विदेशबाट नेपाली कामदारको माग धमाधम आउन थाल्यो, एक महिनामै ४० हजारले छोडे देश
काठमाडौं । नेपालको वैदेशिक रोजगारी कोभिड–१९ अघिको अवस्थामा फर्किएको छ । पछिल्लो समय कोरोना संक्रमणदर ओरालो लागेसँगै वैदेशिक रोजगारी फेरि पुरानै अवस्थामा फर्किएको म्यानपावर व्यवसायीहरु बताउँछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठका अनुसार वैदेशिक रोजगारी कोभिड अघिको अवस्थामा फर्किएको छ । ‘कोरोना कालमा वैदेशिक रोजगारी संकटमा नै परेको थियो, पछिल्लो समय रोजगारीको मागसँगै विदेशिनेको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ’, उनले भने, ‘हाल दैनिक रुपमा १२ सयभन्दा बढी नेपालीहरु बैदेशिक रोजगारीका लागि विदेशीने गरेका छन् ।’ कोभिड–१९ सुरु हुनुभन्दा अगाडि मासिक ४० हजारभन्दा बढी नेपाली श्रमिक रोजगारीका लागि बाहिरिने गरेका थिए । उनका अनुसार कोभिडपछि मलेसिया बाहेक अन्य सबै खाडी देशबाट राम्रो माग आएको छ । हाल साउदी, कतार, दुबै लगायतका देशको रोजगारीका लागि नेपाली श्रमिकहरु बाहिरिएका छन् । असोजमा ४० हजार विदेशीए कोभिड संक्रमणको संख्यामा कमि भएपछि वैदेशिक रोजगारीका लागि नेपाल छोड्नेको संख्यामा वृद्धि भएको छ । असोज महिनामा मात्र रोजगारीका लागि ४० हजार श्रमिकले श्रम अनुमति लिएको बैदेशिक रोजगार विभागले जनाएको छ । गत वर्षको असोजमा ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका थिए । विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउन र भदौमा ४१ हजार ८२८ जनाले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेको संख्या बढ्न थालेसँगै वैदेशिक रोजगारी क्षेत्र पुरानै लयमा फर्किएको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले बताउँछन् । उनका अनुसार कोरोना संक्रमण अघिको सामान्य अवस्थामा मासिक रुपमा ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए । खोपको समस्या रोजगारदाता देशले तोकेको कोरोना विरुद्धको खोप नेपालमा उपलब्ध नहुँदा रोजगारीमा जाने यात्रु समस्यामा पर्ने गरेको म्यानपावर व्यवसायी रोहन गुरुङ बताउँछन् । ‘हाम्रो देशमा प्रयोग भएको खोप खाडीका देशमा प्रयोगमा छैनन् । तोकिएको खोप नहुँदा विदेशीने श्रमिक समस्यामा परेका छन्, नेपालमा रोजगारीको सम्भावना छैन, बाध्यताले विदेशिन्छु भन्ने श्रमिक पनि सरकारको वेवास्ताका कारण समस्यामा पर्ने गरेका छन्’, उनले भने, ‘अधिकांश देशले जोनसन एण्ड जोन्सन खोपलाई मान्यता दिएको छ, तर सो खोप नेपालमा उपलब्ध नहुँदा धेरै समस्या हुने गरेकोे छ ।’ उनका अनुसार कुवेत सरकारले जोनसन एण्ड जोनसन खोपलाई मात्र मान्यता दिएको छ । तर नेपालमा सो खोप उपलब्ध नहुँदा धेरै श्रमिक रोकिएका छन् । ‘तोकिएकोे खोप लगाउन नपाउँदा कुवेत सरकारले अन्य देशका नागरिकलाई क्यारेन्टाइन हटाएपछि नेपालीलाई १० दिन क्यारेन्टाइनको व्यवस्था कायम नै राखेको छ’, उनले भने, ‘भारत, पाकिस्तान लगायतका देशले पत्र पठाएर क्यारेन्टाइन अवधि हटाएको हो । तर नेपाल सरकार र सम्बन्धीत देशको दुतावासको वेवास्ताका कारण नेपालीलाई क्यारेन्टाइनले गर्दा आर्थिक भार थपिएको छ ।’ उनका अनुसार सरकार, दुतावास र सम्बन्धित निकायको वेवास्ताका कारण १० दिन क्यारेन्टाइन बस्दा ५० हजारबढी आर्थिक भार थपिएको छ । व्यवसायीका अनुसार रोजगारदाता देशले तोकेको खोप नेपालमा उपलब्ध नहुँदा एउटा खोप लगाएर अर्काे खोप लगाएको प्रमाणीकरण गर्दै नेपालीहरु रोजगारीका लागि विदेशीने गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकमा ८३६ जनालाई रोजगारीको अवसर
