मन्त्रिपरिषद् बैठक जारी, निर्णय सार्वजनिक गर्ने जिम्मा सामान्य प्रशासन मन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । उक्त बैठकका निर्णयहरू सार्वजनिक गर्ने जिम्मेवारी भने आजका लागि सरकारका नियमित प्रवक्ताभन्दा फरक मन्त्रीलाई दिइएको छ । सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मीत पोखरेल व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ । 

गगनसँग ३ अर्ब छ भनेका कान्छारामसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर तामाङ (कान्छाराम)सँग स्पष्टीकरण सोधेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले उनलाई स्पष्टीकरण सोधेको हो ।  रामेछापका जिल्ला सभापति र पूर्व ऊर्जा राज्यमन्त्री समेत रहेका तामाङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे ।  ‘जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वकाविरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टीकरण पेश गर्न निर्देशन गर्दछ,’ सोधिएको स्पष्टीकरणमा भनिएको छ ।  तामाङले सभापति गगन कुमार थापासँग ३ अर्ब रूपैयाँ रहेको बताएका थिए । ‘शेरबहादुरले जित्यो भने गगनले पार्टी फुटाउँछ, फुट्नुभन्दा उसैले (गगन)जितोस् न । उसँग टन्नै पैसा छ । एक अरब अस्ती (चुनावमा) खर्च ग¥यो, २ अरब अझै छ,’ उनले भनेका थिए ।  उनको सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । 

गृहमन्त्रीबारे हर्कराज राईको प्रतिक्रिया : मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन् । विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मंगलबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पदबाट राजीनामा दिँदा उपयुक्त हुने प्रतिक्रिया दिएका हुन् ।  गृहमन्त्रीबारे नयाँ नयाँ लफडाका कुराहरू सुनिने गरेकाले उनले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने आफ्नो सुझाव रहेको अध्यक्ष राईको भनाई थियो । उनले गृहमन्त्री गुरुङबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको पनि पटकपटक बताए ।  अध्यक्ष राईले भने,‘त्यो विषय बस्तु त होइन । तर प्रश्न आइहाल्यो । प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने आउला । उहाँले जहिले जहिले पनि नयाँ नयाँ सुनिराखिन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । अव हप्तामा दुई तिन चोटि सुनिन्छ घरी के घरी के ? उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’  अध्यक्ष राईले सुशासन कायम गर्नेतर्फ केन्द्रित हुन सरकारलाई सचेत पनि गराए ।