुहुँदै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीमा यहाँका नागरिकको जनस्वास्थ्य सुरक्षामा प्रदेश सरकारले पुर्याएको योगदान र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थुपै्रलाई दिएको रोजगारी निकै प्रशंसा गर्न लायक काम भएको बताए । “कर्णाली सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोचअनुसार दीर्घकालीन महत्व राख्ने कार्यक्रम अघि सारेको छ”, उनले भने, “मुख्यमन्त्री रोजगार, एकीकृत बस्ती विकास, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’, कर्णालीका नागरिकको विपद् बीमालगायतका कार्यक्रम, कानून निर्माण, स्वास्थ्य संरचनाको निर्माण तथा सेवा विस्तार, कृषि, पर्यटनलाई बढावा दिएको छ ।” प्रदेश प्रमुख कलौनीले व्यावसायिक र आधुनिक कृषि प्रणालीमा जोड दिनुका साथै मौलिक तथा अग्र्यानिक कृषि उत्पादन गर्न सकिए कृषिकै माध्यमबाट प्रदेशवासीको जीवनस्तर माथि उकास्न सकिने जनाए । उनले प्रदेशभरिको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए । समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा भौगोलिक अवस्था अन्य प्रदेशभन्दा निकै कमजोर भएकाले जनताले अपेक्षा गरेअनुसारको काम नदेखिएको बताए । “नाबालकजस्तो सरकार हुँदा पनि यसले नागरिकका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपरिरहेको छ”, उनले भने, “शून्य संरचनाबाट काम शुरु गरे पनि विकासका लागि आधार तयार गरिएको छ ।” गरिबीको अन्त्य गरेर समृद्ध कर्णाली बनाउनु निकै चुनौतीपूर्ण भए पनि जलविद्युत् उत्पादनका लागि आवश्यक वातावरण तयारीको पहल भइरहेको उनले बताए । उनले भने, “कठिन भूगोल र आर्थिक स्रोत न्यून हुँदा पनि चुनौतीको सामना गरेर अघि बढेका छौँ । निजी लगानीकर्ता भित्र्याउने पहल भइरहेको छ र कर्णालीमा लगानी सम्मेलनका आवश्यक वातावरण तयार गर्दैछौँ ।” प्रदेश सभामुख राजबहादुर शाहीले प्रदेश सरकार शून्य अवस्थाबाट आकारमा आइसकेकाले आफ्नो अभिभारा पूरा गर्ने विश्वास व्यक्त गरे । उनले भने, “सरकारले सङ्घीय व्यवस्था ल्याउने जनताको हितमा काम गरेर आगामी दिनमा प्रभावकारी योगदान दिन सकोस् र तीनै तहका सरकारहरुको सहकारितामा विकास गतिविधि अघि बढुन् भन्ने चाहन्छु ।” लोकतन्त्रको सुन्दर पक्ष भनेकै जवाफदेहिता र पारदर्शिता हो भन्दै सभामुख शाहीले सङ्घीयताप्रति उठेका प्रश्नहरुलाई सकरात्मक लिनुपर्नेमा जोड दिए । उनले कार्यकारीहरुलाई दूरगामी सोच राखेर काम गर्नसमेत सुझाव दिए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली आज पनि गरिबीको दुश्चक्रबाट माथि उठ्न नसकेको जिकिर गरे । “हामीले हाम्रो सोच र सपनालाई संस्थागत गर्ने सङ्घीय संरचनाको अपेक्षा गरेका थियौँ”, मन्त्री भण्डारीले भने, “यद्यपि संविधानप्रदत्त अधिकारको प्रयोग गर्ने सवालमा प्रदेश सरकारले अन्योलता व्यहोर्दै आएको छ ।” समारोहमा प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो ज्यान दिने शहीद परिवार, कोरोना महामारीमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान तथा फुटबल तथा ब्याटमिन्टन खेलमा पहिलो, दोस्रो हुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त समारोहमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रचलित देउडा खेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका कलाकारले नृत्य तथा मार्सल आर्ट्सका खेलाडीले आफ्नो खेल प्रदर्शन गरेका थिए । रासस
क्यानडा पठाइदिने भन्दै ९० लाख ठगी गर्ने पवर्तका एक युवक पक्राउ
कास्की । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् । पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा ९० लाख ७१ हजार ५०० ठगी गरेको अभियोगमा गत माघ १३ गते पोखरा–१० रामबजारबाट विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । अभियुक्त विकले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिकालगायतका देशमा धेरै मानिस रोजगारको लागि पठाइसकेको भनेर विश्वास दिलाइ कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायतका जिल्लाका युवालाई ठगी गरेको पीडितले दिएको निवेदनबाट पुष्टि भएको प्रहरीले जनाएको छ । पीडितहरुलाई विश्वासमा पार्नका लागि आरोपित विकले विभिन्न सहकारी संस्था र विकास बैंकको चेकसमेत दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रनाउ हमालले जानकारी दिए । पक्राउ परेका विकलाई जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइन्छ । रासस
महिलालाई लोकसेवा पढाउँदै कास्कीकाे माछापुच्छ्रे गाउँपालिका
कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रमअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब्सुबा) र राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) वा सो सरहको परीक्षाका लागि ३० युवती तथा महिलालाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिने गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताइन् । छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा आफ्नो गाउँपालिकाबाट न्यून उपस्थिति रहेकाले समेत पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष दवाडीले तयारी कक्षामा सहभागिताका लागि माघ १४ गतेसम्म खुला आवेदन आह्वान गरिसकिएको र माग सङ्ख्याभन्दा बढी आवेदन आएमा सहभागी छनोट सामान्य ज्ञान तथा बौद्धिक परीक्षणमार्फत गरिने बताइन् । उनले भनिन्, “कतिपय महिलाको चाहना हुँदा पनि बजारसम्म पुगेर तयारी कक्षा लिनसक्ने अवस्था नरहेकाले उनीहरूलाई लक्ष्य गरी गाउँमै कक्षा सञ्चालन गर्न लागेका छौँ । राष्ट्रसवेक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास छ ।” रासस