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आईतबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा देशभरका कार्यालयका लागि ८ सय ३६ जना कर्मचारीको माग गरेको हो । बैंकको सूचना अनुसार केन्द्रिय कार्यालयमा ९ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १४ जना उपप्रबन्धक (लेखा) गरी २१ जना कर्मचारी माग गरेको छ । कर्मचारी छनोट प्रक्रियामा भाग लिनका लागि कात्तिक १५ गतेदेखि मंसिर ५ गतेभित्र आवेदन दिनु पर्नेछ । यस्तै दोब्बर दस्तुर तिर्नेगरी मंसिर १२ गतेसम्म आवेदन प्रक्रियामा सहभागी हुन सकिने छ । आवेदनमा भाग लिनका लागि लोक सेवा आयोगले तोकेको योग्यता पुरा भएको हुनुपर्नेछ। सबै पदमा आयोगले परीक्षा सञ्चालन गर्नेछ । वाणिज्य बैंकमा जागिर खानको लागि आवेदन भने वाणिज्य बैंकको वेवसाइटमा गएर अनलाइन मार्फत फर्म भनुपर्छ ।
कोरोनाले रोकेको दक्षिण कोरिया रोजगारीः पहिलो चरणमा ४८ कामदार आज जाँदै
काठमाडौं । करिब बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ जना प्रतिवद्ध श्रमिक कोरिया जान लागेका हुन् । वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरियामा ४ वर्ष काम गरेर नेपाल फर्किएका ४८ जना प्रतिबद्ध कामदार कोरिया जाने भएका छन् । पहिलो चरणमा ५० जना कामदारलाँई पठाउने तयारी भएकोमा २ जनाको भिसा प्रोसेसमा ढिलाइ भएपछि ४८ जनालाई कोरिया पठाउन लागिएको विभागका महानिर्देशक दिपक काफ्लेले जानकारी दिए । कोरियाले सन् २०१९ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा कोरियाबाट फर्केका ११९ जना नेपाली प्रतिबद्ध कामदारको नामसमेत पठाइसकेको छ । सोही अनुसार पहिलो चरणमा ४८ जना कोरिया जान लागेका हुन । कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ । दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ । नियमित भाषा परीक्षा पास गरेर ‘लेबर कन्ट्रयाक्ट’ आइसकेका करिब ५ हजार र कोरियाबाट प्रतिबद्ध कामदारका रूपमा फर्किएका ३ हजार श्रमिक प्रक्रिया पुगे पनि रोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियाले ट्रान्जिट उडानबाट नभइ सिधा उडानबाट श्रमिक लैजाने व्यवस्था गरेसँगै नेपाली श्रमिकलाई थप आर्थिक भार पर्नेभएको छ । यसअघि नेपाली कामदार हङकङ, थाइल्यान्ड, दुबईलगायतका मुलुकलाई ट्रान्जिट बनाएर कोरिया जाने गरेका थिए । यसअघि इपीएस शाखाले दक्षिण कोरियामा सिधा हवाई उडानका लागि टिकटको मूल्य तय गर्न विभागले टेन्डरसमेत आह्वान गरेको थियो । टेन्डरमा कोरियन एयरलाइन्सको मात्रै आवेदन परेपछि विभागले सार्वजनिक खरिद ऐनअनुसार नभएको भन्दै रद्द गरेको छ । निर्देशिका संशोधनपछि प्रतिबद्ध कामदार जाने बाटो खुला भए पनि भाषा परीक्षा दिएर बसेका हजारौं नेपालीको कोरिया यात्रा अझै अनिश्चित छ । कोरियाली सरकारको सर्तअनुसार कोरिया जाने कामदारले अनिवार्य रूपमा बिमा गनुपर्नेछ । कोरिया पुगेपछि १४ दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यस्तै, ४८ घन्टाको पिसिआरसमेत गर्नुपर्नेछ ।