राज्य आतंकको ‘पर्याय’ बन्नु हुँदैनः भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मच्चाइरहेको आरोप लगाएका छन् ।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको ‘डोजर आतंक’का कारण मानिसको ज्यान समेत गएको बताएका छन् ।  उनले राज्य आतंकको पर्याय बन्न नहुनेमा जोड दिँदै अभिभावक जस्तो हुनुपर्ने बताए ।  उनले विद्यालयमा डोजर लगाउँदा त्यहाँ अध्ययनरत सयौं विद्यार्थी भविष्यबिहीन अवस्थामा पुगेको उल्लेख गरे । सरकारलाई मानवीय संवेदनशीलता अपनाउन उनले आग्रह समेत गरे । उनले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट नीति, प्रक्रिया र सहकार्य आवश्यक रहेको बताए  ।

राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ आज (शनिबार) जारी गरेका हुन् ।  यसैगरी,  राष्ट्रपति कार्यालयबाट १७ वैशाख (बिहीबार) सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको थियो । त्यस्तै, १८ वैशाख (शुक्रबार) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको थियो । यो सँगै राष्ट्रपति कार्यालयबाट पछिल्ला तीन दिनमा ६ वटा अध्यादेश जारी भएका छन् । यस्तो छ विज्ञप्ति :

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवशेन गर्ने निर्णय गरेको हो ।  आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, भदौ १५ गतेसम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।      आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मका सङ्गठनात्मक र पार्टी तथा जनवर्गीय/मोर्चा सङ्गठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने प्रवक्ता ज्वालाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।          पार्टीको वडादेखि केन्द्रसम्मका सबै कमिटी समानुपातिक र समावेशी मान्यताअनुसार निर्वाचित हुने र निर्वाचित कमिटीमा अनुभवी, प्रौढ र युवा तथा नवयुवाको समावेशीता रहने छ । युवा र नवयुवाको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याइने पार्टीले जनाएको छ ।      नेकपाले नेताहरू देवप्रसाद गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ताद्वय डा मुक्तिनारायण प्रधान र डा. खिमलाल देवकोटा, अधिवक्ता जगदेव चौधरी, डम्बर बिक्रम कार्की र डा. रामबहादुर चौधरी रहेको संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।       पार्टी एकीकरणपश्चात गठन भएको कार्यसंयोजन समितिको गत चैत १९ देखि यही वैशाख १४ सम्म चलेको बैठकले पार्टीको अन्तरिम विधान–२०८२ अनुसार पार्टीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता ज्वालाले जानकारी दिए ।